+
+

‘पल्पसा क्याफे’ नाटकले कमायो १० लाख, निर्देशक सुवेदी ‘साविती’को तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते ११:२६

काठमाडौं । मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ले कोरोना महामारीयताकै उच्च कमाइ गरेको छ । सोमबार १८ औं दिनमा नाटकको मञ्चन सकिएको छ ।

दर्शकको घुइँचो बढेपछि पछिल्ला दिनमा नाटकलाई दैनिक दुई शो मञ्चन गरिएको थियो । मण्डला नाटकघरमा नयाँ नाटक र कार्यक्रमको अग्रिम बुकिङ भएकाले १८ दिनसम्म मात्र सञ्चालन गर्न सकिएको निर्देशक विमल सुवेदीले जनाए ।

नाटकले १० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जनाइएको छ । यो कमाइ पछिल्लो समय हलमा रिलिज भएका कतिपय फिल्मको कुल कमाइभन्दा पनि उच्च हो । रिलिज भएका केही फिल्मले १० लाख पनि कमाउन सकेका छैनन् ।

सृष्टि श्रेष्ठ र विमल सुवेदीको मुख्य भूमिका रहेको नाटक ‘पल्पसा क्याफे’ नारायण वाग्लेद्वारा लिखित उपन्यासमा आधारित छ । सशस्त्र द्वन्द्वको उत्कर्षमा जीवन बाँचिरहेका पात्रहरुको मनोदशामा आधारित नाटक हेर्न उपन्यासकार वाग्ले पनि मण्डला थिएटर पुगेका थिए ।

चर्चित उपन्यास, नाम चलेका कलाकार र कोरोना महामारीपछि नाटक हेर्न अधैर्य दर्शकको कारण ‘पल्पसा क्याफे’ हिट भएको निर्देशक सुवेदीको भनाइ छ ।

निर्देशक सुवेदी थिएटर भिलेजले मञ्चन गर्न लागेको नयाँ नाटकको तयारीमा जुटेका छन् । जगदीश घिमिरेद्वारा लिखित छोटो कथा ‘साविती’को रिहर्सल स्थानीय चुनावपछि सुरु हुने र डेढ महिनापछि मञ्चन गर्ने उनको तयारी छ ।

साविती कथामार्फत लेखक घिमिरेले समाजलाई कमेन्ट गरेका मात्र छैनन्, उक्त कथा उनको जीवनको कन्फेसन पनि ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?