+
+

एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धनले कांग्रेसलाई मात्रै फाइदा

रामकुमार डिसी रामकुमार डिसी
२०७९ जेठ ३ गते १५:३८

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समावादीले स्थानीय तह निर्वाचनमा आफ्ना पक्षमा सकरात्मक परिणाम नआएको निष्कर्ष निकालेको छ ।

मंगलबार दिउँसो १:२० बजेसम्म प्राप्त विवरण अनुसार एकीकृत समाजवादीले चार पालिका प्रमुख र ८ उपप्रमुख जितेको छ। त्यस्तै प्रमुखमा १५ स्थान र उपप्रमुखमा ११ स्थानमा अग्रता लिइरहेको छ ।

यो नतिजा आफूहरुले अपेक्षा गरेजति नगरेको प्रतिक्रया एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दिएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धका घटकहरुले पनि राम्रो सहकार्य नगरेको आरोप लगाएका छन् ।

‘अलिहेसम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्ने जति छैन,’ उनको प्रतिक्रिया छ, ‘अझैं पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं । हामीसँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहैनन्।’

उनले निर्वाचन परिणाम र गठबन्धनको सहकार्यबारे पनि गम्भीर समीक्षा हुने बताए । ‘हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्ने छौं,’ नेपालले भने, ‘हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्ने छौं । समीक्षा गरेर हामीले कहाँ राम्रो गर्‍यौं, कहाँ त्रुटि गर्‍यौं त्यसको समीक्षा गर्ने छौं ।’

गठबन्धनले फाइदा नपुगेको निष्कर्ष

उत्साहजनक परिणाम नआइरहेका बेला गठबन्धनबाट आफूहरुलाई खासै फाइदा नगपुगेको भनाइ एकीकृत समाजवादीका नेताहरुको छ ।

एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ गठबन्धनले कांग्रेसलाई मात्रै फाइदा पुगेको बताउँछन् । ‘यो गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा भयो,’ उनले अनलाइनखबरसँग भने, ‘एकीकृत समाजवादीलाई खासै उपलब्धीमुलक रहेन । बरु आफ्नै बलबुतामा पहिलेदेखि तयारी गरेर गएको भए यो भन्दा फाइदा हुन्थ्यो ।’

अहिले आइरहेको मत परिणामले पनि कांग्रेसबाट पर्याप्त मात्रामा अन्य दललाई मत नगएको पुष्टि हुने श्रेष्ठको भनाइ छ । ‘यो त परिणामले देखाइरहेको छ,’ उनको भनाइ छ, ‘यद्यपि अलिहे नै निष्कर्षमा पुग्ने अबस्था भएको छैन । यो प्रारम्भिक नतिजा हो ।’

सत्ता गठबन्नधका दलहरुबीच काभ्रेको धुलिखेलको प्रमुख एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । त्यही अनुसार एकीकृत समाजवादीका दयासागर श्रेष्ठले प्रमुखमा उम्मेदवारी दिए । उपप्रमुखमा निराजन जंगमले उम्मेदवारी दिए ।

तर, त्यहाँ कांग्रेसकै बीरबहादुर बस्नेतले बागी उम्मेदवार दिए । अहिले उनले प्रमुखमा एकीकृत समाजवादीका श्रेष्ठको भन्दा बढी मत ल्याएका छन् ।

बस्नेतको मत २५३७ छ । श्रेष्ठले भने जम्मा १७११ मत मात्रै पाएका छन् । गठबन्धन भित्रको द्वन्द्वको लाभ नेकपा एमालेलाई भयो । परिणाम अनुसार नेकपा एमालेका अशोक ब्याञ्जुले प्रमुखमा ५१७८ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्।

कांग्रेसको बागीका कारण पछाडि परिरहेका श्रेष्ठले कांग्रेसले गठबन्धनको न्युनत इमान्दारिता समेत नदेखाएको बताए। ‘कांग्रेसकै जिम्मेवार मान्छेले स्वतन्त्र उम्मेदवारी दिइसकेपछि हुने त यस्तै हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘बाहिरबाट हेर्दा गठबन्धन भयो, भित्रबाट हेर्दा गठबन्धन भएन । वास्तविक गठबन्धन भएन ।’

बागी उम्मेदवारलाई कांग्रेसको सर्मथन रहेको आरोप समेत उनको छ । ‘नत्र त पार्टीले कारवाही गथ्यो, निस्काशन गथ्र्यो र उम्मेदवारी फिर्ता गन लगाउँथ्यो,’ उनको भनाइ छ, ‘पार्टीले चाहेको भए निर्वाचनको एक÷दुई अघि पनि उहाँलाई रोक्न सकिन्थ्यो । त्यस्तो खालको गम्भीर पहल कांग्रेसमा देखिएन ।’

गठबन्धनमा इमान्दारिता नहुने हो भने यसको कुनै अर्थ नहुने उनको भनाइ छ । ‘गठबन्धन भन्ने तर आफ्नो इमान्दारिता नदेखाउने हो भने गठबन्धनको केही अर्थ रहँदैन,’ श्रेष्ठले भने ।

पोखरामा राहात, हेटौंडामा ढुकचुक, अन्त आहात

एकीकृत समाजवादीले कांग्रेसबाट अपेक्षाकृत मत नपाएको गुनासो गरिरहँदा गठबन्धनबाट तालमेल गरेर पाएको पोखरा महानर र हेटौंडा उपमहानगरमा भने राम्रै मत पाइरहेको छ ।

पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले निरन्तर अग्रता लिइरहेका छन् । उलने ९४०२ मतसहित अग्रता लिदा उप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले पनि उत्तिकै मत पाइरहेकी छिन् ।

एकीकृत समाजवादीले पाएको हेटौंडामा पनि गठबन्धनको प्रमुख र उपप्रमुखले पाएको मतमा सन्तुलित छैन ।

प्रमुखमा एकीकृत समाजवादीकी मिना लामाले ८३५३ ल्याउँदा उपप्रमुखका नेपाली कांग्रेसका राजेश बानियाँले ११७९१ मत पाएका छन् ।

काठमाडौं महानगरमा पनि गठबन्धन भित्रका प्रमुख र उपप्रमुखले पाएको मत सन्तुलित छैन । प्रमुखकी उम्मेदवार सिर्जना सिंहले ५११४ मत पाउँदा एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले ३०४८ मात्रै प्राप्त गरेका छन् ।

बुटवल उपमहानगरमा पनि गठबन्धनका प्रमुख र उपप्रमुख उम्मेदवारले पाएको मतमा निकै अन्तर छ । प्रमुखमा नेपाली कांग्रेसमा कांग्रेसका खेलराज पाण्डेले १०६११ मत पाउँदा एकीकृत समाजवादीबाट उपमेरका उम्मेदवार चिनबहादुर गुरुङले पाएको मत भने ५६८२ मत मात्रै छ ।

इटहरीमा पनि गठबन्धनका उम्मेदवारले पाएका मतान्तर पनि धेरै छ । उप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ८२३४ मत ल्याएर अग्रता लिँदा एकीकृत समाजवादीबाट उपमेयर उम्मेदवार बनेका केशवकुमार बिष्टले ५१०४ मात्रै मत प्राप्त गरेका छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?