+
+

फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर, चुनावसम्म सडकमै थुप्रिने

महानगरका सबै मेसिन बिग्रिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते २०:२५

२६ वैशाख, काठमाडौं । फेरि काठमाडौंमा उपत्यकाको फोहोर उठ्न छाडेको छ । १४ दिनपछि गत शनिबारबाट फोहोर उठ्न थालेको थियो । शहरका सडक र गल्लीहरुमा थुप्रिएको फोहोर उठाउन नपाउँदै फेरि फोहोर उठ्न छाडेको हो ।

यसले चुनावअघि सडकको फोहोर उठाइसक्ने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाभित्रका अन्य नगरपालिकाको योजनामा धक्का लागेको छ । तर, फोहोर उठाउन तीव्रता दिएलगत्तै अब ३० वैशाखको चुनावसम्म फोहोर उठाउन नसक्ने अवस्था देखिएको हो ।

पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा शनिबारदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको थियो ।

तर, सिसडोलस्थित ल्यान्डफिल साइटमा महानगरपालिकाले चलाइरहेका मेसिनहरु बिग्रिएपछि सोमबारबाट फोहोर विसर्जन अवरुद्ध भएको छ । आइतबार पनि फोहोर राम्रोसँग नपुरिएको र जथाभावी फालिएको भन्दै स्थानीयबासीले ल्यान्डफिल साइटमा केही घण्टा अवरोध गरेका थिए ।

तर, ल्यान्डफिल साइटमा फोहोर पुर्ने, माटो सम्याउने लगायतका काम गरिरहेका एक्स्काभेटर र डोजरहरु बिग्रिएपछि फोहोर विसर्जन पनि रोकिएको हो ।

‘ल्यान्डफिल साइटका कुनै पनि मेसिन काम लाग्ने छैनन्, सडक विभागबाट ल्याएर चलाएको मेसिन पनि बिग्रियो भनिएको छ,’ महानगरपालिकाका प्रशासन विभागका एक अधिकारीले भने,’फोहोर व्यवस्थापन गर्न मेसिन नै नभएपछि फोहोर आउने कुरै भएन ।’

महानगरपालिकाका ३ वटा मेसिन यसअघि नै बिग्रिएर बसेका थिए । महानगरको यन्त्र उपकरण हेर्ने शाखाले यसको ममर्तसम्भार बेलैमा गर्न चासो नदिएको फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीहरू बताउँछन् ।

फोहोर बिसर्जनमै संकट परेपछि सडक विभागबाट महानगरपालिकाले एउटा मेसिन मगाएको थियो । तर, उक्त मेसिन पनि बिग्रिएको भन्दै सडक विभागले पनि साइट छाड्यो ।

महानगरपालिकाले भाडामा ल्याएर चलाइरहेको मेसिन पनि बिग्रिएपछि सोमबारबाट फोहोर उठ्न छाडेको हो ।

यसअघि ११ वैशाखदेखि २३ वैशाखसम्म काठमाडौंको फोहोर उठेको थिएन । पासाङ ल्हामु राजमार्ग निर्माणको ढिलाइ भएको भन्दै स्थानीय पटक-पटक फोहोरको गाडी रोक्दै आएका छन् । तर, पछिल्लोपटक चुनावसम्म यस्तो अवरोध नगर्ने सहमति भएपछि फोहोरको विसर्जन सुरु भएको थियो ।

त्यसअघि १८ चैतदेखि २९ चैतसम्म फोहोर उठेको थिएन । फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठाउने काम रोकिएको थियो । यसअनुसार फागुनयता मात्रै ४५ दिन फोहोर उठ्न नसकेको देखिन्छ ।

फेरि फोहोर विर्सजन अवरुद्ध भएकाले यो कहिलेसम्म हुन्छ भन्ने यकिन छैन ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।

तर, अब सडक अवरुद्ध भएर फोहोर उठाउने काम पटक-पटक बन्द हुँदा काठमाडौंमा प्रदूषण फैलिएको छ ।

नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहोर निस्कने हुँदा फोहोर व्यवस्थापनका हिसाबले थप चुनौतीपूर्ण बनेको छ । हाल उपत्यकाभर १५ देखि २० हजार टन फोहोर थुप्रिएको अनुमान छ । तर, दैनिक करिब १ हजार टन मात्रै फोहोर ल्यान्डफिल साइट जानसक्छ ।

तर, फोहोर नै उठ्न छाडेकाले अब कहिलेसम्म फोहोरको विसर्जन नियमित हुन्छ भन्ने निश्चित छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?