+
+

बुटवलका मेयरले गरे पदभार ग्रहण

बुटवलमा सुकुम्बासीलाई बसोबासको आधारमा अस्थायी निस्सा बाँड्ने निर्णय सदर

टोपराज शर्मा टोपराज शर्मा
२०७९ जेठ ९ गते १३:५४

९ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले पदभार ग्रहण गरेका छन् । पाण्डेयले बुटवलमा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गरेर काम सुरु गरेका छन् ।

‘अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासका आधारमा थोरै शुल्क लिएर प्रमाणपत्र दिई वार्डबाटै नामसारीको काम शुरु गर्नेछौं’, पदभार ग्रहणपछि पाण्डेयले भने, ‘दीर्घकालीनरुपमा जग्गाधनी प्रमाणपत्र वितरणको लागि राष्ट्रिय भूमि आयोगसंग सहकार्य गर्नेछौं ।’ बुटवलमा करिब २० हजार सुकुम्बासी रहेको उपमहानगरको तथ्यांक छ ।

पाण्डेयले चौराहा–गोलपार्क सडक, तिनाउ दानव कोरिडोर, मोतीपुर औद्योगिक क्षेत्र र ज्योतिनगर पहिरो प्रभावित नागरिकका समस्या समाधान, गृहिणी र विद्यार्थी रोजगार कार्यक्रम, नयाँ अटो भिलेज र कृषि थोक बजार केन्द्र निर्माणलाई प्राथमिकतामा रोखर काम गर्ने बताए ।

पाण्डेयले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

पाण्डेयको यो जितसँगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको हो । उपमेयरमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् । १९ वडा रहेको बुटवलमा कांग्रेसले ११, एमालेले ५ तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?