+
+

एन्फा चुनावको मुखमा कर्मामाथि खनिए गणेश थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १७:५२

२८ वैशाख, काठमाडौं । अनियमित तवरबाट व्यक्तिगत लाभ लिएको पुष्टि भएपछि सन् २०१५ को नोभेम्बरदेखि गणेश थापा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को १० वर्षे प्रतिवन्धमा छन् ।

फिफा र एएफसीले कारबाही गर्नुअघि नै अखिल नेपाल फुटबल संघ एन्फाको तत्कालीन असन्तुष्ट पक्षबाट पनि उनलाई भ्रष्टाचार र अनियमितताको आरोप लागेको थियो । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि ५८ करोड भ्रष्चाटार प्रकरणको छानविन गरेको थियो । अख्तियारले पर्याप्त आधार नभएको भन्दै सो मुद्दा तामेलीमा राखेको छ ।

एन्फाको नेतृत्वको थापाको पतन भएसँगै चेन्ज एन्फाको नारा लिएर अगाडि बढेको कर्माछिरिङ शेर्पा नेतृत्वको समूह नेतृत्वमा आयो । त्यस कार्यसमितिको कार्यकाल अर्को महिना सकिँदैछ । बुधबार थापाले सात वर्षअघि आफू पदच्यूत हुने समयमा लगाइएका आरोप प्रमाणित गर्न शेर्पालाई चुनौति दिएका छन् ।

एन्फा कार्यसमिति निर्वाचन नजिकिँदै जाँदा अहिलेको असन्तुष्ट पक्षलाई सजिलो हुने गरी फिफा र एएफबीबाट प्रतिबन्धित गणेश थापाले पत्रकार सम्मेलन गर्दै देशभित्र आफूमाथि कर्मा छिरिङ शेर्पाले लगाएको आरोप पुष्टि गर्न चुनौति दिएका हुन् ।

आगामी असार ६ गते एन्फा कार्यसमिति निर्वाचन हुँदैछ । थापाले आफ्नो सार्वजनिक कार्यक्रम एन्फाको चुनाव प्रभावित पार्ने रणनीतिको हिस्सा नभएको दावी गरे पनि पत्रकार सम्मेलनमा उनले एन्फा निर्वाचनमा पुनः अध्यक्ष पदको उम्मेदवारी दिने तयारी गरेका शेर्पामाथि प्रहार गरिरहे ।

थापाले बुधबारको पत्रकार सम्मेलनमा आफूलाई अपदस्थ गर्न शेर्पा नेतृत्वको समूहले लगाएको १४ आरोपको पुष्ट्याईं माग गरेका छन् । जहाँ उनी एन्फा अध्यक्ष हुदाँदेखिको आर्थिक अपचलन, भ्रष्टाचार र अवैध सम्पत्ति आर्जनसम्मको आरोप छ ।

पत्रकार सम्मेलनमा शेर्पाले तत्कालीन समयमा बोलेका भिडियो क्लिप र अडियो रेकर्ड सुनाउँदै थापाले भने, ‘सात वर्षदेखि म र मेरो परिवारले व्यहोरेको मानसिक पीडा यहाँ बयान गर्न सकिँदैन । भविष्यमा सन्तत्तिहरुमाथि मेरो कारणले दाग नलागोस भनेर आरोपको छिनोफानो होस भन्ने चाहन्छु,’ थापाले पत्रकार सम्मेलनमा भने ।

उनले १४मध्ये एउटामात्र आरोप प्रमाणित भए आफू फुटबलबाट सदाका लागि टाढा रहने दावी गरे ।

‘ममाथि आरोप लागेको धेरै समय भयो । यसबीचमा म आफैं पनि गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिएँ । फिफा र एएफसीबाट पनि प्ररिवन्धमा परेर प्रतिबन्ध लागेको अवस्था थियो । तर, अब चाहीँ नबोली नहुने स्थिति भयो,’ थापाले प्रश्न गरे, ‘निराधार आरोप कहिलेसम्म चुपचाप सहिरहने ?’

शेर्पा नेतृत्वको समूहले थापाविरुद्ध व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा ५८ करोड भ्रष्टाचारको रिट दायर गरेका थिए । लेखाले यसलाई छानविनको विषय बनाउनुपर्ने निर्णय गरेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको थियो । केहि समयपछि प्रमाण नपुगेको भन्दै उनीविरुद्दको मुद्दा तामेलीमा राख्ने निर्णय भएको थियो । अख्तियारले यो निर्णय गर्दा उनी राप्रपाबाट संविधानसभा सदस्य भइसकेका थिए ।

थापाले आफूमाथि निराधार आरोप लगाउने एन्फा अध्यक्षविरुद्ध कानूनी लडाईंमा जाने उद्घोष गरेका छन् । फिफा र एन्फाको नियम स्मरण गराउँदै उनले भने, ‘कसैलाई पनि विना प्रमाण आरोप लगाउन पाइँदैन । आरोप लगाएपछि यति लामो समयसम्म प्रमाणित गरिसक्नुपर्ने थियो । अब म चुप लाग्दिन । अदालतदेखि फिफासम्म अपील गर्नेछु ।’

फिफा र एएफसीकै प्रतिवन्ध लागेका उनले फिफामै कसरी अपील गर्न पाउलान् भनेर चाहीँ केहि बताएनन् । एसियाली फुटबल महासंघ (एएफसी)का तत्कालीन अध्यक्ष मोहम्मद विन हमामले एएफसी निर्वाचनमा मत खरिद गर्न थापालाई व्यक्तिगत खातामा १ लाख अमेरिकी डलर पठाएको आरोप लागेपछि १० वर्षको प्रतिबन्ध लागेको थियो । उनले त्यतिबेला हमामसँग व्यक्तिगत सम्बन्धका आधारमा सापटीबापत रकम लिएको र पछि फिर्ता गरेको स्वीकारेका थिए ।

बुधबार उनैले जारी गरेको बक्तव्यमा भने हमामबाट आएको रकम आत्मसन्तुष्टिका लागि सामाजिक काममा खर्च गरेको उल्लेख छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?