+
+

लण्डनमा मन्त्री कार्कीको सम्बोधनः बुद्ध जन्मस्थानको भ्रम अन्त्य भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते ७:४२

लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति र मन्तव्यले बुद्ध जन्मस्थलबारेका भ्रम अन्त्य भएको बताएका हुन् ।

बुद्ध पूर्णिमाका दिन भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आएर पूजा र ध्यान गरि बुद्ध नेपाल मै जन्मिएको सन्देश दिनुलाई मन्त्री कार्कीले अन्त्यहीन लडाइँ जितेको रुपमा उल्लेख गरे । ‘यसले पनि विश्वका कतिपय पर्यटकहरुमा बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम हटेको छ,’ मन्त्री कार्कीले भने, ‘यस पटकको बुद्ध जयन्ती केवल जन्म जयन्तीको निरन्तरता मात्र होइन, विश्वमै हामी विजय उत्सव पनि मनाइरहेका छौं ।’

मन्त्री कार्कीले विदेशमा बसेका नेपालीहरुलाई महिनाको एक दिन देशका लागि बुद्धको दूत बनिदिन पनि आग्रह गरे । मन्त्री कार्कीले भने, ‘हामीले प्रधानमन्त्रीको शारीरिक कमजोरीको कुरा धेरै लेख्यौं । स्थानीय निर्वाचनबारे लेख्यौं तर देशले विजय प्राप्त गरेको खुशीयाली साट्न बिर्सियौं । प्रधानमन्त्रीको सकारात्मक सफलताबारे अनभिज्ञ रहनु र देशले विजय गरेको कुरा महत्व नदिनु बिडम्बना रहयो ।’

बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा लन्डनको ट्राफल्गर स्क्वायरमा गरेको बुद्धजयन्ती कार्यक्रमको यो पाँचौं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?