+
+

मधेश प्रदेश : दोहोर्‍याएर उठेकाहरु प्रारम्भिक नतिजामा पछि

श्रवण देव श्रवण देव
२०७९ जेठ २ गते १०:२४

१ जेठ, जनकपुरधाम । मधेश प्रदेशमा विभिन्न स्थानीय तहमा दोहोर्‍याएर उम्मेद्वार भएकाहरु जारी मतगणनामा पछि परेका छन् । २०७४ सालको निर्वाचनमा जितेर यसपटक पुनः उम्मेद्वार भएकाहरु मतगणनाको प्रारम्भिक नतिजामा पछि देखिएका हुन् ।

प्रदेश राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पुनः उम्मेदवारी दिएका लालकिशोर साह पछि छन् । पछिल्लो परिणाम अनुसार उनी चौथो नम्बरमा छन् ।

जनकपुरधाममा मेयरमा मनोज साह दोब्बर मतभन्दा अघि छन् । नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका साह १ हजार ६७८ मतसहित अगाडि छन् भने दोस्रो स्थानमा नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ले ८९३ मत ल्याएका छन् । लोसपाका मनोज चौधरीले २५२ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार रहेका निवर्तमान मेयर लालकिशोरले अहिलेसम्म २३१ मत पाएका छन् ।

पुनः मेयर बन्न लालकिशोरले यसपटक पार्टी नै परिवर्तन गरेका छन् । यसअघि राजपाबाट निर्वाचित साह अहिले जसपामा छन् ।

यसैगरी यहाँ उपमेयर पद दोहोर्‍याउन खोजेकी रीता झा तेस्रो स्थानमा छिन् । पहिलोमा नेपाली कांग्रेसका किशोरी साह छन् । उनले १ हजार ६४६ मत पाउँदा नेकपा एमालेकी रुना झाले ९४७  मत पाएकी छिन् । लोसपाकी उम्मेदवार रीताले २५३ मत पाएकी छन् ।

धनुषाकै शहीदनगर नगरपालिकामा यसअघि निर्वाचित मेयर उदय बरबरिया यादव पनि मतगणनामा चौथो स्थानमा छन् । यो नगरपालिकामा जसपाका उम्मेदवार दिनेश यादव १ हजार ३९७ मत ल्याएर पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार जयप्रकाश यादवले ६८२, नेपाली कांग्रेसका उम्मेदवार सुधीरकुमार गोइत ६८२ मत पाउँदा निवर्तमान मेयर बरबरिया ६१६ मत ल्याएर चौथो स्थानमा छन् ।

धनुषाकै विदेह नगरपालिकाको मेयर बन्न पुनः उम्मेदवारी दिएका बेचन दास पनि मतगणना परिणाममा पछि  देखिएका छन् । २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित दास यसपटक नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् । उनले १ हजार ५०४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेशकिशोर यादवले १ हजार ५७४ मत ल्याएका छन् ।

क्षिरेश्वरनाथ नगरपालिकाका निवर्तमान मेयर योगेन्द्र पञ्जियारलाई नेकपा एमालेका उम्मेदबार सुखदेव यादवले टक्कर दिएका छन् । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार पञ्जियारले ७९६ मत ल्याउँदा एमालेका उम्मेदवार यादवले ७६७ मत ल्याएका छन् । पञ्जियार नेपाली कांग्रेसका जिल्ला अध्यक्ष समेत हुन् ।

सप्तरीको हनुमाननगर कंकालिनीमा दोस्रो पटक मेयर बन्ने चाहना राखेका शैलेश साह पनि दौडमा पछि छन् । उनलाई जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले पछाडि पारेका हुन् । माझीले २ हजार ८४५ मत पाउँदा साहले २ हजार २५७ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित साह यसपटक जसपाबाट उम्मेदवार बनेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिकाको उपमेयरमा पुनः उम्मेदवारी दिएकी सरिता यादव पनि पछि छिन् । उनले २ हजार ३९३ मत पाउँदा जनमत पार्टीकी उम्मेदवार रेखा मण्डलले २ हजार ७२८ मत पाएकी छन् ।

सप्तरी सदरमुकाम समेत रहेको राजविराज नगरपालिकाको मेयरमा पुनः आकांक्षी देखिएका शम्भु यादव पनि प्रारम्भिक मतगणनामा पछि देखिएका छन् । यसअघि तत्कालीन राजपाबाट जितेका उनी यसपटक नेकपा माओवादीबाट उम्मेदवार भएका छन् ।

पछिल्लो नतिजा अनुसार उनी तेस्रो नम्बरमा छन् । १ हजार २९० मत ल्याउँदै जसपाका भीमराज यादव पहिलो नम्बरमा हुँदा ६०३ मत ल्याएर नेपाली कांग्रेसका इर्साद अन्सारी दोस्रो नम्बरमा छन् । माओवादीका शम्भु भने ५३१ मत ल्याएर तेस्रो नम्बरमा छन् ।

यही नगरपालिकामा दोहोर्‍याएर उपमेयर बन्ने इच्छा राखेकी साधना झा भने अहिले चौथो नम्बरमा छिन् । जसपाका उम्मेदवार इसरत प्रवीण ९५४ मतसहित अगाडि छन् भने ५६६ मतसहित नेपाली कांग्रेसकी सुशीला यादव दोस्रो नम्बरमा छिन् । माओवादीकी प्रमिला साह ४३९ मतसहित तेस्रो नम्बरमा छन् भने झा ३५४ मतसहित चौथो नम्बरमा छिन् ।

सप्तरीकै राजगढ गाउँपालिकामा पुनः अध्यक्ष बन्ने आकांक्षा देखेका नेपाली कांग्रेसका परमानन्द यादव पनि दौडमा पछि छन् । जसपाका उम्मेदवार सुरेन्द्र यादवले १ हजार ९१२ मत ल्याउँदा यादव ५१२ मत ल्याएर दोस्रो स्थानमा छन् ।

अग्निसाइर कृष्णासावरण गाउँपालिकाको अध्यक्ष दोहोर्‍याउन खोज्ने पर्शुराम चौधरी पनि अहिलेसम्मको मतगणनामा पछि देखिएका छन् । नेकपा एमालेका अध्यक्ष दिनानाथ चौधरीले २ हजार १८६ मत ल्याउँदा पर्शुरामले १ हजार ४१६ मत ल्याएका छन् ।

प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा पनि निवर्तमान मेयर पछि देखिएका छन् । २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित विजय सरावगी मतगणनाको परिणाममा पछि देखिएका छन् । यसपटक उनले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । पछिल्लो परिणाम अनुसार सरावगीले ७४७ मत पाउँदा जसपाका उम्मेदवार राजेशमान सिंहले १ हजार ८१० मत पाएका छन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?