+
+

मौन अवधिमा भोट माग्न हिंडेको भन्दै माओवादी र जसपाका उम्मेदवारलाई कांग्रेस कार्यकर्ताले रोके

बिकास मरहट्टा बिकास मरहट्टा
२०७९ वैशाख २९ गते ७:०२

२९ वैशाख, गोरखा । मौन अवधिमा गाडी चढेर चुनाव प्रचारमा हिंडेको भन्दै माओवादी केन्द्र गोरखाका कृष्ण राना र जनता समाजवादी पार्टी (जसपा)का नारायण खत्रीलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले रोकेका छन् ।

माओवादी केन्द्रको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका राना र जसपाबाट उपमेयरमा उम्मेदवारी दिएका खत्री बुधबार साँझ ग३च १८६४ नम्बरको स्कारपिओ गाडीमा गोरखा नगरपालिका-१० स्थित बिरेन्चोकमा फेला परेका थिए ।

संयुक्त रुपमा चुनावी प्रचारप्रसार गर्दै हिंडेका उनीहरूलाई तीनघरेमा कार्यक्रम गरेर कालीमाटीको अर्काे कार्यक्रममा जाँदै गर्दा आफूहरूले रोकेको स्थानीय विनोद थापाले बताए । ‘गाडी रोक्दारोक्दै राना भागे’ उनले भने, ‘खत्रीचाहिं अलि अगाडि नै गाडीबाट ओर्लिसकेका रहेछन् ।’

गाडी रोकेर प्रहरीलाई खबर गरिएको उनले बताए । गाडीमा चुनाव प्रचार प्रसारका लागि प्रयोग भएको पर्चा, पम्प्लेट, पार्टीको झण्डा र स्पिकर पनि भेटिएको उनले जानकारी दिए ।

प्रहरीले भने गाडीलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको बताएको छ । ‘हामी पुग्दा गाडीभित्र चालकबाहेक कोही थिएन,’ डिएसपी लिलाराज लामिछानेले भने, ‘कोही नभएपछि सम्झाइ बुझाइ गरेर गाडीलाई छाडिदियौं ।’ राना र खत्रीसँग भने फोन सम्पर्क हुन सकेन ।

स्थानीय तह निर्वाचनका लागि गोरखा नगरपालिकामा माओवादी केन्द्र र जसपाबीच चुनावी तालमेल भएको छ । मेयरमा माओवादीलाई र उपमेयरमा जसपालाई सहयोग गर्ने लिखित सहमति समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?