+
+

अझै सुरु हुन सकेन धुलिखेलको मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते २०:५७

४ जेठ, काभ्रे । उम्मेदवार नभएको चिन्हको मत सदर वा बदर के गर्ने भन्ने विषयमा विवाद भएपछि अवरुद्ध भएको धुलिखेल नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा बोलाइएको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेन ।

मतगणना सुरु हुनुअघि एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने सहमति गरेको थियो । सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणा समेत भइसकेको छ । तर वडा नम्बर ९ को गणनाका क्रममा यसमै विवाद भयो ।

एमालेले उम्मेदवार नउठेको र उठेको पद दुवै पदमा मत आए बदर गर्नुपर्ने बतायो । नेपाली कांग्रेस लगायतका दलले सहमतिअनुसार हुनुपर्ने बताएपछि गणना अवरुद्ध भयो । दलहरुसँग भएको छलफलमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यालय, धुलिखेलले निर्वाचन आयोगलाई पत्र लेखेको छ । निर्देशिका विपरीत सहमति गर्नु आफ्नो गल्ती भएकाले आफूभन्दा माथिल्लो निकायको आदेश लिन पत्र लेखेको मुख्य जिल्ला न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।

धुलिखेलमा हालसम्म १२ हजार ५४० मतगणना भइसकेको छ । मेयरमा एमालेका अशोक ब्याञ्जुले ५ हजार ७४८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार ३ हजार ७०७ मत पाएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार दयासागर श्रेष्ठले भने १ हजार ७११ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?