१० जेठ, काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रश्तावित राजदूतहरुको नाम अनुमोदन गरेको थियो ।
राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले राजदूतमा प्रस्तावित मिश्र र रायबिरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत नाम अनुमोदन गरेको बताए ।
‘हामीले लामो समयदेखि २० जना प्रस्तावित राजदूतहरुको सुनुवाइ गरिरहेका थियौं । समितिले दिनरात नभनी काम गरेको छ । उजुरीको कारणले दुई जनाको अनुमोदन गर्न बाँकी थियो । उजुरी सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर, पत्राचार गरेर, अध्ययन गरेर, आज त्यसमा विस्तृत रुपबाट छलफल गरेका छौं । छलफल गर्दा उजुरीमा कुनै औचित्य नदेखिएकोले आयोगको पत्राचारबाट पनि हामीले आज डा. रामस्वार्थ राय र वासुदेव मिश्रलाई श्रीलंका र डेनमार्कको लागि प्रश्तावित राजदुतलाई सर्वसम्मतले अनुमोदन गरेका छौं’ उनले भने ।
उनीहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि अब राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
प्रतिक्रिया 4