+
+

जोसँग मिले पनि माओवादी तेस्रो शक्ति

कांग्रेसले धोका दिएको भन्दै गठबन्धनलाई निरन्तरता दिनेबारे गम्भीर समीक्षा गर्न नेताहरुको माग

रामकुमार डिसी रामकुमार डिसी
२०७९ जेठ २ गते १४:०१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । फाइल तस्वीर

१ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रम जारी छ । मत गणना र मत परिणाम प्रारम्भिक अवस्थामै भए पनि कसको अवस्था कस्तो भने भन्न सकिने अवस्था छ । प्रारम्भिक परिणामले नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो हुने देखिन्छ ।

सोमबार दिउँसो २ बजेसम्मको विवरण अनुसार नेपाली कांग्रेसले ५० पालिका जित्दै २५७ पालिकामा अग्रता लिइरहेको छ । नेकपा एमालेले ४७ स्थानमा जितेको छ भने १५४ पालिकामा अग्रता लिइरहेको छ । त्यस्तै २६ पालिका प्रमुख जितेको माओवादी केन्द्रले ९४ स्थानमा अग्रता लिइरहेको छ ।

यस पटककको शक्ति सन्तुलनले एमाले र कांग्रेसको शक्ति सन्तुलनमा हेरफेर ल्याए पनि माओवादी केन्द्रको हकमा भने खासै फरक देखिएको छैन । माओवादी २०७४ को परिणाममा धेरै नगुमाइ र धेरै प्राप्त नगरी फेरि पनि तेस्रो शक्ति बन्ने देखिएको छ ।

लक्ष्य थियो दोस्रो बन्ने

माओवादी केन्द्रका नेता वर्षमान पुनले गत चैतमा अनलाइनखबरसँगको कुराकानीमा दाबी गर्दै भनेका थिए– ‘एक्लै लडे पनि २०० पालिका जित्छौं ।’

करिब एक तिहाइ जति क्षेत्रमा भए पनि माओवादी केन्द्र तालमेलसहित चुनावमा गयो, तर परिणाम नेताहरुले भने जस्तो भने आएन । वामपन्थीमध्ये पहिलो शक्ति बन्ने माओवादीको सपनामा धक्का लाग्यो ।

त्यसो कसरी भन्ने प्रश्नमा उनले व्याख्या गर्दै भनेका थिए, ‘हामी एक्लै लड्न पनि सक्षम छौं । २०७४ मा ११६ पालिका जितेका थियौं । ९९ जति स्थानीय तहमा दोस्रो छौं । १३ सय भन्दा बढी वडा जितेका छौं । यो पटक २०० भन्दा बढी पालिका हामी एक्लै पनि जित्छौं ।’

तालमेलका लागि कांग्रेससँग छलफल चलिरहेका बेला पुनले सत्ता गठबन्धनबीच राम्ररी तालमेल भए एमाले तेस्रोमा खुम्चिने र माओवादी कम्युनिष्टमा पहिलो शक्ति बन्ने समेत दाबी गरेका थिए । यही प्रक्षेपण माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ लगायतका धेरै नेताले गरेका थिए । प्रचण्डले यो चुनावलाई चुनाव नभई लडाइँका रुपमा व्याख्या गरेका थिए ।

करिब एक तिहाइ जति क्षेत्रमा भए पनि माओवादी केन्द्र तालमेलसहित चुनावमा गयो, तर परिणाम नेताहरुले भने जस्तो भने आएन । वामपन्थीमध्ये पहिलो शक्ति बन्ने माओवादीको सपनामा धक्का लाग्यो ।

उसो त २०७४ सालको संघीय चुनावमा एमालेसँग  गठबन्धन गरेर चुनाव लड्दा पनि तेस्रो नै बनेको थियो । एमालेसँग करिब ४० प्रतिशत सिट लिएर तालमेल गर्दा माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७  गरी ५३ सिट जितेको थियो । प्रत्यक्षतर्फ नेपाली कांग्रेसभन्दा बढी मत ल्याएको भए पनि समानुपातिक तर्फको मत कम भएका कारण तेस्रो दल नै बन्न पुगेको थियो ।

२०६४ सालमा पहिलो शक्ति बनेको माओवादी ओरालो लागेर तेस्रो बन्न थालेको भने २०७० सालको चुनावदेखि नै हो ।

कांग्रेससँग असन्तुष्टि

चुनावको परिणाम सार्वजनिक हुँदै गर्दा माओवादी नेताहरुले गठबन्धनमा इमान्दार नबनेको भन्दै कांग्रेसको आलोचना गर्न थालेका छन् । यसबारे सबैभन्दा पहिलो टिप्प्णी गरेका थिए वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले ।

‘अघिल्लो र यो, दुवै गठबन्धन प्रत्युत्पादक भयो,’ सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘हाम्रा काँधमा चढेर उनले तारो टिपेर हामीलाई चारो हाले । हामी माओवादीले समीक्षा गरौं ।’

माओवादीलगायत सत्ता गठबन्धनका अन्य दलले कांग्रेसलाई इमान्दारितापूर्वक मत हाले पनि कांग्रेस त्यसमा इमान्दार नदेखिएको भन्दै माओवादीका अन्य नेताहरुले पनि असन्तुष्टि जनाउन थालेका छन् । चितवनमा रेनु दाहाल, ललितपुरमा माओवादीका उपमेयर, काठमाडौंमा एकीकृत समाजवादीबाट उपमेयर बनेका राजेश्वर श्रेष्ठलाई कांग्रेसले मत नदिएको उदारण दिंदै माओवादी नेता शक्ति बस्नेत अब गठबन्धन निरन्तरताका लागि गम्भीर समीक्षा हुनुपर्ने बताउँछन् ।

‘माओवादीले इमान्दारीपूर्वक नेपाली कांग्रेसलाई अलि बढी सहयोग गरेको र नेपाली कांग्रेसबाट माओवादीसहित गठबन्धनका अन्य पार्टीमा अपेक्षित मत नआएको देखिएको छ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘अब गठबन्धनको निरन्तरताका निम्ति गम्भीर प्रकृतिको समीक्षा यसले माग गर्छ ।’

बस्नेतले गठबन्धनमा व्यवस्थापकीय कमजोरी भएकाले पनि परिणाम सोचे जस्तो नआएको बताए । ‘अर्कोतिर गठबन्धनको व्यवस्थापकीय पाटो कमजोर भयो,’ उनले भने, ‘समयमै सबै कुरा टुंगिन नसक्नु एउटा समस्या रह्यो । हरेक पार्टीमा उम्मेदवारहरु मानसिक रुपले तयारी गरेर अगाडि बढिसकेको अवस्थामा ‘ब्याक’ गर्नुपर्दा परेका अप्ठ्याराहरु पनि छन् ।’

माओवादीका अर्का नेता गणेश साहले पनि गठबन्धनले माओवादीलाई खासै फाइदा नगरेको बताए । ‘गठबन्धनले माओवादीलाई खासै फाइदा गरेन,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीभित्र पनि यसले अन्योल उत्पन्न गर्‍यो । बैठककै लागि हाम्रो अनावश्यक उर्जा खर्च भयो ।’

संघीय निर्वाचनका लागि गरे पनि स्थानीय चुनावमा तालमेल उचित नदेखिएको उनको भनाइ छ । ‘गठबन्धन केन्द्रीय सरकारका लागि ठीक हो,’ माओवादीको मधेश प्रदेश इन्चार्ज समेत रहेका साहले भने, ‘स्थानीय तहका लागि गठबन्धन भन्दा तालमेल उचित हुने देखियो ।’

गठबन्धनमा जानु घातक !

चुनावमा गठबन्धन गरेर जानुपर्नेमा सबैभन्दा जोड कसैले दिएको थियो भने त्यो माओवादी केन्द्रले नै हो । र, माओवादीका नेताहरुमध्ये सबैभन्दा बढी जोड प्रचण्डले गरेका थिए । गठबन्धन गर्नुभन्दा माओवादी एक्लै आफ्नो शक्ति बढाउनतर्फ लाग्नुपर्ने मत पहिलेदेखि नै राख्ने दीपशिखा गठबन्धन भनेर बसेका कारण माओवादीलाई घाटा लागेको बताउँछन् ।

महानगर र उपमहानगरमा माओवादी कमजोर भएकाले त्यहाँ मात्रै मिलेर अन्यत्र जोसँग सहज हुन्छ त्यहीसँग मिलेको भए राम्रो नतिजा आउने दीपशिाखाको दाबी छ । ‘महानगर र उपमहानगर हाम्रो कमजोर थियो,’ उनले अनलाइनखबरसँग भने, ‘अरुमा चाहिं कांग्रेस मिले कांग्रेससँग, एमाले मिले एमालेसँग मिलेर जानुपर्छ भन्ने मत मेरो थियो । त्यसो गरेको भए र यो गठबन्धन भनेर हामी नहिंडेको भए हामी २०० स्थान आसपास जित्ने रहेछौं ।’

पाँच दलीय सत्ता गठबन्धनमा गठबन्धन गर्दा बाहिरको दलसँग तालमेल गर्ने नीति बनाइएको थियो । त्यी नीति अनुसार माओवादीले धेरै स्थानमा एमालेसँग तालमेल गर्नबाट रोक्यो । कतिपय ठाउँमा एमालेसँग मिल्नेलाई कारबाही समेत गर्‍यो । तर त्यही कुरा कांग्रेसले भने खासै लागु गरेन । रोल्पा, रुकुमका अधिकांश स्थानमा कांग्रेसले माओवादीविरुद्ध एमालेसँग तालमेल गरेर चुनाव लड्यो । सल्यानको कुमाखमा कांग्रेस–एमाले मिलेका कारण माओवादीका उम्मेदवार पराजित भए । माओवादी बलियो भएका अन्य केही ठाउँमा पनि कांग्रेस र एमाले मिलेर माओवादीविरुद्ध चुनाव लडेका छन् ।

यसबाट खाली कांग्रेसलाई मात्रै फाइदा भएको भन्दै दीपशिखा भन्छन्, ‘यो गठबन्धन के भयो भने एउटा दाइ एमालेलाई खसालिदिएर, भाइ कांग्रेसलाई माथि चढाएर हामी जहाँको त्यहीं रहने भयौं ।’

कांग्रेसले ५० प्रतिशत पनि मत माओवादीलाई नहालेको भन्दै कांग्रेससँग मिल्न नहुने मत आफूले पहिलेदेखि नै राखेको दीपशिखा बताउँछन् । ‘सबै लागेर गठबन्धन गरेको ठाउँमा पनि कांग्रेसले ५० प्रतिशत पनि हालेन,’ उनले भने, ‘मिलेको ठाउँमा ५० प्रतिशत पनि हालेन । नमिलेको ठाउँमा त छँदैछ ।’

उनले थपे, ‘यही कारण हामीले पार्टीभित्र फरक मत राखेका थियौं । हाम्रो मत हिजैदेखि पनि के थियो भने स्थानीय तहलाई अधिकार दिऊँ, महानगर, उपमहानगरपालिकामा गठबन्धन गरौं । अरु कुरामा ‘डिक्टेट’ नगरौं ।’

कतिपयले माओवादीले केन्द्रीय गठबन्धन र भरतपुर मोह त्यागेर एक्लै चुनाव लडेको भए पनि राम्रो नतिजा ल्याउने बताएका छन् । कांग्रेसलाई छाडेर माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको तेस्रो चुनावी मोर्चा बनाएर गएको भए पनि राम्रो नतिजा आउने चर्चा पनि अहिले माओवादी वृत्तमा भइरहेको छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?