+
+

सलमान खानको काठमाडौं कन्सर्ट अब कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १७:२९
बलिउड अभिनेता सलमान खान । फाइल तस्वीर

काठमाडौं । शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको सांगीतिक कार्यक्रम अन्तिम समयमा स्थगित भयो । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले कन्सर्ट रोकिनुमा स्थानीय चुनावले टिकट बिक्रीमा परेको प्रभाव र वर्षालाई कारण रहेको बतायो ।

‘द ब्याङ रिलोडेड टुर’ भनिएको कन्सर्टकी एक सदस्य तथा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश जान अनुमति नमिलेको सन्दर्भलाई पनि कारण बताइएको छ ।

ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार ५ देखि ६ लाख रुपैयाँसम्मको टिकट पनि बिक्री भइसकेको थियो । कार्यक्रम रोकिएपछि प्रभु पे एपबाट काटिएका सबै टिकट फिर्ता गरिएको उनले बताए ।

ध्वनि र प्रकाश संयोजनका उपकरण बोकेका झण्डै ३० ट्रक भारतबाट समेत आइसकेका थिए । कार्यक्रम रोकिएपछि ती ट्रक पनि फिर्ता भइसकेका छन् । कलाकारको पारिश्रमिक र ब्यवस्थापनमा मात्र ८ करोड रुपैयाँ खर्च भइसकेको थियो ।

अब कन्सर्ट कहिले हुन्छ ?

दोस्रोपटक पनि अन्तिम समयमा कार्यक्रम रोकिएपछि अहिले सबैको प्रश्न छ, अब सलमान खानको कन्सर्ट कहिले हुन्छ ? वा सलमानको कन्सर्ट कहिल्यै नेपालमा नहुने हो ?

आयोजकले कन्सर्ट रद्द नभएर पोस्टपोन्ड मात्र भएको बताएको छ । अनलाइनखबरसँग कुरा गर्दै ओडीसीका प्रबन्ध निर्देशक गुरुङले अनुकूल समय मिलाएर चाँडै कन्सर्टको नयाँ मिति घोषणा हुने बताए ।

‘हामीमाथि निकै ठूलो चुनौती छ । मिलेसम्म तीन-चार सातामै कन्सर्ट गर्छौं । नभए दशैंअघि कन्सर्ट गर्ने लक्ष्य छ,’ गुरुङले भने, ‘हाम्रो व्यक्तिगत खर्च पनि भइसकेको थियो, तर वर्षा र इलेक्सनका कारण हामीलाई कन्सर्ट गर्न निकै कठिनाइ भयो ।’

कुनै पनि हालतमा दशैंअघि कन्सर्ट गर्नुपर्ने चुनौती आफूहरुसँग रहेको उनले बताए । कन्सर्ट आयोजनामा पर्यटन मन्त्रालय र पर्यटनमन्त्री प्रेमबहादुर आलेले सहयोग गरेको भन्दै उनले सलमान खान र सोहेल खानसँग कुरा गर्न मन्त्रीले समन्वय गरेको बताए ।

‘पर्यटन मन्त्रालयबाट ठूलो सहयोग मिल्यो । पर्यटन प्रवद्र्धनका लागि मन्त्रालय र पर्यटनमन्त्री प्रेम आलेले ठूलो सहयोेग गर्नुभएको हो । उहाँले सोहेल र सलमानसँग समन्वय गर्नुभयो । मन्त्रीज्यूको साहसप्रति हामी आभारी छौं,’ अनलाइनखबरसँग गुरुङले भने ।

मन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका थिए भने सोहेलसँग पत्रकार सम्मेलनमै उपस्थित थिए । मन्त्री आलेले सलमानलाई सगरमाथामा ब्रेकफास्ट र पर्वतीय उडानको निम्तो समेत दिएका थिए ।

केही सातामै कन्सर्टको नयाँ मिति घोषणा गर्नुपर्ने भएपछि ओडीसीको एक टोली केही दिनमै सलमानलाई भेट्न मुम्बई जाने तयारीमा छ । अब वर्षा नभएको र रंगशाला खाली भएको समय पारेर भारतबाटै कन्सर्टको मिति तय गरिने जनाइएको छ ।

ओडीसीले यसअघि क्यानडेली पपस्टार ब्रायन एडम्सको सफल कन्सर्ट दशरथ रंगशालामा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?