
काठमाडौं । अहिले प्रिन्टेट लङ स्कर्ट युवतीहरुले रुचाएका छन् । स्कर्ट बिक्रेताहरुका अनुसार लङ स्कर्ट चेक प्रिन्ट, बेल्ट वाला र फ्लावर प्रिन्ट गरी तीन वटा डिजाइनमा उपलब्ध छन् । तर, गर्मी याममा फ्लावर प्रिन्ट वाला स्कर्ट झन् धेरै रुचाइएको छ ।
फ्लावर प्रिन्टमा पनि एकथरी मात्र डिजाइन छैन । यसमा चिरिएको, स्र्टेट र अलि फुर्र परेको तीन किसिमको डिजाइन बढी फेसनमा रहेको बौद्ध रामहिटीमा रहेको मिनी क्लोम फेसन वेयरकी सञ्चालिका सुनिता तामाङ बताउँछिन् ।
कटन, सिफन र सिल्क फेब्रिकमा लङ स्कर्ट उपलब्ध छन् । तर, कटनको कपडा धोएपछि घट्ने भएकोले स्लिकको फेब्रिक नै बढी बिक्री हुने गरेको उनी बताउँछन् ।
फ्लावर प्रिन्टमा पनि धेरै कलर आउँछ । तर, स्काई ब्लु, पर्पल र हल्का पहेँलो रंग बढी रुचाइएको छ । यस्तो स्कर्टको बजार मूल्य एक हजार ५० देखी १४ सय ५० सम्म छ ।
चल्तीमा ‘फ्लोरल चिकेन स्कर्ट’
त्यस्तै, पाटनमा रहेको नाउ एन्ड वाउ स्टाइलकी सञ्चालक रचना शाक्यका अनुसार अहिलेको समरमा स्कर्ट एकदमै फेसनमा छ । धेरै प्रकारका स्कर्ट बजारमा छन् । तर युवतीहरूले भने फ्लोरल प्रिन्ट स्कर्टलाई बढी रुचाएका छन् ।
‘हाम्रो पसल विशेष गरी टिनएजरहरुको लागि भएकोले घुँडा भन्दा माथिको स्कर्ट र सर्टस बढी बिक्री हुन्छ’ शाक्य भन्छिन्, ‘फ्लोरल चिकेन स्कर्ट अहिले एकदमै धेरै टे«न्डिङमा छ ।’
अघिल्लो वर्ष घुँडा भन्दा तलसम्म आउने स्कर्ट बढी चलेको थियो भने अहिले त्यही फ्लोरल प्रिन्ट स्कर्ट घुँडा भन्दा माथिको बढी रुचाइएको उनी बताउँछिन् । ‘घुँडा भन्दा माथिको स्कर्टमा पनि कसिलो र खुकुलो दुई वटा डिजाइन बढी चलेको छ’ उनी भन्छिन् ।
कटन र सिफन फेब्रिकमा स्कर्टहरू रुचाइएको उनको भनाई छ । ‘स्कर्टको लागि धेरै बिक्री हुने कलर कालो र सेतो हो’ उनी भन्छिन्, ‘अरु सबै रंगसँग मिल्ने कालो बढी रुचाइन्छ ।’ यद्यपि यसबर्ष भने सेतो रंगको स्कर्ट बढी चल्तीमा रहेको उनी बताउँछिन् । उनीकहाँ १२ सय देखि १६ सय सम्मको स्कर्टहरू उपलब्ध छन् ।
‘रिङ्कल स्कर्ट’को माग
सामाखुसीस्थित अमेजिङ ड्रेसअपकी सञ्चालिका शोभा कार्कीले पनि गर्मी यामसँग स्कर्टको धेरै माग बढेको बताइन् । उनीकहाँ फ्लोरल प्रिन्ट स्कर्टको बढी माग छ । फ्लोरल प्रिन्ट स्कर्टमा साइड कट स्कर्ट, बटन स्कर्ट, लेयर स्कर्ट, नि लेन्थ र लङ लेन्थ लगायतका डिजाइन उपलब्ध छन् । ‘रिङकल स्कर्ट प्राय आउने कटन र सिफनमा हो’ कार्की भन्छिन्, ‘तर, धेरै बिक्री हुने भने सिफन हो ।’
कटन छिटो खुम्चिने समस्या भएको कारणले सिफनको स्कर्ट नै बढी रुचाइएको उनी बताउँछिन् ।
किशोरीको प्रिय मिनीस्कर्ट
मिनी स्कर्ट पनि अहिले किशोरीहरूको रोजाइमा पर्ने गर्छ । जिन्सको मिनी स्कर्ट, चेक मिनी स्कर्ट र प्रिन्ट मिनी स्कर्ट पनि अहिले फेसनमा छ । त्यसको साथै घुँडाभन्दा थोरै तल सम्मको स्कर्ट पनि रुचाइएको छ । फ्लोरल प्रिन्ट भएको स्कर्ट उनीहरुले मन पराएका छन् ।
फ्लोरल प्रिन्टसँगै रिङ्कल डिजाइन र सादा डिजाइनको स्कर्ट पनि बजारमा भर्खरै भित्रिएको छ । कार्कीको अनुसार गुलाबी, सेतो र पर्पल रंग बढी चलेको छ । उनीकहाँ ११ सय ५० रुपैयाँदेखि १८ सय ५० सम्म मूल्य बराबरको स्कर्ट उपलब्ध छन् ।
स्कर्टको धेरै शैली बजारमा उपलब्ध भए पनि युवतीहरूको रोजाइमा भने फ्लोरल प्रिन्ट स्कर्ट पर्ने गरेको छ । यस्तो स्कर्ट सिफन र सिल्कको कपडामा उपलब्ध हुने भएकोले गर्मीमा शीतल हुन्छ र स्टाइलिस्ट पनि देखिने उनीहरुको भनाई छ ।
प्रतिक्रिया 4