
२ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकामा दुई दिनयता रोकिएको मतगणना पुन: सुरु भएको छ । शनिबार राति ८ बजेबाट रोकिएको मतगणना निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको उपस्थितिमा भएको छलफलपछि पुन: सुरु भएको हो ।
९ वटा वडा रहेको रंगेलीमा २७ हजार २७० मत खसेको छ । पहिलो चरणमा रंगेलीका वडा नम्बर १, २ र ३ को मत गणना भइरहेको बेला सिल नलागेको मतपेटिका भेटिएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिले अवरोध गरेपछि मतगणना रोकिएको थियो ।
सुरुबाटै गणना गर्ने सहमतिपछि सोमबार साँझबाट मत गणना सुरु भएको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
शनिबार राति ३ हजार १३२ मत गनिसकेपछि गणना रोकिएको थियो । प्रमुख निर्वाचन आयुक्तको उपस्थितिमा छलफल भएपछि पुन: सुरुबाटै गणना भइरहेको नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार मोदराज घिमिरेले बताए ।
प्रारम्भिक मतपरिणाम अनुसार मेयरमा एमाले उम्मेदवार दिलीप बगडिया १ हजार ६३१ मतका साथ अगाडि थिए भने कांग्रेसका मोदराज घिमिरेले १ हजार ६७ मत ल्याएका थिए ।
शनिबार रंगेली-८ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार आशिष दोर्जेले मतपेटिका सिल नगरिएको अवस्थामा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण गराएका थिए । त्यसपछि कांग्रेस नेता कार्यकर्ताले मत गणना रोकेर पुन: मतगणना गर्न माग गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाको उपस्थितिमा भएको छलफलले वडा नम्बर १, २ र ३ को मतगणना पुनः सुरुबाट गर्ने, नगरपालिकाका अस्थायी कर्मचारीलाई गणना स्थलमा नराख्ने र सिल टुटेको मतपेटिकाबारे थप जाँच्ने सहमति भएको थियो ।
प्रतिक्रिया 4