+
+

पोखरामा एमालेकै मतले अघि बढेका धनराज

मेयर पदमा एकीकृत समाजवादीका उम्मेदवारले पाएको मत उपमेयरमा कांग्रेस उम्मेदवारले पाएकी छैनन्, बरु उपमेयरमा एमाले उम्मेदवारलाई मत दिनेहरुले मेयरमा एकीकृत समाजवादीका उम्मेदवार आचार्यलाई मतदान गरेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ जेठ ९ गते १५:२१

९ जेठ, पोखरा । पोखरा महानगरपालिकाको ३३ मध्ये २६ वटा वडाको मतगणना सकिएको छ र अब ७ वटा मात्र गन्न बाँकी छ ।

मत गणना अन्तिम चरणमा पुग्दा नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यले एमाले उम्मेदवार कृष्ण थापाले भन्दा चार हजार बढी मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले चार हजार मतको अग्रता लिएकी छन् र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट पछि परेकी छन् ।
सत्तारुढ गठबन्धन भर्सेज नेकपा एमाले बनेको यहाँको निर्वाचनको मत परिणाम आइरहँदा मतगणना स्थलमा रहेका दलका प्रतिनिधि दंग परेका छन् । मतदाताले उम्मेदवार छनोट गर्दा अपनाएको तरिका दलका प्रतिनिधिलाई झस्काउने खालको छ ।

मेयर पदमा एकीकृत समाजवादीका उम्मेदवारले पाएको मत उपमेयरमा कांग्रेस उम्मेदवारले पाएकी छैनन्, बरु उपमेयरमा एमाले उम्मेदवारलाई मत दिनेहरुले मेयरमा एकीकृत समाजवादीका उम्मेदवार आचार्यलाई दिएका छन् ।

उपमेयरमा एमाले उम्मेदवार अघि हुनुले पोखरामा एमालेको जनमत धेरै घटेको देखिन्न, तर एमालेकै मेयरका उम्मेदवार र वडाध्यक्षका उम्मेदवारले भोट पाइरहेका छैनन् । बरु त्यो भोट मेयरमा एकीकृत समाजवादीका आचार्यलाई गएको छ ।

मतगणनास्थलमा रहेका नेताहरुका अनुसार अहिले गणना भइरहेका वडामा मेयरमा एकीकृत समाजवादी, उपमेयर र वडाध्यक्षमा एमालेमा धेरै भोट खसेको पाइएको छ ।

गठबन्धनका उम्मेदवार धनराजले एमालेकै मत काटेर जिततर्फ अघि बढेको गठबन्धनका नेताहरु नै स्वीकार्छन् । सुरुमै धनराजले कम्तीमा १० हजार मत एमालेबाटै तानेर जित्न सक्ने दाबी गरेका थिए । कांग्रेसबाट उपमेयर उम्मेदवार कोपिला रानाभाटभन्दा धनराजले करिब एक हजार बढी मत पाएका छन् ।

अहिलेसम्म एमालेकी उम्मेदवार मञ्जुदेवीले भन्दा मेयरका उम्मेदवार थापाले ६ हजार ३ सय २७ मत कम ल्याएका छन् । त्यो धनराजले एमालेबाट तानेको विश्लेषण एमाले नेताहरुको भनाइ छ । वडा तहमा खसेको मतको केही उदाहरणले पनि त्यसलाई पुष्टि गर्छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पोखरा वडा नम्बर १३ मा लेखबहादुर तामाङ (दर्शन लामा) ले ९९८ मतान्तरले चुनाव जितेका थिए । तामाङले प्यानलै जितेको वडामा अहिले नेपाली कांग्रेसबाट किरण बराल वडाध्यक्ष जिते भने वडा सदस्य पनि सबै कांग्रेसले जित्यो ।

यो वडामा अघिल्लो निर्वाचनमा एमालेका मेयरका उम्मेदवारलाई दुई हजार ४०० मत दिएको यो वडाले यसपालि एमालेलाई भन्दा एकीकृत समाजवादीका उम्मेदवारलाई बढी मत दियो ।

एमालेका उम्मेदवार कृष्ण थापाले दुई हजार १६९ मत पाए भने एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले दुई हजार २८२ मत पाए । तर, यही वडाबाट उपप्रमुखमा भने एमाले उम्मेदवार मञ्जु गुरुङले बढी मत पाएकी छन् ।

मञ्जुले दुई हजार ४९० मत पाएकी छन् । उपमेयरमा एकीकृत समाजवादीसँग तालमेलमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले कम मत पाएकी छन् ।

अघिल्लो निर्वाचनमा पोखरा –२६ को वडाध्यक्षमा एमालेका नारायण बराल र वडा सदस्य पनि सबै एमालेकै उम्मेदवार निर्वाचित भएका थिए । तर यस वर्ष ठूलो मतान्तरसहित वडाध्यक्ष र वडा सदस्यमा कांग्रेसको प्यानलै निर्वाचित भयो ।

अघिल्लो पटक करिब ६ सय मतान्तरले वडाध्यक्ष जितेको यो वडामा अहिले १ हजारभन्दा बढी मतान्तरले कांग्रेसले चुनाव जित्यो । यो वडाबाट पनि मेयर पदमा भने एमाले उम्मेदवार थापाले भन्दा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले करिब ५०० मत बढी पाएका छन् ।

अघिल्लो निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको पोखरा वडा नम्बर १४ मा अहिले नेपाली कांग्रेसले भारी मतान्तरले जितेको छ । नेपाली कांग्रेसका वडाध्यक्ष वोधराज कार्कीले झण्डै दोब्बर मतान्तरले जितेको वडामा गठबन्धनका मेयर, उपमेयरले पनि राम्रै मत ल्याएका छन् । तर, एमाले उपमेयरको उम्मेदवारभन्दा मेयरका उम्मेदवार थापाले कम मत ल्याएका छन् ।

पोखरा वडा नम्बर ८ मा वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । तर, एमालेबाट मेयरका उम्मेदवार थापाले वडाध्यक्षले भन्दा कम मत पाएका छन् । मेयरका उम्मेदवार थापाले भन्दा उपमेयर मञ्जुदेवी गुरुङले धेरै मत पाएकी छन् । वडा नम्बर ८ बाट मञ्जुदेवीले १ हजार ९७५ मत ल्याउँदा प्रमुख थापाले १ हजार १६३९ मत पाए । थापाले भन्दा एकीकृत समाजवादीका धनराज आचार्यले बढी मत पाए ।

थापाले आफ्नै वडामा पनि उपमेयरमा भन्दा कम मत पाए । अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नम्बर १६ यसपालि कांग्रेसले जितेको छ । मेयरका उम्मेदवार थापाले उपमेयर उपमेयर मञ्जुदेवी गुरुङले भन्दा कम मत पाएका छन् ।

अघिल्लो पटक एमालेले जितेको वडा नम्बर २५ मा पनि नेपाली कांग्रेसले बाजी मार्‍यो भने मेयरमा पनि थापाले भन्दा आचार्यले बढी मत पाए । एमालेले वडाध्यक्ष जितेको वडा नम्बर ७ मा पनि एकीकृत समाजवादीका उम्मेदवार आचार्यले बढी मत पाए ।

पोखरा वडा नम्बर १ को वडाध्यक्ष अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि एमालेले जित्यो । तर मेयरमा थापाले भन्दा आचार्यले बढी मत पाए । एमालेको गढ मानिएको पोखरा–५ मा यसपटक थापालाई धनराजलाई भन्दा जम्मा २ सय मत बढी गयो ।

आफ्नो घर रहेको वडा नम्बर ३३ मा धनराजले मतान्तर बढाउँदै लगिरहेका छन् । वडा नम्बर १७, १८, १९, २१, ३१, ३२, ३३ लगायतका वडामा मेयरमा धनराजले अग्रता लिइरहेका छन् भने उपमेयरमा मञ्जुदेवीलाई बढी मत आएको छ । धनराजले एमालेबाट करिब १७÷१८ प्रतिशतले मत तानिरहेको एमाले निर्वाचन परिचालन कमिटीका संयोजक तथा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने स्वीकार्छन् ।

‘५० मतको मुठो गन्दा २०/२२ मतसम्म नेकपा एमालेको अन्यत्र गएको देखिन्छ । यो भनेको ठूलो संख्या हो,’ न्यौपानेले भने, ‘अहिले खसिरहेको मतको ट्रेन्ड हेर्दा १६/१७ हजार एमालेलाई हाल्नुपर्ने मत अन्यत्र जाने देखिन्छ । यो मत एकदमै पोलिटिकल माहोल आएर अन्यत्र गएको मत होइन ।’

०७४ सालको निर्वाचनमा एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले भन्दा १४ हजार मतान्तरले जितेका थिए । तर अहिले एमालेका मेयरका उम्मेदवार चार हजारदेखि ४५ सय मतले पछि पर्ने एमाले नेताहरुकै अनुमान छ ।

गठबन्धनभित्रको अनुशासन र एमालेकै मत तानेर धनराज पोखरामा उदाएको कास्की कांग्रेस सचिव भानु ढकालले बताए । ‘कांग्रेसले अनुशासनपूर्वक गठबन्धनका उम्मेदवार धनराजलाई मत हाल्यो । धनराजले एमालेबाट पनि उत्तिकै मत तानेर जित्ने पक्काजस्तै बन्यो,’ ढकालले भने ।

कांग्रेसले वडाध्यक्ष जितेके वडाबाट धनराजले ह्वात्तै अग्रता लिएका छन् भने एमालेले वडाध्यक्ष जितेको वडाबाट पनि उनले एमाले उम्मेदवार थापाले जति नै मत पाइरहेका छन् ।

अघिल्लो चुनावमा ११ वटा वडाको अध्यक्ष जितेको नेपाली कांग्रेस एमालेको आकारमा र एमाले अघिल्लो चुनावको कांग्रेसभन्दा पनि सानो आकारमा खुम्चिने हो कि भन्ने चिन्ता एमालेको छ ।

नेकपा एमालेभित्र एउटा समूह कृष्ण थापालाई हराउन र धनराजलाई जिताउन लागेको आरोप लागेको छ । कास्कीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्रतिष्ठाको लडाईं छ । अहिले त्यो लडाईं निषेध र प्रतिशोधमै परिणत भइरहेको एमालेजननै बताउँछन् ।

सिक्री चोरेको आरोप लागेको भिडियो भाइरल भएपछि पृथ्वीसुब्बा समूहका नेता दीपक पौडेलको अन्तिम समयमा टिकट खोसिएको थियो, टिकट खोसियो र खगराज पक्षका पूर्व मेयर थापाले पाए ।

त्यो भिडियो भाइरल बनाउन खगराज समूह नै लागेको आरोप लाग्यो । केही दिनअघि अर्को अडियो सार्वजनिक भयो र त्यसले फेरि कास्की एमालेमा तरंग ल्यायो । एमालेका उम्मेदवार थापाले मत कम ल्याइरहेका बेला सार्वजनिक भएको अडियोमा खगराज समूहका थापालाई हराउन पृथ्वीसुब्बा लगायत उनको समूहका नेताहरु सांसद राजीव पहारी, केन्द्रीय सदस्य भीम कार्की, जगत विश्वकर्मा, प्रदेशका उपसचिव रश्मी आचार्य, युवा संघका नेता माधव बास्तोला लगायत नेताहरु लागेको उल्लेख छ । त्यो अडियो सांसद पहारीसँगै निकट विद्यार्थी नेता मनोज पहारी र धनराज आचार्यका भतिज पर्ने प्रशान्त आचार्यबीचको हो ।

त्यस्तै युवा संघका केन्द्रीय सदस्य महेश अर्यालले कांग्रेस नेता दीपक मल्लसँग थापालाई हराउन पहारीजस्तै पार्टीको ठूलो पंक्ति लागेको भनेको अडियो सार्वजनिक भएको छ । खगराज समूहले पृथ्वीसुब्बा समूहका नेताहरु अडियोमा सुनिएजस्तै थापालाई हराउन लागेको आरोप लगाइरहेको छ भने पृथ्वीसुब्बा समूहले ‘अल्लारे केटाहरु’बीचको कुराको पछि लागेर नेताहरुमाथि प्रहार गर्न खोजिएको बताएका छन् ।

एमालेमा रहेका पूर्व सहकर्मीलाई धनराजले साथमा लिएको र भोलि एउटै पार्टी हुने भन्दै भोट मागेको पनि पोखरामा चर्चा छ । पूर्व मालेका सहकर्मीले धनराजलाई जिताउन लागेको पनि एकथरिको मत छ ।

देशैभरि नयाँ अनुहार खोज्ने ट्रेन्ड चलिरहेका बेला पोखरामा कृष्ण थापालाई भन्दा धनराजलाई मतदाताले मन पराएको देखिन्छ । थापा २०५४ को मेयर हुन् भने सांसदबाट राजीनामा दिएर मेयरका उम्मेदवार बनेका थिए । ‘उनी केही विवादित पनि थिए,’ एमालेका एक नेता भन्छन्, ‘जसको फाइदा धनराजले लिए ।’

स्थानीय निर्वाचनमा गठबन्धन हुने पूर्व संकेत बुझेरै धनराजले पोखराको मेयर बन्ने तयारी थालेका थिए । नेकपा विवादमा सर्वोच्च अदालतले एमाले–माओवादी अलग गराइदिएपछि धनराजकै नेतृत्वमा माधव नेपाल समूहको समानान्तर कमिटी गठन भएको थियो । पछि एकीकृत समाजवादी पार्टी दर्तापछि समानान्तर समिति नै एकीकृत समाजवादीको जिल्ला समिति बन्यो ।

२०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बनेका आचार्य त्यसपछि भने राजनीतिमा खासै सक्रिय थिएनन् । नेकपा विवादपछि राजनीतिमा फर्किएका धनराजले मेयर बन्ने लक्ष्यकै साथ संगठन विस्तार गरेका थिए ।

गठबन्धनभित्र पोखराको नेतृत्व एकीकृत समाजवादीले नै पाउनुपर्ने माधव नेपालको अडान थियो । अन्ततः गठबन्धनमा एकीकृत समाजवादीले नै पोखराको मेयर पाउने सहमति बन्यो । र धनराजले एमालेकै मत लिएर पोखरामा एमालेको बिरासत ढलाउने देखिएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?