+
+

पाल्पामा सत्ता गठबन्धनले रोक्न सकेन एमालेको ‘क्लिन स्वीप’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १९:३९
पाल्पाको पूर्वखोला गाउँपालिकामा निर्वाचित गाउँपालिका अध्यक्ष नुनबहादुर थापासहितका जनप्रतिनिधिहरु ।

२ जेठ, पाल्पा । नेकपा एमालेलाई जसरी पनि रोक्ने उद्देश्य लिएको सत्ता साझेदार दलहरुले पाल्पामा पनि गठबन्धन गरेका थिए । पाल्पाका १० मध्ये नेपाली कांग्रेसले ६, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पदको भागवण्डा गरेका थिए ।

रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, बगनासकाली, माथागढी र निस्दी गाउँपालिकाको प्रमुखमा कांग्रेस, तिनाउ र रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्र र पूर्वखोला र रम्भा गाउँपालिकामा एकीकृत समाजवादीबाट प्रमुख पदको उम्मेदवार थिए । तर सोमबार साँझसम्मको नतिजा भने सत्ता गठबन्धनको चाहना विपरीत आएको छ ।

पूर्वखोला र निस्दी गाउँपालिकामा त एमालेले सत्ता गठबन्धनलाई क्लिन स्वीप नै गरेको छ । ‘एमालेकै पक्षमा जनता छन् भन्ने पुष्टि हो, यो । हाम्रो पार्टीको जग बलियो छ भन्ने पनि हो’, पाल्पा इन्चार्ज रहेका एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरे भन्छन् । पाल्पा एमालेको बलियो संगठन संरचना र जनमत भएको जिल्ला हो । यहाँबाट सोमप्रसाद पाण्डे र दलबहादुर राना स्थायी जनप्रतिनिधि जस्तो देखिने गरेका थिए ।

तर यहाँका पुराना नेता एवं पूर्वमन्त्री पाण्डे एकीकृत समाजवादीमा गएको र सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएकाले यसपटक एमालेको प्रतिकुल नतिजा आउने पूर्वानुमान थियो । गठबन्धनले पनि एमाले रोक्न ०७४ को नतिजा र वर्तमान संगठनात्मक अवस्था हेरेरै भागबण्डा गरेको थियो ।

एमालेले ०७४ मा सहज जित निकालेकै पालिका एकीकृत समाजवादीको भागमा पारिनुको उद्देश्य जित निकाल्नु नै हो । तर गठबन्धनबाट एकीकृत समाजवादीले मीनप्रसाद गिरीलाई अध्यक्ष उठाएको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिन स्वीप गरेको छ ।

गठबन्धनका गिरीले एक हजार २५७ मत पाउँदा झण्डै पाँच गुणा बढी मतसहित एमालेका नुनबहादुर थापाले जिते । अध्यक्ष दोहोरिएका थापाले गठबन्धनका उम्मेदवार विरुद्ध ६ हजार ३९ मत ल्याए । उपाध्यक्षमा पनि एमालेका भागिरथी शर्माले फराकिलो अन्तरले जितिन् ।

शर्माले पाँच हजार ८९४ मत ल्याएर जित्दा कांग्रेसका विष्णुकुमारी आचार्यले दुई हजार २५० मत मात्रै ल्याइन् । थापा र शर्माले ०७४ मा जित्दा ल्याएको भन्दा धेरै मत ल्याए । मतान्तर बढ्दा पूर्वखोला गाउँपालिकाका ६ वटै वडामा एमालेका उम्मेदवार मात्रै विजयी भए ।

पूर्वखोला पछि निस्दी गाउँपालिकामा पनि एमालेले गठबन्धनलाई क्लिन स्वीप गरेको छ । यो पालिकामा भने गठबन्धनबाट कांग्रेसका गोविन्दप्रसाद अर्याल उम्मेदवार थिए । तर अर्यालले तीन हजार ४६६ मत पाउँदा एमालेका मुक्तबहादुर सारुले ६ हजार ६५२ मत ल्याएर अध्यक्ष जिते ।

०७४ मा पनि एमालेबाट मुक्तबहादुर नैैै उम्मेदवार थिए । त्यसबेला कांग्रेसका शालिकराम पाण्डेले दुई हजार ९२३ मत पाउँदा उनले पाँच हजार ३२० मत ल्याएर जितेका थिए । यसपटक गठबन्धन हुँदा पनि कांग्रेसले एमालेलाई रोक्न सकेन ।

उपाध्यक्षमा त माओवादी केन्द्रका रामप्रसाद खत्री भन्दा एमालेकी तीरनकुमारी श्रेष्ठले झण्डै आठ गुणा बढी मत ल्याएर जितिन् । गठबन्धनका उम्मेदवार खत्रीले ८३० मत पाउँदा एमालेकी श्रेष्ठले ६ हजार ६३८ मत ल्याइन् । यो पालिकामा पनि गठबन्धनका कोही उम्मेदवारले जित्न सकेन ।

अन्य पालिकामा पनि एमालेले यसपटक मत बढाएको छ । ०७४ मा कांग्रेसले जितेको माथागढी गाउँपालिकामा यसपटक एमालेका यमबहादुर चिदीले जिते । गठबन्धनले ०७४ मा अध्यक्ष जितेका सन्तोषकुमार थापालाई नै उम्मेदवार बनाएको थियो । तर कांग्रेसका थापाले पाँच हजार ५५४ मत ल्याउँदा एमालेका चिदीले ६ हजार १०९ मत ल्याएर नतिजा उल्ट्याए ।

जबकी ०७४ मा कांग्रेस एक्लै चुनावी प्रतिश्पर्धामा उत्रदा थापाले एमालेका विमलप्रसाद काफ्ले भन्दा दुई हजार बढी मत ल्याएर अध्यक्ष जितेका थिए । त्यसबेला थापाले ६,७९९ मतसहित अध्यक्ष जित्दा एमालेका काफ्लेले तीन हजार ८०६ मत ल्याएका थिए । यसपटक भने गठबन्धन हुँदा पनि एमालेले यो पालिका जित्यो ।

गठबन्धनबाट माओवादी केन्द्रका नेता राजेश श्रेष्ठलाई हराउँदै तिनाउ गाउँपालिकामा पनि एमालेले जितेको छ । माओवादी केन्द्रका राजेशले चार हजार ४६६ मत पाउँदा एमालेका प्रेमले पाँच हजार ९० मत ल्याएर अध्यक्ष जितेका छन् । ०७४ मा पनि एमालेले यो गाउँपालिका जितेको थियो । त्यसबेला कांग्रेसका महेन्द्रप्रसाद पाण्डेयलाई हराउँदै एमालेका औमबहादु घर्तीमगरले चुनाव जितेका थिए ।

नतिजा आउन बाँकी ६ मध्ये तीन पालिकामा एमालेकै अग्रता छ । ०७४ मा कांग्रेसले जितेको रामपुर नगरपालिकामा शिव अर्यालले अग्रता लिइरहेका छन् । गठबन्धनले भने निवर्तमान मेयर रमणबहादुर थापालाई नै उम्मेदवार बनाएको छ ।

०७४ मा कांग्रेसले जितेको अर्को गाउँपालिका बगनासकालीमा पनि एमालेकै सरस्वति दर्लामीले अग्रता लिइरहेकी छन् । गठबन्धनबाट यो पालिकामा कांग्रेसका सुनिता अधिकारी उम्मेदवार छिन् । यसअघि एमालेले नै जितेको रम्भा गाउँपालिकामा पनि एमालेकै अग्रता छ । एकीकृत समाजवादीका दुर्गाप्रसाद अधिकारीसँग एमालेका विष्णुप्रसाद भण्डारी प्रतिस्पर्धामा छन् । भण्डारी निवर्तमान अध्यक्ष पनि हुन् ।

०५१ यताको संसदीय चुनावमा सांसद जित्दै आएका सोमप्रसाद पाण्डेकै गृहनगर रामपुर तानसेनमा भने एमाले पछाडि परेको छ । यो नगरपालिका यसअघि एमालेले जितेको थियो । रैनादेवी छहरा गाउँपालिकामा कांग्रेससँग र रिब्दीकोट गाउँपालिका माओवादी केन्द्रसँग पनि एमाले पछाडि परेको छ । ०७४ मा रैनादेवीमा कांग्रेस र रिब्दीमा एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?