+
+
विचार :

हाम्रो एक भोटले समाज बदल्न सक्दछ

डा. रामचन्द्र लामिछाने डा. रामचन्द्र लामिछाने
२०७९ वैशाख २७ गते १५:०४

निर्वाचन भनेको राजनीतिक व्यक्तिलाई जनताद्वारा मतदानको प्रक्रियाले छनोट गरी शासन गर्न वैधानिकता प्रदान गर्ने प्रक्रिया हो । यस प्रक्रियामा नागरिकहरूले आफूमा अन्तरनिहित सार्वभौमिकतालाई मतदानमार्फत निश्चित समयावधिको लागि जनप्रतिनिधिहरूलाई हस्तान्तरण गर्दछन् । यो समयावधि देशको कानुन अनुसार फरक–फरक हुन्छ ।

नेपालमा यो अवधि पाँच वर्षको तोकिएको छ । एक पटक मतदान गरेपछि पाँच वर्षसम्म हामीले मतदान गरेको व्यक्तिले जे जसरी शासन गरे पनि हामीले त्यसलाई भोग्नुपर्दछ । राम्रोसँग शासन गरेमा हाम्रो जीवन सहज हुन्छ तर नराम्रो गरेमा आगामी पाँच वर्ष निकै कष्टकर हुन्छन् । जुन उम्मेदवारलाई सबैभन्दा बढी नागरिकहरूले मतदान गरी आफ्नो सार्वभौमिकता हस्तान्तरण गर्दछन् तिनै व्यक्तिहरूले आगामी पाँच वर्षमा हाम्रा प्रतिनिधिहरूको रूपमा हामीमाथि शासन गर्दछन् ।

हाम्रो संविधानले हामीलाई सार्वभौम नागरिक भने पनि मतदानपछि त्यो सार्वभौमिकता जनप्रतिनिधिहरूमा सर्दछ र जनप्रतिनिधिहरूले बनाउने नियम कानुन, नीति तथा नियम, विकासका गतिविधि मान्नु र उनीहरूले मार्गनिर्देश गरे अनुसार चल्नु नै हाम्रो कर्तव्य र बाध्यता दुवै हुन्छ त्यसकारण एक मत हामीले कस्ता व्यक्तिलाई दान गर्दछौं भन्ने कुराले नै हाम्रो भाग्य र भविष्यलाई निर्धारण गर्दछ ।

हामी अहिले बहुदलीय प्रणालीमा छौं र यो व्यवस्था ल्याउन हाम्रा अग्रज र हामीले निकै ठूलो संघर्ष, बलिदान, त्याग र मिहिनेत गरेको कुरा हामी सबैलाई थाहा छ । बहुलता हाम्रो रोजाइ हो भने यो समाजको विशेषता पनि हो त्यसकारण हामी सबै एउटै राजनीतिक पार्टीमा हुन सक्दैनौं । हामीले राजनीतिक विविधतालाई सम्मानपूर्वक स्वीकारेको विषय हो ।

फरक फरक पार्टीका फरक विचार, दर्शन, सिद्धान्त र नीतिहरू हुनु स्वाभाविक हो र त्यसो भएमा मात्रै हाम्रो बहुदलीय व्यवस्था सबल र लोकतन्त्र सुदृढ हुन्छ । आवधिक निर्वाचन नै हाम्रो एक मात्रै नेतृत्व छनोट गर्ने आधार हो त्यसकारण यो निर्वाचनको महत्व निकै छ ।

राजनीतिक पार्टीहरू भनेका नागरिकका सुरक्षा कवच हुन् । सामाजिक थिचोमिचो, अन्याय, अत्याचार, कुशासन तथा भ्रष्टाचारका विरुद्ध लड्ने हतियार हुन् भने शोषित, पीडितहरूका सहारा अनि विकास तथा प्रगतिशील समाज निर्माणका सारथि हुन् ।

आफ्ना सिद्धान्त तथा नीतिहरूलाई सरकारका नीति तथा कार्यक्रम मार्फत व्यवहारमा लागु गरेर नागरिकहरूलाई परिवर्तनको अनुभूति गराएर नागरिकको मन जित्ने र आफ्नो पार्टीप्रति नागरिक आकर्षित गर्ने काम राजनीतिक पार्टीहरूको हो त्यसकारण राजनीतिक पार्टीहरूका सिद्धान्त नीति भन्दा पनि काम र व्यवहारलाई नागरिकहरूले मसिनोसँग नियालेर मूल्यांकन गर्नुपर्दछ ।

आफ्ना नीति तथा कार्यक्रमहरूलाई व्यवहारमा लागु गर्न सबै राजनीतिक पार्टीहरू र स्वतन्त्र उम्मेदवारहरूले घोषणापत्र सार्वजनिक गरेका छन् । सबैका घोषणापत्रहरू हेर्ने हो भने पालिकाहरूको काम, कर्तव्य र अधिकार क्षेत्र भन्दा निकै बाहिर गएर सस्तो लोकप्रियताका लागि प्रतिबद्धता व्यक्त गरको देखिन्छ भने प्रायः सबै पार्टीहरूले अनुत्पादक क्षेत्रलाई नागरिक आकर्षणको केन्द्र बनाएको देखिन्छ ।

टोल–टोलमा फ्रि वाईफाई, सीसीक्यामरा जडान, अध्ययन भ्रमण, विभिन्न प्रकारका भत्ता जस्ता सस्ता कुराहरूमा प्रतिस्पर्धा देखिन्छ । कसरी पालिकाको उत्पादन बढाउने, पालिकालाई कसरी आत्मनिर्भर बनाउने, हर नागरिकलाई उत्पादनसँग जोडेर आय आर्जन बढाउने र सबै नागरिकको सम्मानित जीवन कसरी बनाउने, एशियामा नै तेस्रो स्थानमा रहेको बालविवाह कसरी निर्मूल गर्ने, जातीय तथा लैंगिक विभेद कसरी अन्त्य गर्ने, नागरिकहरूलाई कसरी करमुक्त बनाउने, ज्ञानमा आधारित अर्थतन्त्रका आधारहरू निर्माण गरी अर्थतन्त्रलाई कसरी सबल र सक्षम बनाउने भन्ने कुरामा सबै पार्टीका घोषणापत्रहरू मौन देखिन्छन् ।

मतदान भनेको जुवा खेले जस्तो होइन पहिलो हात दाउ लागेन अर्को हातमा दाउ लागिहाल्छ कि भन्ने न त यो सेयर मार्केट जस्तो दैनिक घटबढ भइरहने चिज हो । यो एक पटक दान गरेपछि पाँच वर्षसम्म चुपचाप सहनु मात्रै होइन दुष्ट नेतृत्वले गरेका कुकर्म र सामाजिक अपराधको मूल्य सदियौंसम्म चुकाउनुपर्दछ ।

यदि काठमाडौंवासीले सुरुदेखि सही नेतृत्व चयन गर्न सकेको भए आज वागमती र विष्णुमतीको त्यो हालत हुने थिएन । पोखरावासीहरूले समयमा नै सही नेतृत्व छान्न सकेको भए न फेवातालको सिमाना घट्दथ्यो न त फेवातालमा ढल नै मिसिन्थ्यो ।

नेपाल जस्तो बहुदलीय व्यवस्था भएको देशमा हर नागरिकहरू राजनीतिक पार्टीमा आवद्ध भएका पनि हुन सक्दछन् । यदि राजनीतिक पार्टीहरूले सही व्यक्तिलाई उम्मेदवारको रूपमा अगाडि सार्न सकेनन् भने नेपालका तीनै तहका सरकारहरूका लागि सही नेतृत्व छान्न निकै मुश्किल पर्दछ ।

तपाईं हाम्रो एक भोट उठेका उम्मेदवारमध्ये सबैभन्दा सक्षम उम्मेदवारलाई दिएर जिताउन सक्यौं भने हाम्रो प्रगति सुनिश्चित छ । त्यसकारण समुन्नत र प्रगतिशील भविष्य रोज्ने कि यथास्थिति वा पश्चगमनमा रमाउने रोजाइ हाम्रै हो ।

नेपाली समाज बारम्बार सक्षम नेतृत्व छनोट गर्न चुकिरहनुका पछाडि केही अनावश्यक कारणहरूले हामीलाई बन्दी बनाइरहेका छन् । निर्वाचनका दिन हामी विना विश्लेषण भोट हाल्छौं र बाँकी दिन त्यही राजनीतिक नेतृत्वलाई सरापेर विताउँदछौं । वास्तवमा अयोग्य नेतृत्व छनोट गर्ने हामी नै गलत होइनौं ? एक पटक सोच्ने कि ?

जतिसुकै अक्षम, अपराधी र अयोग्य भए पनि हामीलाई आफ्नै नाता गोताको, छरछिमेकको, आफू आवद्ध राजनीतिक पार्टीका उम्मेदवारलाई नै भोट हाल्ने आदत परेको छ । बारम्बार सही नेतृत्व छनोट गर्न नसक्दा आज देशमा कृषि उपज लगायत वस्तुहरूको कहालीलाग्दो आयात बढेको छ, युवाहरू विदेश पलायन हुनुपरेको छ, हीरामोती भन्दा किमती अन्न उब्जने जमिन बाँझै छन्, दलालीकरण चरम छ, सामाजिक मूल्य मान्यताहरू तहसनहस भएका छन्, राजनीतिक नेताहरू नै अपराधीका संरक्षण बनेर कानुनको खिल्ली उडाइरहेका छन्, सार्वजनिक संस्थानहरू तहसनहस भएका छन्, निजी क्षेत्र गैरजिम्मेवार बनेका छन्, नागरिकहरूको सरकारप्रतिको विश्वास दिन प्रतिदिन घट्दो छ, कुनै क्षेत्रको सेवा विश्वसनीय छैन, देशमा एक प्रकारको अराजकता र लुट नै मच्चिरहेको छ, वातावरण विनाश भैरहेको छ । के यी सबै समस्याको समाधान नभई देश प्रगतिको मार्गमा अगाडि बढ्न सक्दछ ? यी समस्या समाधान गर्न हाम्रो भूमिका छैन ?

हाम्रो सहभागिता विना यी समस्या समाधान हुन सक्दछन् ? यसको सोझो उत्तर हो जबसम्म हामी सचेत भएर यी समस्या समाधान गर्न सहभागी हुँदैनौं तबसम्म यी समस्याको समाधान गर्न कहींबाट कोही आउनेवाला छैन र हाम्रो जीवन, गाउँठाउँ, समाज र देशमा केही परिवर्तन हुनेवाला छैन । त्यसकारण पाँच वर्षमा एक पटक आउने निर्वाचनमा हामीले सुझबुझपूर्ण गर्ने मतदान नै यो देश विकासको लागि सबैभन्दा ठूलो योगदान हो ।

यो व्यवस्थामा हामी कुनै न कुनै राजनीतिक पार्टीमा हुनु स्वाभाविक हो तर हामी कुनै पार्टीमा छौं भन्दैमा यदि त्यो पार्टीले यस पटकको निर्वाचनमा योग्य व्यक्तिलाई उम्मेदवार बनाएको छैन भन्ने जान्दाजान्दै राम्रो व्यक्तिलाई भोट नहालेर पार्टीको समर्थक वा कार्यकर्ता हुँ भन्ने नाममा पालिकालाई राम्रोसँग हाँक्न सक्ने व्यक्तिलाई मतदान नगरी अक्षम भए पनि आफ्नै पार्टीका उम्मेदवारलाई भोट हाल्नु भनेको अपराध होइन ?

एक त सक्षम व्यक्तिहरूलाई उम्मेदवारको टिकट नदिएर पार्टीहरूले एक प्रकारको अपराधको जग खनिसकेका छन् त्यसमाथि त्यस्ता अक्षम र अयोग्य व्यक्तिलाई जिताएर पार्टीका कार्यकर्ताहरूले पार्टीका अपराधलाई अनुमोदन गर्दा त्यो अपराधको भागीदार हामी हुन्छौं कि हुँदैनौं ? चुनाव जित्नेलाई त आनन्द नै आउला तर पाँच वर्षसम्म कुशासनको भार आफैंले सहनुपर्दछ कि पर्दैन ? स्मरणरहोस् कुशासनको मूल्य आगामी पुस्ता र हाम्रो राष्ट्रिय स्वाभिमानसँग जोडिएको हुन्छ ।

देशमा अथाह स्रोत र साधन तथा परिश्रमी जनशक्तिका बावजुद अक्षम, लोभीपापी, छद्मभेषी नेतृत्वको कारण हामीले दुःख पाइरहेका छौं । तपाईं हाम्रो एक भोट उठेका उम्मेदवारमध्ये सबैभन्दा सक्षम उम्मेदवारलाई दिएर जिताउन सक्यौं भने हाम्रो प्रगति सुनिश्चित छ ।

त्यसकारण समुन्नत र प्रगतिशील भविष्य रोज्ने कि यथास्थिति वा पश्चगमनमा रमाउने रोजाइ हाम्रै हो । विगत पाँच वर्षको अनुभवले पनि के प्रमाणित गरेको छ भने पार्टीहरूले घोषणापत्रमा जे–जस्ता कुराहरू लेखेको भए पनि स्थानीय तहको नेतृत्वको क्षमता, योग्यता, विज्ञताका आधारमा नै स्थानीय सरकार सञ्चालन गरेको देखियो ।

जुन पालिकाका जनप्रतिनिधिहरू शिक्षित, समाजप्रति जिम्मेवार, काम र कर्तव्यप्रति जवाफदेही थिए ती पालिकाहरू नै तुलनात्मक रूपमा विकसित भएका छन् । त्यसकारण योग्य र सक्षम उम्मेदवारलाई विना पूर्वाग्रह मतदान गरौं र सकारात्मक भविष्य निर्माण गर्ने अभियानमा सहभागी बनौं।

(डा. लामिछाने इस्टर्न रिसर्च इन्ष्टिच्युट अफ पोजिटिभ साइन्स (इरिप्स) का प्रमुख कार्यकारी अधिकृत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?