+
+

जुम्लामा निर्वाचन सुरक्षाका लागि १७२१ जना सुरक्षाकर्मी परिचालन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १०:१७
जिल्ला प्रहरी कार्यालय जुम्लाले बयोजना गरेको निर्वाचन सुरक्षा अनुशिक्षण तालिममा सहभागी ।

२६ वैशाख, जुम्ला । जुम्लामा निर्वाचन सुरक्षाका लागि १७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको हो ।

निर्वाचन सुरक्षाका लागि ४३२ जना नेपाल प्रहरी, ३५० जना नेपाली सेना, २७० जना सशस्त्र प्रहरी र ६६९ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्ऽको सूचना सङ्कलन तथा स्थलगत निरीक्षणको काम गरिरहेको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइसकिएको छ ।’

यस्तो हुनेछ सुरक्षाको तीन घेरा

‘निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ-आफ्नो तयारी तीव्र पारेका छन् ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ ।

केही सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन, ‘मर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।’

नेपाली सेनाको नन्दबक्स गणका गणपति रबिन थापाले जुम्लाका आठवटै स्थानीयतहमा नेपाली सेना परिचालन भएको बताए । उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले सेनाले सुक्षाको लागि कुनै पनि कसर बाँकी नराखी कार्य गर्ने बताए । निर्वाचन सुरक्षाका लािग तीनवटा कम्पनी नै परिचालन गरिएको र अनुगमनसमेत भएको उनले बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर ३३ गण जुम्लाका एसपी चित्रङ्गत दाहालले निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा जिल्लास्थित सबै सुरक्षा निकाय योजनाबद्ध तरिकाले लागेको बताए । उनले भने, ‘मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी सुरक्षा रणनीति बनाइएको छ ।’

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले समेत काम गर्ने बताइएको छ । तर, जुम्लामा केही भौगोलिक हिसावले बिकट स्थानमा रहेका मतदान स्थललाई लक्षित गरी चुनावमा हुन सक्ने राजनीति दलको प्रतिष्पर्धा र झडपलगायत चुनौती हुनसक्ने, आकलन गरेर जुम्लाको सुरक्षा संयन्त्रलेे योजना बनायर अगाडी बढेको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले माताहतका सवे कर्मचारी र म्यादी प्रहरीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिएर पठाएको छ । प्रहरी नायव उपरीक्षक चन्दका अनुसार निर्वाचन स्वच्छ, शान्तिपूर्ण गर्न प्रहरीलाई शिक्षित बनाएर खटाइएको बताए ।

यसैगरी, निर्वाचनमा २०४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ४९६ जना कर्मचारीसमेत मुख्य निर्वाचन कार्यालयमा खटाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?