+
+

१५ वर्षीया लेगस्पिनर, जो बिग ब्यास खेल्न चाहन्छिन्

नमिता दाहाल नमिता दाहाल
२०७९ जेठ १३ गते ११:२५

१३ जेठ, काठमाडौं । अघिल्लो साता नेपाली महिला क्रिकेट टिमले घरेलु मैदानमा ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्यो । सुरुवाती तीन खेल हारेपछि पाँच खेलको शृंखला नेपालले गुमायो ।

शृंखलामा हार निश्चित भएपछिका दुई खेल हिरन्मई रायका लागि सपना पूरा गर्ने क्षण बने । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा झापाकी यी लेगस्पिनरले १५ वर्षको उमेरमै डेब्यूको अवसर पाइन् ।

पहिलो खेलमै २ विकेट लिएर प्लेयर अफ द म्याच बनेकी हिरन्मई रायले महिला क्रिकेटमा प्रचुर सम्भावना पेश गरेकी छिन् ।

गत चैतमा सुदूरपश्चिममा भएको यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ टिमको प्रतिनिधित्व गरेपछि हिरन्मई सबैको नजरमा परेकी हुन् ।

यू–१९ टी–२० महिला विश्वकप छनोटको प्रशिक्षणअघि युगाण्डासँगको शृंखलाका लागि सिनियर टिममा छानिएकी उनले सुरुका तीन खेलमा अवसर पाइनन् । तर जतिबेला मौका पाइन्, उनले आफ्नो क्षमता देखाइन् । शृंखलाका दुई खेलमा उनले तीन विकेट लिइन् ।

झापा दमककी हिरन्मईले क्रिकेट खेल्न थालेको दुई वर्षमात्र भयो । झापाको प्याट्रियोटिक क्रिकेट एकेडेमीमा पुगेर बल समाउन सिकेकी उनले क्रिकेटलाई नै करिअरका रुपमा विकास गर्ने निर्णय लिन धेरै सोच्नुपरेन ।

‘क्रिकेट मेरो लागि सोख थियो । तर, यसबारे पूर्णतः अन्जान थिएँ । हेर्दा रमाइलो लाग्ने भएकाले सिकौं सिकौं जस्तो हुन्थ्यो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन् ।

दुई वर्षको बीचमा उनी क्रिकेटमा यसरी होमिएकी छन् कि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छानिएपछि एसईईको परीक्षासमेत त्यागिन् । अञ्जान रहेको क्रिकेट खेल उनको लागि आफू चिनिने माध्यम बनेको छ ।

हिरन्मईकी जुम्ल्याहा बहिनी हैमवती पनि क्रिकेट खेलिरहेकी छन् । तीव्र बलिङ गर्ने हैमवतीले प्याट्रियोटिक एकेडेमीमै खेलिरहेकी छन् । ‘म पनि पहिला फाष्ट बलिङ गर्थेँ । तर, स्पिन गर्न थालेपछि थाहा भयो, मेरा लागि उपयुक्त बलिङ शैली यही रहेछ,’ हिरन्मई भन्छिन् ।

हिरन्मई र हैमवती दुवै दिदी बहिनीले यस पटक धनगढीमा भएको मुख्यमन्त्री कप यू–१९ राष्ट्रिय महिला प्रतियोगितामा प्रदेश नम्बर एकबाट खेलेका थिए । प्राय खेलमा हिरन्मइ पहिलो रोजाइमा नै रहिन् ।

झापाको जिल्ला क्रिकेट खेल्दै गर्दा प्रदेश नम्बर एकका प्रशिक्षक रहेका वीरु क्षेष्ठले उनलाई प्रदेशको टिममा समावेश गरे । प्रदेशबाट खेल्दैगर्दा उनका लागि राष्ट्रिय टिमको प्रतिनिधित्वमै मुख्य उद्देश्य थियो ।

उनको परिवारले पनि उनलाई क्रिकेटमा लाग्न निकै सहयोग ग¥यो मानसिक रुपमा होस् या आर्थिक रुपमा परिवारले हिरन्मईलाई सधैं साथ र सहयोग गरिरहेको छ ।

उनलाई खेलाडी बन्छु भन्ने त थियो तर क्रिकेट खेल्न नपाइने हो कि भन्ने आशंका पनि त्यसैले आर्मी बनेर भए पनि देशकै सेवामा खटिन्छु भन्ने उनको दोश्रो योजना थियो । ‘खेलाडी नबनेको भए आर्मी बन्छु भन्ने सोच थियो तर अब खेलमा लागें अब यसमै मिहिनेत गर्छु,’ उनी आत्मविश्वासी छिन् ।

राष्ट्रिय टिममा डेब्युको क्षण

युगाण्डाविरुद्धको सुरुवाती तीन खेल हार्दै शृंखला गुमाएपछि चौथो खेलमा राष्ट्रिय टिमका अधिकांश खेलाडीमा त्यति उत्साह थिएन ।

हिरन्मईका लागि भने त्यो एउटा अविष्मरणीय क्षण थियो । सिनियर खेलाडी सीता रानामगरले उनलाई डेब्यु क्याप दिएकी थिइन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टिममा डेब्यु गर्ने उनी २४ औं खेलाडी भइन् ।

‘सीता दिदीबाट डेब्यू क्याप लिँदा आफैंमा निकै गर्व महसुस भयो,’ उनी त्यस क्षण स्मरण गर्छिन्, ‘सोचेकै थिइन् यति छिटो राष्ट्रिय टिममा डेब्यु पाउँछु भनेर ।’

पूर्व उपकप्तान सीता आफैं पनि स्पिन अलराउन्डर हुन् । नेपाली महिला क्रिकेटकी पहिलो ब्याचकी अनुभवी खेलाडी सीताले हिरन्मईलाई बलिङमा सहयोग गरिन् । पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर मैदानमा जाँदा उनी भावुक भइन्, तर अत्तालिएकी भने थिइनन् । ‘मलाई एकदम खुसी लागेको थियो । तर, आत्तिएकी थिइनँ’, हिरन्मईले सुनाइन् ।

हिरन्मईले डेब्यु गरेको खेलमा भने नेपालले युगान्डामाथि १५रनको जित हात पार्‍यो । खेलको १३औं ओभरमा उनलाई बलिङ गर्न पठाइएको थियो । आफ्नो पहिलो ओभरको अन्तिम बलमा उनले युगान्डाका लागि सबै भन्दा धेरै रन बनाएर खेलिरहेकी जानेत बाबाजीलाई बोल्ड गरिन् ।

त्यसपछि आफ्नो तेस्रो ओभरमा उनले युगान्डाकी कप्तान कोन्की अवेकोलाई बोल्ड गराउँदै डेब्यू खेलमै दुई विकेट लिएकी थिइन् । तीन ओभर बलिङ गरेकी रायले ११ रन मात्र खर्चेकी थिइन् । त्यहि खेलमा उनी ‘प्लेअर अफ दी म्याच’ पनि भइन् ।

यस्तै, शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा पनि उनले एक विकेट लिइन् । उक्त खेलमा रायले ४ ओभरमा १७ रन खर्चिइन् । शृंखलाको अन्तिम दुई खेल जित्न हिरन्मईको प्रदर्शन निर्णायक रह्यो ।

जर्सी नम्बर २५, बिग ब्यास खेल्ने इच्छा

दायाँ हाते लेग स्पिनर हिरन्मईको मन पर्ने खेलाडी हुन्, नेपाली पुरुष टिमका कप्तान सन्दीप लामीछाने । उनलाई ‘आइडल’ मान्ने हिरन्मईले उनकै जर्सी नम्बरलाई आफ्नो जर्सी नम्बरको रुमपा छानेकी छन् ।

‘मलाई सन्दीप दाइको बलिङ मन पर्छ उहाँ पनि स्पिन गर्नुहुन्छ । मन पर्ने खेलाडी भएका कारण मैले पनि मेरो जर्सी नम्बर २५ नै छानेकी हुँ’, उनले भनिन् ।

उनलाई सन्दीप मन पर्नुको अर्को कारण भनेको सन्दीपले अन्तर्राािष्ट्रय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै खेल्नु पनि हो । हिरन्मई पनि पछि गएर बिग ब्यास जस्तै प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न चाहन्छिन् ।

महिला टिममा भने उनी सीता र रुविना क्षेत्रीलाई प्रेरणाको रुपमा लिन्छिन् । ‘हुन त सबै दिदीहरुले मलाई सिकाउनु हुन्छ तर मलाई सीता दिदी र रुविना दिदीले मानसिक रुपमा पनि धेरै सहयोग गर्नुभएको छ,’ उनी भन्छिन् ।

राष्ट्रिय टिममा आएपछि सुधारिएको प्रशिक्षण

घरेलु प्रतियोगिता खेल्न थालेको ५ महिनामै राष्ट्रिय टोलीमा पुग्ने भाग्यमानी हिरन्मईले तीनवटा प्रतियोगिताको अनुभव छ ।

गत पुसमा प्रधानमन्त्री कप राष्ट्रिय टी–२०, फागुनमा सम्पन्न ललितपुर मेयर कप टी–२० र धनगढीमा भएको यू–१९ खेलेर बैशाखमा उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पुगेकी हुन् ।

यू–१९ राष्ट्रिय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकी हिरन्मईले सोही कारण सिनियर टिमको बन्द प्रशिक्षणमा समावेश हुने मौका पाइन् । सिनियर टिममा आएपछि साथी खेलाडी तथा प्रशिक्षक जगत टमाटाबाट धेरै प्रविधिक ज्ञान पाएको बताइन् ।

‘खेलमा शतप्रतिशत दिएर खेल्छु मेहनत गर्न छोड्दिन् । अन्तर्राष्ट्रिय खेल्ने लक्ष्य पूरा गर्छु,’ सानै उमेरमा राष्ट्रिय टिममा प्रवेश पाएकाले अझै प्रेरित भएको बताउने हिरन्मई भन्छिन्, ‘अझै राम्रो गर्न उत्साहित छु ।’

डेब्यु खेलमै २ विकेट लिएर चम्किएकी हिरन्मईलाई राष्ट्रिय टिममा टिक्न चुनौति छ । यो तथ्य उनले बुझेकी छन् । ‘राष्ट्रिय टिममा राम्रा खेलाडीहरु हुनुहुन्छ । मैले मिहिनेत गर्न छाडें भने टिममा पर्न कठिन हुन्छ’, उनी भन्छिन् ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?