+
+

आतिथ्य र भव्यताले लोभ्याउने काठमाडौं बाहिरका १० शानदार होटल

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ जेठ ९ गते १७:४८

काठमाडौं । वर्षमा एकपटक घर छाड्ने, परिवार वा साथीभाइको साथ लाग्ने र उन्मुक्त घुमफिर गर्ने प्रवृत्ति क्रमशः विकास हुँदैछ, नेपाली समाजमा । घुम्नका लागि कहाँ जाने ? विकल्प कति छ कति ।

तराईका सुरम्य फाँटहरुमा रमाउन सकिन्छ, हिमाली जनजीवन नियाल्न सकिन्छ । पहाडका उकाली-ओरालीमा पैदलयात्रा पनि गर्न सकिन्छ । अनि पूर्वदेखि पश्चिमसम्मका अनेकथरी स्वाद चाख्न सकिन्छ । जहाँ पुगेपनि नयाँपन अनुभूत गर्न सकिन्छ । घुमफिरको आनन्द त्यही न हो ।

घुमफिर संस्कृति मौलाएसँगै सुविधायुक्त बसोबास, स्वादिष्ट खानपान, आत्मीय आतिथ्यसहितका होटल-लजहरु सञ्चालनमा छन् । अनलाइनखबरले काठमाडौं बाहिरका त्यस्तै १० होटल सूचीकृत गरेको छ, जसको आतिथ्य र भव्यताले आगन्तुकलाई आकर्षित गरिरहन्छ ।

टाइगर प्यालेस रिसोर्ट (लुम्बिनी)

रुपन्देहीको भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्ट काठमाडौं बाहिरको शानदार होटलमध्ये एक हो । १०२ वटा रुम र पाँचवटा रेस्टुरेन्ट भएको यो होटल २२ एक्कड जमिनमा फैलिएको छ । यो रिसोर्टमा नेपालकै ठूलो स्विमिङ पुल छ  । अरू सेवा सुविधाको कुरा गर्ने हो भने स्पा, स्टिम सोना र जिमको पनि यहाँ व्यवस्था छ ।

खर्चको कुरा गर्दा १२ हजार रुपैयाँमा दुई जनाको लागि एक रात एक दिनको लागि रुम र ब्रेकफास्टको व्यवस्था छ । लुम्बिनीको नजिक भएको हुनाले यो रिपोर्ट विदेशी पर्यटकहरूको रोजाइमा पनि पर्ने गरेको छ ।

होटल द किङ्सबरी (झापा)

विर्तामोडस्थित होटल द किङ्सबरी २०७८ भदौबाट सञ्चालनमा आएको हो । यो झापाको पहिलो र प्रदेश नम्बर १ को दोस्रो पाँचतारे होटल हो । भद्रपुर विमानस्थलबाट ३० मिनेटको सडकयात्रापछि यो होटलमा पुग्न सकिन्छ ।

पाहुनाहरुको सुविधाको लागि होटलमा ठूलो स्विमिङ पुल, एउटा भेज र एउटा अटो डाइन गरी दुईवटा रेस्टुरेन्ट र २ वटा बार उपलब्ध छन् ।

एक जनाको लागि एक रात र एक दिनको ६ हजार ६ सयदेखि १० हजार ६ सय रुपैयाँसम्मको रुम र ब्रेकफास्टको व्यवस्था होटलमा रहेको छ । जोडीका लागि भने ६ हजार ६ सयमा १ हजार रुपैयाँ थप गरेपछि रुम र ब्रेकफास्टको व्यवस्था छ ।

फिटनेस सेन्टर, स्पा, कन्फ्रेन्स हल, मिटिङ हल लगायतका सुविधा रहेको यस होटलको सेवा सुविधालाई स्वदेशी र विदेशी पाहुनाले निकै रुचाएका छन् ।

होटल मिस्टिक माउन्टेन (नगरकोट)

काठमाडौंबाट नजिकको पर्यटकीय स्थल नगरकोटमा रहेको होटल मिस्टिक माउन्टेन पनि शानदार होटलमा पर्छ ।

२०७३ सालमा स्थापना भएको होटल मिस्टिक नगरकोटको एउटा मात्र चारतारे होटल हो । बालबालिका मैत्री यो होटल वास्तुकला, संरचनाको हिसाबले पनि लोकप्रिय छ । ७२ वटा रुम भएको होटलमा कफी डिभाइन क्याफे, पुल बार रेस्टुरेन्ट र बार गरी तीन रेस्टुरेन्ट छन् ।

यो होटलले आफ्ना पाहुनालाई रक क्लाइम्बिङ, बास्केट बल, टेबल टेनिस, योगा लगायतका गतिविधिमा पनि संलग्न गराउने गरेको छ । होटलमा २० फिटको बुद्धको मूर्ति पनि स्थापना गरिएको छ । मिस्टीक माउन्टेनमा एक दिनको लागि १२ हजार ५ सय रुपैयाँमा डिलक्स रुम, ब्रेकफास्ट र जोडीका लागि बेलुकाको खाना उपलब्ध गराइन्छ ।

होटल ह्यारिसन प्यालेस (विराटनगर)

विराटनगरको सहरी क्षेत्रमै रहेको भए पनि कोलाहलबाट अलि भित्र रहेको होटल ह्यारिसन प्यालेसन बिशुद्ध शाकाहारी होटल हो । चारतारे यो होटल विशेषगरी मारवाडी समुदाय र शाकाहारीहरूको बढी रोजाइमा पर्ने गरेको छ ।

होटलमा ५० वटा रुम, जिम हल, रेस्टुरेन्ट, बार, कफी सप, र २ वटा ठूलो हल छन् । सात वर्षअघि स्थापना भएको यो होटलमा कम्तीमा ४ हजार ५०० रुपैयाँमा एक जनाको लागि रुम र ब्रेकफस्ट उपलब्ध हुन्छ । सबैभन्दा महँगो रुम र ब्रेकफास्टको ५० हजार रुपैयाँसम्म पर्न आउँछ ।

बाराही जंगल लज (चितवन)

काठमाडौं बाहिरका शानदार होटल-रिसोर्टमा छुट्टाउनै नहुने नाम चितवनस्थित बाराही जंगल लज पनि हो । पश्चिम चितवनको अंग्रौलीमा रहेको बाराही जंगल लज २०६९ सालदेखि सञ्चालनमा आएको हो । २० बिगाहा क्षेत्रफलमा फैलिएको यो लजमा ३४ वटा रुम छन् ।

सबै रुमहरू थारु स्वटाइलको हन्ट जसरी तयार गरिएको छ । स्थानीय डिजाइनमा रहेको यो लजका हन्टहरु राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यो इको सर्टिफाइड लज हो । यस लजमा कुनै पनि प्लास्टिकको सामान प्रयोग गर्न पाइँदैन ।

यहाँ एक दिन एक रात र बिहानको ब्रेकफास्टसको खर्च एक जोडीका लागि १२ हजार ५०० रुपैयाँ पर्छ ।

प्याकेजमा दुई रात तीन दिन बस्दा नेपाली जोडीलाई ५६ हजार रुपैयाँ पर्न आउँछ । यो प्याकेजमा बिहान बेलुकाको सबै खाना, जिप सफारी चार घण्टा, बोट सफारी सकेपछि ‘सनडाउनर’को व्यवस्था गरिन्छ । सनडाउनर भनेको सूर्य अस्ताएको हेर्दै त्यहाँ लाइभ खाना दिइन्छ ।

साँझको समयमा यहाँ थारु सांस्कृतिक कार्यक्रम पनि हुन्छ । लकडाउनपछि कुमाल कल्चरल डान्स पनि थपिएको छ ।

हिमालयन फ्रन्ट होटल बाई केजीएच (पोखरा)

पोखराको सराङकोटमा रहेको हिमालयन फ्रन्ट होटल बाई केजीएच पोखरा पनि काठमाडौं बाहिरको शानदार होटलमा पर्छ । डिलक्स र सुपरडिलक्स गरी ५० वटा रुम भएको यो होटलमा नेपाली जोडीका लागि ९ हजार ५०० मा रुम र ब्रेकफास्टको सुविधा उपलब्ध गराइएको छ । सुपर डिलक्सको रुम र ब्रेकफास्टको लागि भने १२ हजार रुपैयाँ पर्न जान्छ । ५० जना र २० जना अट्ने दुईवटा कन्फ्रेन्स हलको पनि व्यवस्था छ ।

हिमाल र सूर्योदयको दृश्यका लागि प्रख्यात सराङकोट क्षेत्रमा रहेकाले यो होटलको माथिल्लो तल्लाबाट यसको अनुभव लिन सकिन्छ । यहाँबाट माछापुच्छ«े हिमालको सुन्दर दृश्य हेर्न सकिन्छ ।

होटल डिभोटी (धनगढी)

२०६६ सालमा स्थापना भएको होटल डिभोटी सुदूरपश्चिमको प्रमुख सहर धनगढीका उत्कृष्ट होटलमध्येमा पर्छ । ४१ वटा रुम, चारवटा कन्र्फेन्स हल र एक रेस्टुरेन्ट भएको यो होटलमा भएको साजसज्जाले पनि पाहुनाको मन लोभ्याउने गर्छ । होटलमा रहेको ठूलो सुन्दर बगैंचाले पनि पाहुनालाई आकर्षित गर्छ ।

होटलमा बाटो र पार्किङको पनि राम्रो व्यवस्था रहेकाले यहाँ बस्नका लागि राजनीतिक दलका नेता, सेलिब्रिटीलगायत पनि पुग्ने गरेका छन् । धनगढीका स्थानीयवासीका लागि भने होटलले विशेष प्याकेजको समेत व्यवस्था गरेको छ ।

क्लार्क रिसोर्ट (वीरगञ्ज)

२०७७ सालमा स्थापना भएको क्लार्क रिसोर्ट पनि काठमाडौं बाहिरको चारतारे होटल हो । ६० वटा रुमको रहेको यो रिसोर्टमा इन्डोर र आउटडोर ब्यांक्वेटको पनि व्यवस्था छ ।

रेस्टुरेन्ट, बार, क्यासिनो, इन रुम डाइनिङ, स्विमिङ पुल, जिम, स्पा र खेल मैदान लगायतका सुविधा क्लार्क रिसोर्टमा उपलब्ध छन् ।

रिसोर्टमा अग्र्यानिक तरकारी र फलफूल फार्म पनि छ । यहाँको स्वादिलो खाना, रमाइलो वातावरण र आकर्षक सजावटका कारण भारतीयहरुको रोजाइमा पनि यो रिसोर्ट परेको छ ।

रिसोर्टमा एक जनाको लागि एउटा रुम र ब्रेकफास्टको खर्च ६ हजारदेखि १४ हजार रुपैयाँसम्म पर्छ । जोडीको लागि १ हजार रुपैयाँ थप्नुपर्ने हुन्छ ।

होटल स्टारलाइट (नेपालगञ्ज)

नेपालगञ्ज विमानस्थलबाट तीन किलोमिटरको दूरीमा रहेको होटल स्टारलाइट २९७८ सालमा खुलेको हो । ६६ वटा रुम रहेको होटलमा स्विमिङ पुल, स्पा, जिम, रुफ टप गार्डेन रेस्टुरेन्ट र ठूलो पार्किङ एरिया लगायतका सुविधा उपलब्ध छन् ।

रुफटप रेस्टुरेन्टमा बसेर नेपालगञ्ज सहरको अवलोकन गर्न सकिन्छ ।

होटल स्टारलाइटमा एक दिनको लागि रुम र ब्रेकफास्टको खर्च ४ हजारदेखि ८ हजार रुपैयाँसम्म लाग्छ । जोडीको लाागि भने एक हजार थप गर्नुपर्ने हुन्छ ।

माउन्टेन लजेज अफ नेपाल (सोलुखुम्बु)

शेर्पा हस्पिटालिटी ग्रुप अन्तर्गत यति माउन्टेन होमको नाम परिवर्तन गरेर माउन्टेन लजेज अफ नेपाल राखिएको हो । काठमाडौं बाहिर हिमाली भेगमा रहेको यो होटल २०४८ सालबाट सञ्चालनमा आएको हो ।

माउन्टेन लजले आन्तरिक उडान बुकिङ, ग्राउन्ड ट्रान्सफर, पदयात्रा लगायतका सेवा प्रदान गर्दछ । सगरमाथा र अन्य हिमालसम्म पुग्न सजिलो, सुरक्षित आवास र खानाको व्यवस्था पनि यसले गर्दै आएको छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?