+
+
Shares

ओलीलाई मिनेन्द्र रिजालको सुझाव : हार स्वीकार्नुस् र अर्को चुनावको तयारी गर्नुुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १९:५९

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा प्राप्त परिणाम अनुसार हार स्वीकार गरेर अर्को चुनावको तयारी गर्न सुझाव दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्त दुई घण्टा लाग्यो, त्यसमाथिको टिप्पणी गर्न प्रमुख प्रतिपक्षी दलको नेताले तीन घण्टा लगाउनुभयो ।’

तीन घण्टा लगाएर प्रमुख विपक्षी दलको नेताओलीले दिएका अभिव्यक्तिहरुमाथि नेता रिजालले पनि टिप्पणी गरे ।

‘सिट संख्यामा हारे पनि लोकप्रिय मत बढी छ भन्नुभयो । चुनावका बेला कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न नसक्ने भएर अरुसँग लाग्यो भन्नुभयो’ ओलीलाई रिजालले जवाफ दिए, ‘अघिल्लो चुनावमा हामीले त्यसै भनिदिएको भए हुन्थ्यो सय सिटमा पनि लड्न नसक्ने एमाले भनेर । माओवादीको बुई चढेर चुनाव लड्न आएको छ भनिदिएको भए हुन्थ्यो भनेनौं हामीले ।’

गत प्रतिनिधिसभाको चुनावमा कांग्रेसले ३५.७ प्रतिशत र एमालेले ३०.७ प्रतिशत मात्रै मत पाएको भएपनि आफूहरुले कांग्रेसले लोकप्रिय मत पाएको भन्दै नहिँडेको रिजालले बताए ।

‘त्यसबेला कहाँ गयो एमाले ? कता खोज्ने एमाले भनिदिएको भए हुन्थ्यो भनेनौं । हामीले भन्यौं, हामीले त्यति मत ल्याएको भए पनि २३ सिट मात्रै जित्यौं । एमालेले ८० सिट जित्यो । बाम गठबन्धनले ११६ सिट जित्यो । सरकार बन्यो टिकाउन सक्नुभएन हामीले गरेर हो त ?’ रिजालले प्रश्न गरे ।

उनले थपे, ‘जसको बुई चढेर चुनावमा सफलता प्राप्त गर्नुभयो उनलाई सम्मान गर्न नसकेपछि के को सरकार टिक्थ्यो ? आफ्नै पार्टी टिकाउन सक्नुभएन । अनि हामीलाई भन्नुहुन्छ ? त्यो हामीलाई भनिराख्नु परेन ।’

रिजालले एमालेलाई कुण्ठा नपोख्न पनि आग्रह गरे । भन्छन्, ‘कमसकेम आफ्नो अनुहार, आफ्नो रुप हेरे हुन्छ । किन कुण्ठा हामीसँग पोख्ने ? हाम्रा कारणले केही पनि भएको होइन । कुण्ठा नपोख्नुस् ।’

अब हार स्वीकारेर अर्को चुनावको तयारी गर्न ओलीलाई रिजालको सुझाव छ । ‘यसपालिको हारलाई स्वीकार गर्नुस् अनि आउने चुनावको तयारी सजिलो हुन्छ । यति भन्नैपर्छ’ उनले भने ।

एमालेले लोकप्रिय मत ल्याएको तर्फ संकेत गर्दै ओलीले भने, ‘उहाँले जे भने पनि कांग्रेसले ३२८ पालिकाको नेतृत्व गर्छ अझै केहीको परिणाम आउन बाँकी छ । कांग्रेसले दुई हजार ६५८ वडाको नेतृत्व गर्छ । त्यसबाट तपाईंलाई अलिकति दुख भएकै होला ।’

मतकै हिसाब गरे पनि एमालेले भन्दा कांग्रेसले बढी मत पाएको रिजालले बताए । वडा अध्यक्षले पाएको मतलाई केलाउँदा कांग्रेसले ३४.३ प्रतिशत मत पाएको र एमालेले ३३ प्रतिशत मत पाएको उल्लेख गर्दै उनले थपे, ‘हारे पनि खुट्टो माथि नै छ भन्न खोजेको हो भने केही छैन ।’

अध्यक्ष ओलीले एमालेले लोकप्रिय मतको लामो कथा सुनाएको भन्दै उनले २०१५ सालयताका चुनावमा कसले कति मत ल्याए भनेर तथ्याङ्क नै प्रस्तुत गरे ।

‘२०१६ सालमा काग्रेसको ३७.२ र कम्युनिस्टको ७.२, ०४८ सालका कांग्रेसको ३९.५ थियो एमालेको २९.३, ०५१ मा कांग्रेस ठूलो पार्टी थिएन तर, कांग्रेसको मत ३४.५ थियो, एमालेको मत ३१.९ थियो’ नेता रिजालले भने ।

२०५६ को चुनावमा कांग्रेसले ३७.२, एमालेले ३१.६, ०६४ को चुनावमा कांग्रेसले २२.७ थियो, एमालले २१.४ मत ल्याएको भन्दै उनले भने, ‘०६४ को चुनावमा माओवादीको हाम्रो भन्दा बढी थियो ।’ २०७० को चुनावमा कांग्रेसले २९.८ र एमालेले २७.६ मत पाएको उल्लेख गर्दै रिजालले भने, ‘इतिहासको कुन कालखण्डमा लोकप्रिय मत प्राप्त गरेको भनेको हो ?’

नेपालको कुनै पनि निर्वाचनमा एमालेले लोकप्रिय मत नपाएको रिजालले दावी गरे । उनले ओलीलाई सुझाव दिए, ‘टर्च बालेर पनि देखिन्न । बरु प्रयत्न गर्नुस् आउने चुनावका लागि ।’

एमाले अध्यक्ष ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने नेताहरुलाई अपमान गरेको भन्दै रिजालले रोष प्रकट गरे । ‘आत्मअभिमानको बाटोबाट लोकतन्त्र बलियो हुँदैन, कमजोर हुन्छ’ रिजालले भने, ‘लामो इतिहास हेर्नुपर्दैन गएको चार बर्ष नेपालले जे बोहोर्‍यो त्यसबाट राम्रोसँग बुझ्न सकिन्छ ।’

बिपी कोइरालालाई नेपाल ताराको तक्मा कुन सरकारले सिफारिस गरेको थियो ? सम्झन ओलीलाई आग्रह गर्दै रिजालले भने, ‘हिजो नेपाल ताराको तक्मा सिफारिस गर्नुभयो । आज विपीका बारेमा यो लवज बोल्दाखेरि मनमा अलिकति पनि ग्लानी महसुस हुँदैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?