+
+
नयाँ जनप्रतिनिधिसँग दक्षिण ललितपुरको अपेक्षा  :

‘नागरिकता र लालपुर्जाका लागि पाटन जानु नपरोस्’  

कृष्ण ज्ञवाली अच्युत पुरी कृष्ण ज्ञवाली, अच्युत पुरी
२०७९ वैशाख ३० गते २०:३८
ललितपुरको टिकाभैरवदेखि हेटौडा जोड्ने कान्ति लोकपथको भट्टेडाँडाखण्ड । अप्ठेरो ठाँउमा कालोपत्र हुन बाकी यो सडकले ललितपुरका दुर्गम गाउँहरु भट्टेडाडा, प्यूटार, आश्राङ, गिम्दी लगायतलाई राजधानीसँग जोड्छ ।

३० वैशाख, भट्टेडाँडा (ललितपुर) । वर्षा लागेपछि प्रायः पहिरो गएर बन्द हुने कान्ति राजपथको अधिकांश भाग कालोपत्रे भएपछि ललितपुर भट्टेडाँडाका टेकरनाथ तिमिल्सिना (६४) दंग छन् । दक्षिण ललितपुरको दुर्गम मानिने तीनपाने भञ्ज्याङदेखि छपेलीसम्म अहिले वर्षायाममा पनि बाटो अवरुद्ध हुँदैन । त्यसले उनलाई फुरुङ्ग बनाएको छ ।

‘अहिले जनप्रतिनिधि आएपछि यहाँका मानिसहरुलाई काम गर्न सहज छ । गाँउबस्तीमा बाटो पुगेको छ,’ भट्टेडाँडा आधारभूत विद्यालयमा मतदान सुरु हुनुभन्दा अघि रमिता हेर्न आएका उनी भन्छन्, ‘उल्कै विकास निर्माण भएन होला । गाँउ पहिलेभन्दा फेरिएको छ । मान्छेले सेवा सुविधा लिन पाएका छन् ।’

२०७४ सालको स्थानीय निर्वाचनमा गाँउगाँउमा सिंहदरबारको अधिकार आयो भन्दै उम्मेदवारहरुले मत मागेका थिए । शिक्षा, स्वास्थ्य लगायतका अधिकार गाँउगाउँमा पुगेको पनि छ । तर भट्टेडाँडावासी यतिमा सन्तुष्ट छैनन् ।

‘यहाँबाट जग्गापास हुँदैन, नागरिकता बन्दैन,’ उनी भन्छन्, ‘वडाध्यक्षले सिफारिस गरेपछि नागरिकता बनाउन पाटन जानुपर्छ । जग्गापास गर्न पाटन जानुपर्छ । भट्टेडाँडाले त्यो अधिकार कहिले प्रयोग गर्न पाउने हो ?’

****

स्थानीय तह निर्वाचनको रौनक हेर्न हामी शुक्रबार बिहानै दक्षिण ललितपुरको दुर्गममध्येको भट्टेडाँडा पुग्ने योजना बनायौं । चक्रपथको ललितपुर चापागाँउ दोबाटोसम्म ठिकठिकै रहेको बाटो ठेंचो, सुनाकोठी, चापागाँउसम्म खाल्डैखाल्डो थियो । चापागाँउदेखि टिकाभैरवसम्म फराकिलो र हेर्दै लोभलाग्ने चिल्लो सडक छ । कान्ति राजपथ सुरु हुने टिकाभैरवमा भने लेले र नल्लुको ढुंगाखानी र क्रसरका कारण बाटो नराम्ररी बिग्रेको थियो ।

टिकाभैरवदेखि माथि लागेपछि सवारीसाधन लिएर हिंड्दा पास चाहिंदैनथ्यो । किनभने बाटोभर कतै पनि सुरक्षाकर्मीको उपस्थिति थिएन । तीनपाने भञ्ज्याङमा चिया खाजाको पसल चलाउने इन्द्रबहादुर मोक्तान मतदानका लागि जानुअघि पसलको काम सकाउँदै थिए । ‘म हिंडेर जाने हो भने त एक घण्टा लाग्छ,’ उनले भने, ‘बाइकमा जान दियो भने १५ मिनेटमा पुग्छु । यहाँ पसलको काम सकेर मात्रै जाने हो ।’

इन्द्रबहादुरको पसलमा बसेर चिया खाइरहेका थिए प्रेमबहादुर न्यासुर र सानु घिमिरे न्यासुर । उनीहरु श्रीमान श्रीमती हुन् । मतदान गर्न चापागाँउबाट गाँउ जान लागेका उनीहरुलाई अर्को सास्ती थपिएको थियो, मतदान केन्द्र अलग-अलग थियो । प्रेमबहादुरले आफ्नो मतदान केन्द्रमा मत हालेर पत्नीलाई अर्को मतदान केन्द्रमा पुर्‍याउने तयारी थिए । गाँउमा प्रहरीले मोटरसाइकल र गाडी चल्न रोकतोक नलगाएकाले उनलाई राहत भएको थियो, नत्र करिब आधा घण्टाको बाटो थप हिंड्नुपर्थ्यो ।

ललितपुरको तीनपाने भञ्ज्याङमा पसल गर्ने इन्द्रबहादुर मोक्तान, उनी मतदान गर्न एक घण्टा हिंडेर भट्टेडाँडा पुगे ।

काठमाडौं उपत्यकाको चारमध्येको एक तीनपाने भञ्ज्याङदेखि ओरालो लागेपछि अप्ठ्यारो बाटो सुरु हुन्छ । पञ्चायतकाल सुरु नहुँदै २०१६ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेको कान्ति राजपथ २-३ वर्षअघि मात्रै कालोपत्रे भएको हो ।

तर ठाँउ-ठाँउमा पहिलो र लेदो गेग्र्यान बगेर सडक अवरुद्ध छ । केही तल कार्किबास भन्ने ठाँउमा पुग्दा साँघुरो र उकालोमा बस निस्कन नसकेर बीचमा अड्किएको थियो । गाउँबाट दूध बोक्ने ट्यांकरले डोरी लगाएर बस तान्यो र बाटो खुल्यो ।

मतदान गर्न हिंडेका प्रेमबहादुर सानु । पतिपत्नीको नाम फरक मतदान केन्द्रमा हुँदा उनीहरुले झण्झट व्यहोर्नुपर्‍यो ।

९३ वर्षीय बाबु भवानी शंकर तिमिल्सिनालाई गाडीमा हालेर मतदान गर्न हिंडेका नारायणप्रसाद तिमिल्सिना अचेल गाउँको दुःख घटेको सम्झन्छन् । गाँउमा रहँदा अनेक सास्ती र कष्ट बेहोरेका उनी भूकम्पपछि चापागाँउमा नै बस्छन् ।

‘घरबारी र सम्पत्ति भट्टेडाँडामा छ, हामी चापागाँउमा बस्छौं,’ उनी भन्छन्, ‘मतदाता नामावली यतै भएकाले हामी भोट हाल्न हिंडेका हौं ।’ २०५२ सालसम्म दूधको क्यान (भाँडा) बोकेर टिकाभैरवसम्म पुग्ने उनी अहिले गाँउको दुःखलाई केहीझैं मान्दैनन् ।

पञ्चायतकालदेखि गणतन्त्रसम्म विभिन्न उतारचढावका साथ राजनीतिक परिवर्तन भयो । ढिलोचाँडो त्यसको प्रभाव समाजसम्म आइपुग्यो । उनी २०५२ सालमा दूधको क्यान बोकेर टिकाभैरवसम्म पुग्थे । अहिले बाटो पुगेको छ । गाँउमा स्वास्थ्य केन्द्र थपिएको छ । उनी भन्छन्, ‘सबैभन्दा सुविधा भनेको बाटो, बत्ती र पानी रहेछ । त्यत्तिका लागि भए पनि पाँच वर्षको एउटा चाडमा भोट त दिनैपर्‍यो ।’

उनीहरुको गाडीलाई बाटोमै छाडेर हामी अगाडि लाग्यौं । भट्टेडाँडा झर्ने बाटो छुट्टिने छपेली बजार नपुग्दै नेपाली सेनाको टोली हतियारसहित गस्तीमा निस्केको रहेछ । हामीले मोटरसाइकलबाट फोटो खिच्दा उनीहरुको टोली टक्क अडिए अनि ‘अनुमति छैन’ भन्दै हात ठड्याए । अनि बाटोमाथि लागे ।

मतदानकेन्द्र वरपर सैनिक टोलीको गल्ती ।

****

हामी बिहान साढे ६ बजे भट्टेडाँडाको आधारभूत मतदान केन्द्रमा पुग्दा म्यादी प्रहरीले मतदानस्थल पुग्ने गेट घेराबन्दी गरेर उभिएका थिए । दुई फरक घरका कोठाहरु व्यवस्थापन गरेर सञ्चालन भइरहेको बागमती गाँउपालिकाको नयाँ भवन बनिसकेको छ भने पुराना जनप्रतिनिधि त्यो भवनमा सरेर बिदा हुन पाएनन् । भट्टेडाँडाका गंगाबहादुर थापा (७३) अब आउने जनप्रतिनिधिलाई भाग्यमानी ठान्छन्, ‘अब त पालिकाको भवन बनेको छ, रंगरोगन गर्न बाँकी हो । अब आउने ट्वाक्क बस्न पाउँछन् ।’

भट्टेडाँडामा पसल गरेर बस्ने गंगाबहादुरको गफले हामीलाई थप केहीबेर अल्मल्यायो । भुइँचालोले उनलाई पछार्‍यो । पसल थियो, लड्यो, फेरि त्यसलाई उठाए । अब त सकिन्न कि भन्ने भएकोमा गाँउको रौनक फेरियो । ‘भुइँचालोअघि गाडी चल्दैनथे । अहिले सुविधा बढ्यो । बर्खामा बिग्रेपनि बाटो सुध्रेको छ,’ उनी भन्छन्, ‘अहिले केही न केही भएको छ । गाँउस्तरमा पानी, पाइपको समस्या भएन । समस्या भए तत्काल फेर्नसक्ने भए । घरैपिच्छे धारा भए ।’

उनीसँगै रहेका ७७ वर्षीय हरिबहादुर सिंजाली मगर अहिले गाँउमा विकास देखिन थालेको बताउँछन् । गंगाबहादुरको गफमा सहमति जनाउँदै उनले भने, ‘अब भट्टेडाँडालाई दुर्गम भन्नु पर्दैन । यहाँभन्दा २-३ घण्टा टाढाका अरु दुर्गम गाँउ छन् ।’

भट्टेडाँडाका हरिबहादुर र गंगाबहादुर ।

****

पहिलेको गाविस अधिकारसम्पन्न भएर गाँउपालिका भइसक्दा पनि नागरिकता र लालपुर्जा बनाउन पाटन धाउनुपर्ने परिपाटी टेकरनाथ तिमिल्सिनालाई पटक्कै चित्त बुझेको रहेनछ । जिल्ला प्रशासन, मालपोत कार्यालय लगायतका अड्डाहरु मानभवन, लगनखेल लगायतका ठाँउमा रहे पनि दक्षिण ललितपुरवासीका नजरमा त्यो ‘पाटन’ हो ।

उनीहरु ललितपुरको सरकारी अड्डा रहेका सबै ठाँउलाई पाटन भन्छन् । र, अहिलेसम्म नागरिकता र लालपूर्जाको अधिकार पाटनले नै च्यापेर राखेकोमा असन्तुष्टि जनाउँछन् । ‘वडाध्यक्षको सिफारिस चाहिने भएपछि भट्टेडाँडाबाटै नागरिकता र लालपुर्जा दिए केही फरक पर्दैन,’ टेकरनाथको विचारमा, ‘गाँउगाँउमा सिंहदरबार आयो भन्नेले त्यति अधिकार दिनुपर्छ ।’

टेकरनाथको अर्को परिचय समेत छ । उनी ललितपुरको झाक्रीडाँडादेखि भट्टेडाँडा र त्यहाँबाट अर्को गाँउमा पुग्ने रोपवे उपभोक्ता समितिका अध्यक्ष समेत थिए । अहिले रोपवेका नाममा तार र निलो टहरोबाहेक नामनिशान छैन । ‘बाटो आए पनि रोपवे महंगो भयो,’ उनी भन्छन्, ‘यसका सामान पनि पाइएन, हामीले चलाउन सकेनौं ।’ अहिले गाँउगाँउमा बाटो पुगेकाले रोपवेको आवश्यकता पनि भएन । दूधदेखि तरकारी र अरु खाद्यान्न बोकेर सहर पुर्‍यायाउने चर्चित रोपवे उहिलेको कथा भएको छ ।

टेकरनाथ तिमिल्सिना, ललितपुरको चर्चित रोपवेको उपभोक्ता समितिका अध्यक्ष रहेका उनी बाटोका कारण अहिले त्यो बन्द भएको बताउँछन् ।

छेवैको स्कुलमा मतदान सुरु भइसकेको थियो । मतदान गरेर निस्केकी सुन्तली खड्का अघिल्लो दिन नै चापागाँउबाट भट्टेडाँडा आएर बसेकी थिइनँ । अब आउने जनप्रतिनिधिसँग उनको सीधासीधा चारवटा अपेक्षा छ । ‘आफ्नो ठाँउको विकास होस्, आफ्नो ठाँउका मान्छेले दुःख नपाउन् । रोजगारी पाइयोस् । कोही विदेश जान नपरोस् । छोराछोरी विदेश गएकाले बुढाबुढीहरु एक्लै बस्न नपरोस्,’ उनी भन्छिन् ।

****

टाटामोबाइल, कार, गाडी र अनि मोटरसाइकलमा मतदान गर्न हिंडेका मतदाताहरु लाइनमा थिए । भट्टेडाँडामा धमाधम मतदान चल्दै गर्दा हामी काठमाडौं फर्किन उकालो चढ्न थाल्यौं । तीनपाने भञ्ज्याङबाट काठमाडौं उपत्यका भित्रिंदासम्म सडक सुनसान थियो ।

गोदावरी नगरपालिका-६ मा पर्ने सामुदायिक भवनमा मतदान चलिरहेको थियो । स्थानीयहरुले ‘मल्ल होटल’ भनेर चिन्ने त्यो ठाँउमा रहेको मल्ल होटल माओवादी द्वन्द्वकालमा बन्द भएपछि अहिलेसम्म चल्न सकेको छैन । एक प्रहरीका अनुसार बिहानै भनाभन र हल्का झडप भएको रहेछ । कान्ति राजपथको छेवैमा मतदान केन्द्रमा मतदाता भन्दा ज्यादा बाइकको लाइन थियो र युवाहरु वरपर छेवैमा बसेर रमिता हेरेका थिए ।

हामी केही मतदातासँग कुरा गर्न थाल्यौं । लेलेका अनिल सञ्जेलले सिंहदरबार गाँउघरमा आए पनि गाँउले त्यसको उपयुक्त प्रयोग गर्न नसकेको भन्दै गाँउको माग सम्बोधन गर्नुपर्ने बताए । खानेपानी, सडक, शिक्षाका माग सम्बोधन भए जनताले अरु बढी अपेक्षा नगरेको उनको भनाइ थियो । अर्की मतदाता रीना तामाङले पाँच वर्षमा कोरोना संक्रमणका कारण जनप्रतिनिधिले काम गर्न नसकेकाले अब अलि काम गरेर देखाउन भन्ने आशा गरिन् ।

ललितपुर गोदावरी–६ को सामुदायिक वन भवन केन्द्रमा लामबद्ध मतदाता ।

कुमार खड्का (पूर्व वडा सदस्य)ले यो ठाउँ राजधानीदेखि १५ किलोमिटर मात्रै टाढा भए पनि दोस्रो कर्णाली भएको गुनासो गरे । नगर घोषणा भए पनि आफ्नो ठाँउ नगरजस्तो नभएको उनको गुनासो थियो । ‘नगरमा हुने सुविधा र व्यवहार भएन,’ उनले भने, ‘नगरपालिका भनेर दाताहरुले कुनै सहयोग गर्दैनन्, हामीलाई बस चढ्न पनि २ घण्टा पर्खनुपर्छ । नगर भएकाले होला, कृषिमा पटक्कै ध्यान भएन ।’

. अहिले बन्द भएको रोपवेको स्टेसन, पोल र तार ।

हामीले मतदातासँग कुराकानी गरिरहँदा प्रहरीको एउटा भ्यान बत्तिएर आयो र मतदानस्थल अगाडि टक्क रोकियो । हतियारसहितका प्रहरी धमाधम भ्यानबाट ओर्लिए । एक जना डीएसपी पनि गाडीबाट झरे, अनि रमितेहरुलाई हटाउन थाले । ‘तपाईंहरु भोट हाल्न आउनुभएको हो भने लाइनमा बसेर हाल्नुस्, सकेको भए जानुस्,’ उनले भने, ‘यसरी वरपर भीड लागेर रमिता नगर्नुस् । पास नभएका मोटरसाइकल तुरुन्तै लैजानुस् ।’ केही लाखापाखा लागे । अटेर गरेर रमिता हेरिरहेको अर्को जमातलाई उनले फेरि त्यसैगरी झपारे । हामी भने राजधानीको कर्णाली भनेर चिनिने दक्षिण ललितपुरको मतदान हेरेर टिकाभैरव हुदै राजधानी भित्रियौं ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

स्थानीय चुनाव २०७९

छुटाउनुभयो कि ?