+
+

गठबन्धन नगर्दा गोरखामा माओवादी केन्द्रको छलाङ

सइन्द्र राई सइन्द्र राई
२०७९ जेठ ३ गते २३:१७
गोरखाको अजिरकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित दीपक देवकोटा र उपाध्यक्ष अनिता भुजेल ।

३ जेठ, गोरखा । स्थानीय चुनावको अन्तिम नतिजा आउन बाँकी नै छ । तर नेकपा माओवादी केन्द्रको राजनीतिक हैसियत तेस्रो हुने प्रष्ट भइसकेको छ, । माओवादी केन्द्र यो राजनीतिक हैसियतबाट माथि उठ्न नसकेको १० वर्ष नै पुग्न लाग्यो ।

दश वर्षे सशस्त्र विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएको माओवादी केन्द्रले संसदीय शक्ति सुधार्न ०७४ यता कहिले नेपाली कांग्रेस, त कहिले नेकपा एमालेसँग गठबन्धन गरिरहेको छ । ०७४ को स्थानीय चुनावमा कांग्रेस र त्यसै वर्षको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा एमालेसँग माओवादी केन्द्रले तालमेल ग¥यो । एमालेसँग त पार्टी एकता नै गर्‍यो ।

तर सर्वोच्च अदालतको फैसलाका कारण २३ फागुन ०७७ मा माओवादी केन्द्र फेरि आफ्नै अस्तित्वमा फर्कियो । यसपछि कांग्रेससहित पाँच दलीय गठबन्धनसँग तालमेल गरी माओवादी केन्द्र ३० वैशााखको चुनावमा सहभागी भयो ।

तर गोरखामा भने पाँच दलबीच तालमेल भएन । तालमेलका लागि १० भन्दा बढी संयुक्त बैठक बस्यो, र अन्त्यमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयमा दलहरु पुगे । ११ स्थानीय तहमध्ये ०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसले ९ र नेकपा माओवादी केन्द्रले २ वटाको नेतृत्व जितेको थियो । त्यसैले यसपटक भागवण्डाको राजनीतिमा कांग्रेस हावी भयो । माओवादी केन्द्रसहित अरु दल कांग्रेसले दिएमा मात्र पाउने स्थितिमा रहे ।

जसरी पनि तालमेल गर्ने मनोविज्ञानमा रहेका माओवादी केन्द्रका नेताहरु जिल्ला समन्वय समितिको नेतृत्वसहित गनेर ६/६ वटाको अनुपातमा भागबण्डा गर्नुपर्ने अडानबाट पछि हट्न समेत तयार भयो । तर ४ वटा पालिका पनि नपाउने भएपछि माओवादी केन्द्रले अलग्गै चुनावमा भाग लिने निर्णय लियो ।

सुधार होइन, छलाङ

सत्तारुढ गठबन्धनका दलहरुसँग सहमति नभए एमालेसँग भए पनि स्थानीय स्तरमा तालमेल गर्न माओवादी केन्द्रका नेताहरु तयार थिए । तर एमालेसँग पनि तालमेल हुन नसकेपछि माओवादी केन्द्र गोरखा नगरपालिका र गण्डकी गाउँपालिका बाहेकका स्थानीय तहमा एक्लै चुनावमा उत्रियो । यी दुई पालिकामा भने जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल भएको छ । तर नतिजा भने बिगतका नतिजा र कमजोर रहेको मनोविज्ञान बिर्साउने गरी आएको छ ।

‘बितेको पाँच वर्षले हामीलाई धेरै कुरा सिकायो । त्यही शिक्षाको परिणाम हो, अहिलेको नतिजा’, माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापा भन्छन् । अध्यक्ष थापा उत्साहित हुनुको कारण भने गोरखामा माओवादी केन्द्रले अनपेक्षित सफलता ल्याउनु हो ।

गणना सकिएको सातमध्ये ६ पालिका माओवादी केन्द्रले जितिसकेको छ । गणना भइरहेको गोरखा र पालुङ्टार नगरपालिका पनि माओवादी केन्द्रका उम्मेदवारको अग्रता फराकिलो बनिसकेको छ । गोरखा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर रानाले ७,०१२ मत सहित अग्रता लिइरहँदा कांग्रेसका राजनराज पन्त ५,३५७ मत सहित पछ्याइरहेका छन् ।

पालुङटारमा माओवादी केन्द्रकै विवश चिन्तनले ४,४३२ मतसहित अग्रता लिइरहँदा जसपाका प्रेमबहादुर गुरुङ ३,७७० मत सहित पछ्याइरहेका छन् । बारपाक सुलिकोट, अजिरकोट, गण्डकी, धार्चे, भीमसेनथापा र शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रले जितिसकेको छ । चुमनुब्रीमा भने गणना सुरु भएको छैन ।

०७४ को चुनावमा माओवादी केन्द्रले बारपाक र शहीद लखन गाउँपालिका मात्रै जितेको थियो । यसपटक यी दुवै पालिका पनि सुरक्षित गरेको छ । शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेशबाबु थापा मगर दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । उनले ५,४७४ मत ल्याएर कांग्रेसका नारायणप्रसाद लामिछानेलाई पराजित गरे । एक हजार बढी अन्तरले पराजित लामिछानेले ४,४३२ मत मात्रै पाए ।

माओवादी केन्द्रका थापाले ०७४ भन्दा बढी मत पाएर जिते । त्यसबेला थापाले ३,८०८ मत पाएर जितेका थिए । बारपाकमा पनि माओवादी केन्द्रका विष्णुप्रसाद भट्टले दोस्रो पटक जितेर माओवादी केन्द्रको नेतृत्व सुरक्षित गरे । कांग्रेसका जितबहादुर घलेले ४,८६४ मत पाउँदा भट्टले ५,७१९ मत ल्याएर जिते । ०७४ को चुनाव जित्दा घलेले ४,६५९ मत पाएका थिए ।

भीमसेनथापा गाउँपालिकामा लोकप्रसाद बञ्जराले ५,६५१ मत ल्याएर कांग्रेसका रोशन गुरुङलाई हराए । गुरुङले ५,१७६ मत मात्रै पाए । अघिल्लो चुनावमा कांग्रेसका ईश्वर पाण्डेले ३,९४३ मत ल्याएर माओवादी केन्द्रलाई हराएको थियो । त्यसबेला माओवादी केन्द्रका लोकप्रसाद बञ्जराले २,९८४ मत पाएका थिए ।

०७४ को स्थानीय चुनाव हारेको गण्डकी गाउँपालिकामा यसपटक माओवादी केन्द्रका दीपक तिमल्सिनाले जितेका छन् । तिमल्सिनाले ६,३२६ मत ल्याएर अध्यक्ष जित्दा कांग्रेसका होमबहादुर राना मगरले ४,६५५ मत पाए । निवर्तमान अध्यक्ष मगरले ०७४ मा ४,१३१ मत ल्याएर माओवादी केन्द्रलाई पराजित गरेका थिए ।

धार्चे गाउँपालिकामा पनि यसपटक माओवादी केन्द्रले जितेको छ । अघिल्लो चुनावमा कांग्रेसका सन्तबहादुर गुरुङले १,७०७ मत ल्याएर माओवादी केन्द्रका लक्ष्मण गुरुङलाई हराएका थिए । तर तिनै गुरुङले यसपटक दोब्बर भन्दा धेरै (३,७७१ मत) ल्याएर जिते ।

०७४ मा कांग्रेसले जितेको अजिरकोट गाउँपालिकामा पनि माओवादी केन्द्रले जितिसकेको छ । अजिरकोटमा माओवादी केन्द्रका दीपक देवकोटाले ३,७८७ मत ल्याएर कांग्रेसका गोविन्दबहादुर गुरुङलाई पराजित गरेका छन् । गुरुङले भने ३,२८९ मत मात्रै पाए ।

अघिल्लोपटक जितेको मध्ये कांग्रेसले अहिलेसम्म आरुघाट मात्रै जोगाएको छ । यो पालिकामा भने कांग्रेसका राजु गुरुङले ५,५५६ मत ल्याएर जित्दा माओवादी केन्द्रका ऋषिप्रसाद खनालले ९१० मत मात्रै पाए । अघिल्लो पटक जितेको र अहिले पनि कांग्रेसले अग्रता लिइरहेको गाउँपालिका भने सिरानचोंक मात्रै छ ।

‘हाम्रो पार्टीको भाषामा गोरखामा यो सुधार होइन, छलाङ हो’ माओवादी केन्द्रका अध्यक्ष थापा भन्छन्, ‘पार्टीका सबै सदस्य उम्मेदवार जसरी लाग्यौं, त्यसैको परिणाम अहिले आयो ।’ गोरखामा माओवादी केन्द्रको २७ हजार २७२ पार्टी सदस्य रहेको र यो देशभरमै कैलालीपछिको दोस्रो धेरै रहेको थापा बताउँछन् ।

कांग्रेसमा किचलो

कांग्रेसका जिल्ला सचिव किशोर जंग थापा, माओवादी केन्द्रले अनपेक्षित नतिजा ल्याउनुमा तीन कारण देख्छन् । ‘हामीमा ओभर कन्फिडेन्ट भयो, पार्टीभित्रको आन्तरिक कलह समाधान गर्न सकिएन । अनि गठबन्धन गर्ने भनेर अलमल गर्दा राम्रो तयारी गर्ने पाइएन’, थापा भन्छन् ।

कांग्रेसभित्रको आन्तरिक कलह त सार्वजनिक नै भयो । ०७४ को चुनावमा माओवादी केन्द्रलाई नै १५ सय बढी मतान्तरले हराएको गोरखा नगरपालिकामा मेयर पद उम्मेदवार चयन गर्न कांग्रेसलाई ठूलै सकस परेको थियो ।

गण्डकी प्रदेश समितिले विश्वदेव श्रेष्ठलाई टिकट दिने निर्णय गरेपछि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी नै भयो । त्यही समूहले टिकट पाएका श्रेष्ठमाथि कुटपिट गरेपछि कांग्रेसले निर्णय सच्याउँदै निवर्तमान मेयर राजनराज पन्तलाई टिकट दियो । पन्तकै समर्थकले श्रेष्ठमाथि कुटपिट गरेको कांग्रेसका नेताहरु बताउँछन् ।

गठबन्धनका दलहरुबीच तालमेलको खटपट त उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भइसकेपछि पनि हल हुन सकेको थिएन । पालुङटार नगरपालिकामा निवर्तमान मेयर दीपकबाबु कँडेलले कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका थिए ।

तर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले केन्द्रमा तालमेलको सहमति गरे । सहमति अनुसार उम्मेदवारी फिर्ता लिने दिन वैशाख १६ गते कँडेलको उम्मेदवारी फिर्ताको चर्चा थियो । सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ताको समयसीमा सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ताको पत्र पठाएका कारण उनको उम्मेदवारी जोगियो ।

त्यसपछि पनि जसपासँग तालमेल गर्ने सहमति अनुसार कँडेलको उम्मेदवारी निष्क्रिय गराउने दुई पार्टीबीच सहमति भयो । कँडेलले विज्ञप्ति जारी गरेर पार्टीको निर्णय मान्ने भनी विज्ञप्ति नै जारी गरे । तर जसपासँग वडाअध्यक्षको तालमेलमा कुरा नमिलेको भन्दै कांग्रेस र जसपाले वैशाख २० गते एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सहमति गरे । परिणाम अहिले कांग्रेस र जसपा यो दुवै नगरपालिकामा जित्न भन्दा निकै पछाडि धकेलिसकेका छन् ।

बाबुराम खुम्चिदाको लाभ

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले त्यतिबेलाको तीनवटै निर्वाचनमा अत्यधिक मतान्तरसहित चुनाव जितेको थियो । त्यतिबेला कुल खसेको मतको ७८ प्रतिशत मत आफूहरुले पाएको माओवादी नेताहरुको दाबी थियो । २०७० सालको संविधानसभा निर्वाचनमा पनि माओवादीले तीनवटै क्षेत्रबाट जित्यो ।

संविधान जारी भएपछि नेता डा. बाबुराम भट्टराईले पार्टी छाडेर नयाँ शक्ति पार्टी गठन गरेपछि गोरखामा पनि माओवादी केन्द्रको ठूलो हिस्साले उनलाई साथ दियो । जसले गर्दा माओवादीको मत विभाजित हुन पुग्यो । अहिले नयाँ शक्ति पार्टी संघीय समाजवादी फोरम हुँदै जनता समाजवादी पार्टी बनिसकेको छ ।

यसपटक जसपाका नेताहरु माओवादी केन्द्रमै फर्कनुले पनि गोरखाको नतिजा अनपेक्षित बन्न पुगेको देखिन्छ । यसको बिपरीत डा.बाबुराम भट्टराईले पार्टी छोडेर फरक दल बनाउँदै हिडेपछि कमजोर बनेको माओवादी केन्द्र फेरि पुरानै अवस्थामा फर्किएको भन्न पनि मिल्छ । ०७४ र यसपटकको नतिजा तुलना गर्दा पनि त्यो पुष्टि हुन्छ ।

०७४ मा नयाँ शक्तिको उम्मेदवार बनेर शहीद लखन गाउँपालिकामा गोपालबाबु श्रेष्ठले १,८११ मत ल्याएका थिए । तर यसपटक कल्पना थापा २०० मतमै सीमित भइन् ।

भीमसेन थापा गाउँपालिकामा त्यसबेला चित्रकुमार श्रेष्ठले १,११४ मत ल्याएका थिए, यसपटक मिलन न्यौपाने ४५७ मतमा सीमित भए । धार्चेमा लक्ष्मण गुरुङले १,६३८ मत ल्याएका थिए भने यसपटक बिसबहादुर गुरुङले २८८ मत मात्रै पाए ।

गण्डकी गाउँपालिकामा दुर्गा गुरुङले ७३८ मत पाएकोमा यसपटक माओवादी केन्द्रकै उम्मेदवारलाई समर्थन जनायो । आरुघाटमा हुकुम खड्काले ५७१ मत पाएको थिए ।

तर आरुघाटमा यसपटक जसपाले उम्मेदवार नै उठाउन सकेन । त्यसबेला अजिरकोटमा गणेश तामाङले १२१ मत र सिरानचोकमा महेश गुरुङले १,४७५ मत पाएकोमा यसपटक दुवै पालिकामा उम्मेदवारी दर्ता भएन । बारपाकमा ०७४ मा भट्टराईका उम्मेदवार जितबहादुर घलेले १,०१६ मत ल्याएका थिए । यसपटक यहाँ उम्मेदवारी छैन ।

पालुङटारमा भने यसपटक माओवादी केन्द्रसँग मेयरका लागि प्रेमबहादुर गुरुङ प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा अशोक देवकोटाले ३,९७६ मत ल्याएका थिए । ०७४ को चुनावमा ज्ञानेन्द्र कमालले २,०८३ पाएको गोरखा नगरपालिकामा पनि यसपटक मेयरम जसपाको उम्मेदवार छैन ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?