+
+
नेपाली साहित्यको इतिहास :

‘प्रगति’ र नारायणप्रसाद बाँसकाेटा

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७९ जेठ ७ गते १०:००

साहित्यको विकास, उत्थान, फैलावटका लागि साहित्यिक पत्रिकाको अहम् भूमिका हुन्छ। साहित्यकारलाई प्रारम्भिक रुपमा पाठकसमक्ष चिनाउने काम पनि साहित्यिक पत्रिकाले गर्दछ। जुनसुकै मुलुकमा पनि साहित्यिक पत्रिकाले यिनै वा यस्तै भूमिका खेलेको पाइन्छ। नेपाली साहित्यको सन्दर्भमा पनि यो कुरा शतप्रतिशत लागु हुन्छ।

नेपालले प्रजातन्त्रको कलिलो किरण देख्ने क्रममै २००७ सालको क्रान्तिपछि यौटा महत्वपूर्ण साहित्यिक पत्रिकाले जन्म लियो। त्यो थियो- ‘प्रगति’। यो पत्रिकाको उल्लेख विना, यस पत्रिकामा प्रकाशित रचनाहरुको सन्दर्भ नलिइकन नेपाली साहित्यको इतिहास पूर्ण हुँदैन, खण्डित हुन्छ।

यो पत्रिका कुनै सरकारी वा निजी संस्था वा संस्थानले प्रकाशित गरेको थिएन। एक व्यक्तिको सोच, उत्साह र सदीक्षाले यो पत्रिकाको जन्म भएको थियो। ती व्यक्ति थिए– नारायणप्रसाद बाँसकाेटा।

नेपाली साहित्यको लागि यति महत्वपूर्ण योगदान दिने व्यक्तिको बारेमा खासै जानकारी कतै उपलब्ध थिएन। उनको बारेमा चर्चा–परिचर्चा पनि हुने गरेको थिएन। साथै ‘प्रगति’ पत्रिका पनि सहज उपलब्ध नहुनाले नारायणप्रसाद बाँसकाेटाका बारेमा निकै महत्वका साथ साहित्य जगतमा परिचित गराउने काम कुनै निकाय वा व्यक्तिबाट हुनसकेको थिएन। एकप्रकारले उनी छायाँमा परेका थिए।

तर हालै प्रकाशित ‘प्रगति र नारायणप्रसाद बाँसकाेटा’ कृतिले उनको योगदान, उनका साहित्यिक संलग्नता, उनको आफ्नै लेखन र अनुवाद कार्य र २००७ सालको प्रजातन्त्रोत्तर कालको नेपाली साहित्यको स्थिति, तत्कालीन साहित्यिक परिवेश, तत्कालीन समयका महत्वपूर्ण साहित्यकारहरुको बारेमा जानकारी लिने ढोका खोलिदिएको छ। यसका लागि उनकै सुपुत्र डा. कमल बाँसकाेटाको अग्रसरतामा उनी र डा. प्रा. बद्री विशाल भट्टराईको सङ्कलन तथा सम्पादनमा संलग्न भएको यथार्थले यौटा सुखद् अनुभूति दिन्छ पाठकलाई।

‘प्रगति’ पत्रिका १६ अङ्कसम्म प्रकाशित भएको थियो। तर छैटौं अङ्कको बारेमा नेपाली साहित्यमा यौटा रहस्य थियो, यसलाई देख्नेहरु नगण्य थिए। अतः यो छैटौं अङ्कको अस्तित्वको बारेमा पनि प्रश्नचिन्ह रहेको थियो। किनभने जसले देखें भनेका थिए, तिनले त्यो कहाँ देखें भनेनन्। जोसँग थियो तिनले यसलाई संभवत: सार्वजनिक गर्न चाहेनन्, दुर्लभ भएका कारणले। अतः यो छैटौं अङ्क रहस्यको कुरा भएको थियो, एक प्रकारले किंवदन्ती झैं भएको थियो।

तर यो ग्रन्थको प्रकाशनसँगै त्यो रहस्य पनि समाप्त भएको पाठकले महसुस गर्नेछन्। किनभने यस ग्रन्थमा प्रगतिका प्रकाशित १६ अङ्ककै आवरण र प्रत्येक अङ्कका विषयसूची एवम् सम्पादकीय समेत समावेश गरिएका छन्। नारायणप्रसाद बाँसकाेटा मूलत: सम्पादक नै थिए, अतः उनका प्रगतिमा प्रकाशित सम्पादकीयहरु अध्ययनका लागि सुलभ भएका छन् यही ग्रन्थका माध्यमले।

‘प्रगति’ पत्रिका शुरुमा ‘प्रगतिशील-लेखक-संघ’ को स्थापना गरी त्यसैको माध्यमले संघका सदस्यहरुको संयुक्त सम्पादनमा प्रकाशित गर्ने प्रारम्भिक योजना सफल हुन नसकेपछि नारायणप्रसाद बाँसकाेटाको एकल नाममा प्रकाशित भएको तथ्य ‘प्रगति’ पहिलो अङ्कको सम्पादकीय हेर्दा पत्तो पाइन्छ।

औपचारिक रुपमा प्रगतिका सम्पादक नारायणप्रसाद बाँसकाेटा नै भए पनि, सम्पादकमा उनको मात्र नाम मुद्रित भए पनि त्यस पत्रिकाका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत तत्कालीन समयका नेपालका स्वनामधन्य साहित्यकारहरुको समेत परोक्ष रुपमा योगदान रहेको थियो। महाकवि देवकोटा प्रगतिको आर्थिक अवस्थालाई मजबुत बनाउने सदाशयका साथ ग्राहक विस्तारका लागि पशुपतिनाथको मूलद्वारमा ग्राहक अभियानका लागि संलग्न भएका थिए। सोही सिलसिलामा विश्वमणि आदिले नेपाली भाषा रहँदैन, हिन्दीले राज गर्दछ भन्दा महाकवि देवकोटा क्रोधित भै झण्डै निकै अप्रिय घटना हुने अवस्था आइपरेको तथ्य पनि प्रगति पत्रिका र नारायणप्रसाद बाँसकाेटासँग सम्बन्धित रहेको ऐतिहासिक तथ्य हो।

नेपाली भाषाका अन्वेषक साहित्यकार कमल दीक्षितले त नारायणप्रसाद बाँसकाेटाको घर नेपाली साहित्यिकहरुका लागि एउटा तीर्थस्थल जस्तो भएको थियो भनेका थिए। हुन पनि साहित्यिक पुस्तकहरुको सङ्कलन गर्ने, अध्ययन तथा फोटो समेत खिच्ने सोख भएका दीक्षितले नारायणप्रसाद बाँसकाेटाकै घरमा महाकवि देवकोटा, केदारमान व्यथित, डा. ईश्वर बराल, भवानी भिक्षु, शङ्कर लामिछाने जस्ता साहित्यिक मनीषीहरुको फोटो उनकै घरमा खिचेका थिए।

नारायणप्रसाद बाँसकाेटाको जन्म १९७९ साल पौष शुक्ल चतुर्दशी, आइतबार भएको थियो। उनी गर्भे टुहुरो थिए। उनका पिता यज्ञमूर्तिको उनी गर्भमै छँदा देहावसान भएको थियो।

उनले २००५–६ सालतिर त्रिपुरेश्वरको कालमोचन स्कूलमा हेडमास्टरको रुपमा पनि काम गरेका थिए।

उनको घरमा कोपुण्डोलका बुद्धिजीवीहरु गङ्गाविक्रम सिजापति, कण्ठनारायण श्रेष्ठ, योगेन्द्रपुरुष ढकाल, सुरेन्द्रराज शर्मा, वासु रिसाल आदि जम्मा भएर देशको वस्तुस्थितिका बारेमा छलफल गरिन्थ्यो।

नारायणप्रसादका विविध सोख थिए। जुवा खेल्न सरकारले छूट दिएको बेला जुवाको खालमा रमाउनु, सिनेमा हेर्नु, पुस्तक पत्रिका भारत भ्रमणबाट फर्केर आउँदा किनेर ल्याउनु, तिनको अध्ययन गर्नु आदि थिए। उनी संगीतका पनि सौखिन थिए। भारतका शास्त्रीय गायकहरु के.एल. सहगल, शुभलक्ष्मीका भजनहरु, विस्मिल्लाह खानको शहनाई वादन, चाइकस्भी, बाख्, मोजार्ट, विथोभेन आदिका धुनहरु उनलाई प्रिय लाग्दथ्यो। खेलकुदमा ब्याडमिण्टन उनको छनोट थियो। एकताक उनलाई बल्छी हालेर माछा मार्ने सौख पनि थियो। त्यसका लागि उनले विदेशबाट विभिन्न किसिमका बल्छी, फिसिङ रड, नाइलनको धागो, फ्लोट जस्ता सरसामान झिकाएका थिए। त्यसैको प्रयोग गरेर उनी माछा मार्न पनि जाने गर्थे। तर यो सौख त्यति लामो समय टिकेन।

खानपानमा पनि नारायणप्रसादको निकै सौख थियो। उनी विभिन्न परिकार तयार गर्न पनि सिपालु थिए।

कोपुण्डोलमा २००८ सालमा खुलेको प्रगति पुस्तकालयमा उनले बहुमूल्य पुस्तक र पत्रिकाहरु उपहार दिएर उदारताको निकै उज्यालो दृष्टान्त दिएका थिए। त्यो पुस्तकालयका संस्थापकहरु वासु रिसाल, शरदकुमार अमात्यका साथै नारायणप्रसाद बाँसकाेटा पनि थिए।

२०१८ सालमा उनले नेपाल सरकारको सूचना विभागको डाइरेक्टर पदमा समेत रहेर राष्ट्रसेवा गरेका थिए।

अध्ययन र पठनमा रुचि भएका र महाकवि लगायत मूर्धन्य साहित्यकारहरुसँगको सहचार्यले उनको कलम पनि जुर्मुराएको थियो। उनले मौलिक साहित्यिक रचनाहरु खासै लेखेनन्। तर अनुवादमा भने उनको निकै चासो थियो। ‘प्रगति’ को पहिलो अङ्कमा उनले अनुवाद गरेको ‘उमर खैय्यामका केही रुवाई’ प्रकाशित भएको थियो। त्यसमा २५ रुवाई समावेश थिए।

उनले नियमित रुपमा ‘प्रगति’मा लेख्ने सम्पादकीय पनि एक प्रकारले सिर्जनात्मक लेखन जस्तै थियो। प्रगतिका १३ र १६ अङ्कमा सम्पादकीय छैनन्, बाँकी सबैमा उनले सम्पादकीय लेखेका थिए। उनका सम्पादकीयमा ललित निबन्धमा पाइने गम्भीर विचार हुन्थे, ती सिर्जनात्मक लेख रचना जस्तै लाग्थे ‘प्रगति’ को सन्दर्भ हटाउने हो भने। दृष्टान्तमा ‘प्रगति’को पहिलो अङ्कमा लेखिएको सम्पादकीयको यो अंशः “आज प्रत्येक मानव सुख, शान्ति, स्वतन्त्रता र समृद्धिका लागि उत्सुक छ। तर उसको मन, बुद्धि र चेतनाका अनेक बन्धन छन्, जसले मनुष्यलाई अगाडि बढ्नमा बाधा दिइरहेछः तथा उसलाई अनेकानेक मानसिक दासताहरुले जकड्याइराखेको छ। मनुष्यलाई ती बन्धन र मानसिक दासताहरुबाट मुक्त गर्ने अभिभारा साहित्य स्रष्टाहरुको हो जसले ज्ञान र चेतनाको दीयो सल्काएर मनुष्यलाई अगाडि बढ्न उज्यालो देखाएको हामीले विश्वको इतिहासमा देखेका छौं।”

यी हरफले उनको बौद्धिकता, अभिव्यक्ति क्षमता, विचारको गहिराइ र अध्ययनको विस्तारलाई सहजै महसुस गर्न सकिन्छ। ‘प्रगति’ को पाँचौं अङ्कमा प्रकाशित साहित्यको यथार्थवादी परिभाषा पनि सम्पादकीय भन्दा यौटा स्वतन्त्र बौद्धिक लेख वा निबन्ध नै प्रतीत हुन्छ।

नारायणप्रसादले गीताको अनुवाद गरेका थिए। त्यसको छपाई प्रबन्धका लागि दुर्गाप्रसाद श्रेष्ठलाई उनले नै आग्रह गरेका थिए। तर पुस्तकाकारमा उनले आफ्नो जीवनकालमा देख्न पाएनन्। यो पुस्तक उनको देहान्तको चार वर्षपछि २०५७ सालमा मात्र प्रकाशनमा आयो।

नारायणप्रसाद बर्दियाको पुरैना गाउँ पनि बस्ने गर्थे। त्यहाँ जग्गाजमिन र खेतीपाती हुनाले त्यहाँको वातावरणमा उनी रमाउँथे। काठमाडौंमा त कोपुण्डोल मूल थलो भैहाल्यो। आफ्नो जीवनको उत्तरार्धमा उनी बर्दिया र कोपुण्डोल आउजाउ गरिरहन्थे।

आफ्नो जीवनको अन्तिम समयमा पनि उनी बर्दिया नै थिए र अश्वस्थ भएपछि काठमाडौं आएका थिए सपत्नी। उनी चुरोटका अम्मली थिए। बिरामी भएको बेला समेत उनले बुहारीलाई सुटुक्क चुरोट देउ न भनी मागेको प्रसङ्ग संवेदनशील थियो। उनलाई चुरोटकै कारण जन्मेको दुसाध्य रोगले २०५३ साल भदौ ६ गते धरतीबाट चुँडेर लग्यो।

तर प्रगतिले नेपाली साहित्यको विशाल फाँटमा फुलाएको कहिल्यै नओइलाउने, कहिल्यै नझर्ने साहित्यिक फूलमा उनी जीवित छन्। प्रगतिका सम्पादकीय हरफहरुमा उनी जीवन्त छन्। उनले अनुवाद गरेका कृतिहरुमा उनी उपस्थित छन्।

‘प्रगति’ अर्थात् नारायणप्रसाद बाँसकाेटा एकअर्काका पर्यायका रुपमा जीवन्त छन्। त्यो जीवन्ततालाई यो कृति ‘प्रगति र नारायणप्रसाद बाँसकाेटा’ ले झन् जीवन्त बनाएको छ। यो कृति नारायणप्रसादको अक्षरहरुको सालिक बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?