+
+

किशोर, कुशल र दीपेन्द्र चम्किँदा जिम्बावे ‘ए’विरुद्ध नेपाललाई शृंखला (फोटोफिचर)

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ वैशाख २६ गते २०:४१

२६ बैशाख, काठमाडौं । आइतबार राती भएको वर्षाका कारण सोमबार कीर्तिपुरस्थित टीयू मैदानको आउटपिल्डमा पानी जमेको थियो । नेपाल र जिम्बावे ‘ए’ बीच भइरहेको तीन खेलको एकदिवसीय श्रृखंलाको अन्तिम खेल सोमबारै तय थियो । तर बिहान साढे ९ बजे खेल सुरु हुने तालिका रहेपनि मैदानमा पानी जमेपछि निर्धारित समयमा टस नै हुन सकेन ।

अम्पायरहरुले बारम्बार आउटफिल्ड निरीक्षण गरेपछि मात्र खेल साढे १२ बजे सुरु हुने पक्का भयो । ३३ ओभरमा छोट्याइएकाे खेलकाे १२ बजे टस भयो ।

नेपलका कप्तान सन्दीप लामिछानेले टस जितेर भ्रमणकारी टोली जिम्बावे ‘ए’लाई ब्याटिङको निम्तो दिए ।

३३ ओभरमा घटाइएको खेलमा ४ सयभन्दा बढी रन बन्यो । तीव्र गतिका बलर किशो महतोको ५ विकेट अनि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा नेपालले जिम्बावेले दिएको २१४ रनको लक्ष्य ३०.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायाे

धेरै कोणबाट आजको जित नेपालको लागि विशेष बन्यो । नेपालले पहिलो पटक टेष्ट राष्ट्र अर्थात आईसीसीको पूर्ण सदस्य जिम्बावेको ‘ए’ टिमविरुद्ध खेलेको एकदिवसीय श्रृंखला २-१ ले जित्यो ।

यसअघि पहिलो खेलमा नेपालको ब्याटिङ नचल्दा घरेलु टोली ३ विकेटले पराजित भएको थियो । दाेस्रो खेलमा नेपालले टस जित्दै फिल्डिङ रोज्यो र जिम्बावे ‘ए’लाई ८७ रनमा अलआउट गर्दै ९ विकेटको शानदार जित हात पार्‍यो ।

तेस्रो तथा निर्णायक खेलमा पनि नेपालले टस जित्दै खेल पनि शानदार तरिकाले जित्यो ।

किशोरको ५ विकेट

नेपालले टस जितेपछि ब्याटिङमा आएको जिम्बावेले आक्रमक सुरुवात गरेको थियो । नियमित अन्तरालमा विकेट गुमाएपनि जिम्बावे ‘ए’ले रन गतिलाई कायम राख्दै दुई सय माथिको स्कोर बनायो ।

पहिलो पटक नेपालको सिनियर टोलीबाट खेलेका तीव्र गतिका बलर किशोर महतोले ५ विकेट लिए । जिम्बावेको आक्रमक सुरुवातलाई उनै किशोरले ब्रेक गरेका थिए । उनले पाँचौ ओभरमा इन्नोसेन्ट केइयालाई आसिफ शेखबाट क्याचआउट गराउँदै साझेदारी तोडे ।

त्यसपछि किशोरले लगातार विकेट लिइरहे । उनले ७ ओभरमा १ मेडन राख्दै ४६ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

जिम्बावे ‘ए’का लागि टाडिवानासे मारुमानी ३१ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । कुडजाई माउन्जेले ३९, रोए कियाले ३६, कप्तान टोनी मुन्योङ्गाले २४, लुक जोङ्ग्वेले १९ र सेफास जुवायोले १६ रन जोडे ।

बलिङमा सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिएका थिए ।

कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

पहिलो एकदिवसीय खेलमा नेपालको ब्याटिङ फिटिक्कै चलेन । सोमपाल कामीले ३० र करण केसीले २५ रन बनाएपछि नेपाल एक सय रनकाे याेगफल पार गरेकाे थियाे ।  दोस्रो खेलमा लक्ष्य कम हुँदा नेपाली ब्याटरको राम्ररी परीक्षण हुन पाएन । ८८ रनको लक्ष्य पछ्याउँदा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाएका थिए भने आसिफ शेखले अविजित ३४ रन योगदान गरेका थिए ।

आजको खेलको अवस्था फरक थियो । पहिलो मैदानको अवस्थाका कारण खेल घटाइएको थियो । त्यसपछि नेपालले टस जिते पनि जिम्बावेले राम्रो ब्याटिङ गर्द दुई सय भन्दा माथिको स्कोर बनायो । यसअघि ५० ओभरमै खेल्दा पनि नेपालको ब्याटिङले संघर्ष गरेको थियो । त्यसैले आज ३३ ओभरमा २१४ रन बनाउनु पर्ने भएपछि नेपालको ब्याटिङ कस्तो होला भन्ने चासो सबैतिर थियो ।

त्यो चासो हुनु स्वभाविक थियो । नेपालका ओपनर ब्याटर कुशल भुर्तेल अनि मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले शानदार ब्याटिङ गर्दै नेपालले ३०.१ ओभरमै जित दिलाए र नेपाली समथर्कलाई खुशी दिलाए । नेपालले २१४ रन बनाउन ४ विकेट मात्र गुमायो । कुशलले सर्वाधिक ८४ रन बनाउँदा दीपेन्द्रले अविजित ६० रन जोडे ।

कुशल भुर्तेल र आसिफ शेखले ब्याटिङमा उत्कृष्ट सुरुवात दिलाउँदै पहिलो विकेटका लागि १२.१ ओभरमका ७३ रन जोडे । आसिफले ३७ बल खेल्दा २९ रन बनाए । जसमा २ चौका र १ छक्का सामेल थियो ।

तेस्रो नम्बरमा बएका सुनील धमला ६ रन मात्र बनाएर आउट भए । त्यसपछि कुशलले दीपेन्द्र सिंह ऐरीसँग इनिङ्स अघि बढाए । तर कुशल २१औं ओभरमा ८४ रन बनाएर बउट भए । ६१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे ।

लगत्तै अर्को बलमा रोहित कुमार पौडेल खाता नखोली आउट हुँदा नेपालले २०.४ ओभरमा चौथो विकेट गुमायो । जतिबेला नेपाललाई जितका लागि ७४ बलमा ८४ रन आवश्यक थियो ।

त्यसपछि दीपेन्द्र र विनोद भण्डारीले पाँचौ विकेटका लागि ५७ बलमै अविजित ८४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले ४३ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा अविजित ६० रन बनाए । विनोदले २६ बल खेल्दै ३ चौका मद्दतमा अविजित २८ रन जोडे । जिम्बावे ए का ब्राण्डन माभुताले ३ विकेट लिए ।

लिग टू को तयारी

नेपाल ठीक एक महिनापछि अमेरिकामा आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने तय छ । त्यसैको तयारी स्वरुप नेपालले जिम्बावे ‘ए’सँग एकदिवसीय श्रृखंला खेलेको हो । त्यसअघि तीन खेलकै टी२० श्रृखंला भने १-१ को बराबरीमा सकिएको थियो ।

जिम्बावे ‘ए’विरुद्ध श्रृखंला जितेर नेपालले लिग टू का लागि राम्रो तयारी गरेको छ । अब त्यसलाई कायम राख्दै नेपालले बन्द प्रशिक्षण राखेर थप तयारी गर्नुपर्नेछ ।

तीन वटा एकदिवसीय खेल खेल्दा नेपालले कूल १५ खेलाडीलाई मैदान उतार्‍यो । प्रशिक्षक पुबुदु दासानायके अझ पनि टिममा परिक्षण गर्दै युवा खेलाडीहरुलाई अवसर दिइरहेका छन् । अमेरिकामा हुने लिग टू श्रृखंलामा उत्कृष्ट टिम छनोट गर्नका लागि यो श्रृंखलाले सहयोग पुग्ने विश्वास छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?