
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नेतृत्व चयनमा युवा सचेत हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले युवालाई अहिलेको राजनीति चित्त नबुझेको र यसलाई बदल्ने चाहना रहेको भन्दै तर मत हाल्दा विचार नगरे गलत व्यक्ति निर्वाचित हुन सक्ने बताए ।
‘युवाहरु रिसाउनुभएको छ । उहाँहरुमा आक्रोश छ, उहाँहरुलाई हाम्रो राजनीतिप्रति चित्त बुझिरहेको छेन, हाम्रो कुरा मन परिरहेको छैन, म बुझ्दछु, यसका जायज कारण पनि छन्, हामीले आफूलाई बदल्नुपर्नेछ । युवासँग संगत बढाउनुपर्नेछ’ थापाले भने ।
०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीकी उम्मेदवार रञ्जु दर्शनाप्रति लक्षित गर्दै थापाले युवा उम्मेदवारले २३ हजार मत पाउँदा काठमाडौंले नखोजेको व्यक्ति निर्वाचित हुन पुगेको जिकिर गरे ।
काठमाडौंले रत्नपार्कको चटकेजस्तो एकै पटकमा सबै समस्या समाधान गर्ने मेयर नभई सबैको कुरा सुनेर काम गर्ने मेयर खोजेको उनको भनाइ छ । महिला मेयर निर्वाचित गरेमा भविष्यमा महिला मुख्यमन्त्री र महिला प्रधानमन्त्री हुने बाटो खुल्ने थापाले बताए ।
प्रतिक्रिया 4