+
+

मेरो योजना र जनमत प्रष्ट छ : उपेन्द्र खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते ९:३७

२६ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरको टिकटका लागि नेपाली कांग्रेसबाट ९ जना नेताहरु आकांक्षी थिए । अन्तत कांग्रेस नगर सभापति उपेन्द्र खड्काले टिकट पाए । कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको विश्वासपात्र भएकै कारण उपेन्द्रले टिकट पाएको धेरैको दाबी छ । तर पार्टी र समाजमा गरेको योगदानका आधारमा आफूले टिकट पाएको उनी बताउँछन् ।

स्थानीय तह निर्वाचनमा शुरुमा एक्लै उम्मेदवारी दिएको कांग्रेसले पार्टीभित्रै अन्तरघात हुने भएकाले अन्तिम समयमा माओवादी केन्द्रसँग गठबन्धन गर्‍यो । घरदैलो अभियानमा जुटेका खड्का कांग्रेसले आफ्नो पकट क्षेत्र दाबी गर्दै आएको वीरेन्द्रनगरमा जित्ने दाबी गर्छन् ।

प्रस्तुत छ, मेयरका उम्मेदवार खड्कासँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानी :

मेयरको टिकटका लागि तपाईं भन्दा सिनियर नेताहरु नै आकांक्षी थिए । उपसभापति पूर्णबहादुर खड्का निकट भएकै कारण तपाईंले टिकट पाउनुभयो भनिन्छ, नि हो ?

मैले सक्रियताका साथ पार्टीमा काम गरेको २३ वर्षभन्दा बढी भयो । विद्यार्थी जीवनबाट राजनीति शुरु गरेको हुँ । त्रिचन्द्र कलेजमा गगन थापा, किशोर सिंह राठौर लगाएतका नेताहरु त्यहाँ स्ववियु सभापति, सचिव हुँदा म सदस्य थिएँ । वीएसी इन्भारोमेन्ट साइन्स र आरडीमा एमए गरेको छु । मेरा साथीहरु विदेश गए । म सुर्खेत फर्केर व्यवसायसँगै राजनीति सुरु गरें ।

यसअघि नेपाली कांग्रेस वीरेन्द्रनगर कमिटीको सचिव भएर पनि काम गरेको छु । १४ औं महाधिवेशनबाट कार्यकर्ताले मलाई नगर सभापति बनाएर काम गर्न पठाए । विभिन्न सामाजिक अभियानहरु थालेको छु । पार्टी र समाजमा गरेको योगदानका आधारमा पार्टीले मलाई टिकट दिएको हो । लामो संघर्ष पछि टिकट पाएको हुँ । सम्बन्धका आधारमा होइन ।

अहिले पनि संस्थापन इतर समूह अर्थात टिकट नपाएको पक्ष असन्तुष्ट छ । असन्तुष्ट पक्षलाई विश्वासमा लिनुपर्ने चुनौती तपाईंमा छ । त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

बाहिर हल्ला फिजाएको जस्तो असन्तुष्टि पार्टीमा छैन । केही कुरा भने सत्य हो । शुरुमा एउटा पक्ष अलिकति असन्तुष्ट नै थियो । तर अहिले त्यो समस्या समाधान भइसकेको छ । यो इतर र संस्थापन पक्ष भन्ने कुरा हामीले मेटाइसकेका छौं ।

आदरणीय नेता हृदयराम थानीलाई भेटेरै मैले आर्शिवाद लिएको छु । उहाँले बाहिरी हल्लाको पक्षी नलागी काम गर्न निर्देशन दिनुभएको छ । आफ्नो दरिलो साथ रहेको बाचा दिलाउनु भएको छ । उहाँले सबैलाई समेट्नुभएको छ । बजारी हल्लाको पछाडि नलागौं ।

एमालेसँग हार्ने भएकाले अन्तिम समयमा गठबन्धन गर्नुभयो । नेतृत्वको मन मिलेपनि कार्यकर्ताको मन अझै मिलेको छैन भनिन्छ । गठबन्धनको सार्थकता कस्तो देख्नु हुन्छ ?

म विधि, विद्यान र संस्थागत निर्णय अनुसार चल्ने नगर सभापति हुँ । केन्द्रको निर्देशन अनुसार गठबन्धन गरिएको छ । सोही अनुसार नै हामीले उम्मेदवारी दिएका छौं । त्यसले पक्कै पनि सार्थकता पाउनेछ । सबैको मन मिलेर नै अगाडि बढिरहेका छौं ।

योजना बनाएरै घरदैलो अभियान गरिरहेका छौं । उपमेयरको उम्मेदवार शान्ति ढकाल र म मिलेर प्रत्येक टोलटोलमा संयुक्त घरदैलोमा हिँडिरहेका छौं । हामी पार्टीका सच्चा कार्यकर्ता हौं । सच्चा कार्यकर्ताहरु पार्टी र नेतृत्वको निर्देशनप्रति प्रतिवद्ध हुनुहुन्छ । गठबन्धन केन्द्रको निर्देशन र अहिलेको आवश्यकता ठानेर अघि बढिरहेका छौं ।

यदि तपाईं मेयर हुनु भयो भने ५ वर्षमा वीरेन्द्रनगर नगरवासीले के-के परिवर्तन पाउँछन् ?

प्रदेश राजधानी वीरेन्द्रनगरलाई ‘सबल स्थानीय सरकार, सम्पन्न वीरेन्द्रनगर’ भन्ने मूल नारा सहित १६ वटा संकल्प सहितको बाचा ल्याएका छौं । मेरो मुख्य प्राथमिकता फोहोरमैला व्यवस्थापन र सरसफाई हो । वीरेन्द्रनगरमा दैनिक २० टन फोहोर उत्पादन हुन्छ । जसमध्य ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने फोहोर छ । यसलाई रिसाइकल गरेर फोहोरलाई मोहोरमा बदल्ने योजना बनाएका छौं । अहिलेसम्म फोहोर उठाए बाफत नगरवासीले पैसा तिर्दै आएका छन् । अब हामीले फोहोर दिए बाफत पैसा दिन्छौं । त्यसका लागि ‘फोहोर ल्याऊ, मोहोर लेऊ’ नामको योजना ल्याएका छौं ।

युवा लक्षित मेयर उद्यमशिलता कार्यक्रम ल्याएका छौं । जसअन्तर्गत बेरोजगारी र दुर्व्यसनीमा फसेका युवाहरुलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिन्छौं । जेष्ठ नागरिकका लागि प्रत्येक वडामा ‘जेष्ठ नागरिक मिलन केन्द्र’ स्थापना गर्छौं ।

अर्काे प्राथमिकता स्वास्थ्य, शिक्षा र खानेपानी हो । वीरेन्द्रनगरमा खानेपानीको ठूलो समस्या छ, त्यो अन्त्य गर्छाैं । स्वास्थ्य क्षेत्रलाई सुधार गर्छाैं । गर्भवती महिलाहरुलाई घरमै गएर सेवा दिन्छौं । टेलिमेडिसिन सेवा सञ्चालन गर्छौं । सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्छाैं ।

सुकुमबासी समस्या सामाधानका लागि योजनावद्ध रुपमा काम गर्नेछौं । ६ महिना भित्र सुकुमवासीलाई लालपुर्जा दिन्छौं । पर्यटन पूर्वाधार निर्माण गर्छौं । बुलबुलेबाट काँक्रेबिहारसम्म बोटिङ गरेर जाने व्यवस्था मिलाउँछौं । काँक्रेबिहारमा ‘स्माल जु’ निर्माण गर्छौं ।

सत्ता गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले त भोट हाल्लान्, अरुले चाहिं तपाईंलाई भोट किन दिने ?

हामीले १६ वटा संकल्प ल्याएका छौं । यसमा वीरेन्द्रनगर विकासको प्रष्ट खाका छ । म बोली बचनमा प्रष्ट मान्छे हुँ । भाषण होइन रासन दिनुपर्छ, गफ होइन काम गर्नुपर्छ भन्ने मान्यता राख्छु । म राजनीतिलाई कमाइ खाने भाँडो बनाउन आएको हैन । व्यवसायीक मान्छे हुँ, पैसाको अभाव छैन । परिणाममुखी काम गर्ने हुटहुटी छ । म भ्रष्टाचार गर्दिनँ, अरुलाई गर्न पनि दिन्नँ । मैले गरेको कामको मूल्यांकन गरेर वीरेन्द्रनगरको समग्र विकासका लागि मलाई आम मतदाताले भोट हाल्नु हुन्छ भन्ने विश्वास छ ।

नगरको अन्तरिक आय अहिले पनि निकै न्यून छ, यसलाई वृद्धि गर्ने योजना के छ ?

अहिलेसम्म जति नीति तथा कार्यक्रम र बजेट बनेको छ यी सबै कपी-पेष्ट मात्रै बन्ने गरेका छन् । म यसअघि लेखा समितिको सदस्य पनि थिएँ । मलाई यसका सम्पूर्ण लुपहोलहरु थाहा छ ।

सुधारिएको कर प्रणाली लागु गर्छौं । करको दर घटाउँछौं । दायरालाई बढाउँछौं । करको दायरा बढाउँदा नगरको आम्दानी बढ्छ । अहिलेसम्म नगरले घरबहाल कर उठाउन सकेको छैन । व्यवसायीलाई आवश्यक सुविधा दिन्छौं र कर पनि पठाउँछौं । वाषिर्क रुपमा अहिलेको भन्दा झण्डै दुई गुणा राजश्व वृद्धि गर्न सकिने योजना हामीसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?