+
+

२८ करोड घट्यो खेलकुद बजेट, मूलपानीको मैदानको निर्माण यसै वर्ष पूरा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:२६

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड वजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षका बजेटमा युवा तथा खेलकुद मन्त्रालय शीर्षकमा अघिल्लो आर्थिक वर्षको तुलना २८ करोड कम विनियोजन गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि २ अर्ब ७४ करोड रुपैयाँको वजेट विनियोजन गरेको थियो ।

बहुप्रतिक्षीत मूलपानी मैदान निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्नेसहित सरकारले पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

मूलपानी रंगशाला यसै आर्थिक वर्षमा निर्माण सम्पन्न हुने

बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले बहुप्रतिक्षीत मूलपानी क्रिकेट रंगशाला निर्माणको काम यसै वर्षभित्र सम्पन्न आवश्यक वजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

२०६० सालमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी शिलान्यास गरिएको मूलपानी (तल्लो) क्रिकेट रंगशाला अहिलेसम्म निर्माणाधीन छ ।

यस परियोजनका लागि २०६९ देखि हरेक आर्थिक वर्षमा वजेट विनियोजन हुँदै आएको छ । १२ हजार दर्शक क्षमताको यो रंगशालाको पूर्वतर्फ मुआब्जा समस्याको समाधार दुई वर्षअघि मात्र गरिएको थियो । अहिलेसम्म यो परियोजनका लागि सरकारले ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

कीर्तिपुर मैदानमा अब राती पनि क्रिकेट खेल्न पाइने

देशको एकमात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त त्रिवि क्रिकेट रंगशालामा यसै आर्थिक वर्षमा फ्लड लाइट जडान गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरे । आइतबार संसदमा पेश गरेको वजेटमा किर्तिपुर मैदानमा फ्लड लाइट निर्माणका लागि पनि रकम विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ।

खेनेपाल क्रिकेट संघ क्यानले रात्रीको समयमा पनि क्रिकेट प्रतियोगिता आयोजना गर्न लामो समयदेखि सरकारसँग फ्लडलाइट जडानका लागि वजेट माग गरिरहेको थियो ।

खेलकुदको २० वर्षे गुरुयोजना निर्माण गरिने

खेलकुदको दीर्घकालीन विकासको ठोष लक्ष्यसहित सरकारले २० वर्षे गुरुयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा वजेट पेश गर्दै पुरुयोजना निर्माण र कार्यान्वयनका लागि रकम विनियोजन गरिएको जानकारी दिएका छन् ।

नेपालको खेलकुदमा यसअघि पनि अन्तर्राष्ट्रिय सफलतामा आधारित दीर्घकालीन योजना तयार गरिएको थियो । तर, पूर्वाधार, प्रशासनिक र प्रतियोगितामा आधारित गुरुयोजनाका लागि भने अहिलेसम्म काम भएको छैन ।

राष्ट्रिय खेलकुद परिषदले यसअघि भिजन २०२० र स्कुल टू ओलम्पिकको नारासहित अन्तर्राष्ट्रिय उपलब्धीको दीर्घकालीन लक्ष्य निर्धारण गरे पनि सफल हुन सकेको थिएन ।

सरकारले जुम्लाको कोप्लापाटनलगायतका स्थानमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने भएको छ । खेलकुद पर्यटनको प्रवद्र्धनका लागि शाहसिक तथा पूर्वाधार निर्माण तथा सन्चालन गर्न प्रोत्साहित गर्ने वजेट वक्तव्यमा उल्लेख छ ।
धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय र प्रदेश सरकारको सहकार्यमा पूरा गर्ने सरकारले योजना बनाएको छ ।

नेपाली जनताबाट चन्दा उठाएर ३ अर्बभन्दा बढीको परियोजना सुरु गरेको फाउण्डेसनले १४ प्रतिशत काम सम्पन्न गरेपछि परियोजनाबाट बाहिरिने निर्णय गरेको थियो । त्यसपछि भरतपुर महानगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले अघिल्लो वर्ष बाँकी निर्माण पूरा गर्ने जिम्मा लिएका थिए ।

सरकारले आगामी कात्तिक २८ देखि मंसिर ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद आयोजना र त्यसपछि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधारण निर्माणका लागि पनि वजेट छुट्याएको बताएको छ ।

पछिल्लो दुई आर्थिक वर्षदेखि जारी एक स्थानीय तह एक खेलमैदान निर्माण कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ ।

बाँकेको कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीसहित रंगशाला निर्माण र धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालासहित खेलग्राम निर्माण काम आगामी आर्थिक वर्षदेखि सुरु हुने वजेट वक्तव्यमा उल्लेख छ ।

निजी क्षेत्रलाई खेलकुद विश्वविद्यालय स्थापना गर्न प्रोत्साहन गर्ने, विदेशी क्लबहरुलाई नेपालमा फ्रेन्चाइज लिग आयोजन ागर्न अनुकुल वातावरण निर्माण गरिने, खेलकुद संघहरुको क्षमता अभिवृद्धि गरी खेलकुद प्रतियोगिताको आयोजनामा खेल संघहरुको भूमिकालाई प्रभावकारी बनाइने, खेलाडी र प्रशिक्षकको क्षमता विकासका लागि कार्यक्रम सन्चालन गरिनेलगायतका योजना निर्धारण गरिएको छ ।

खेलाडी प्रोत्साहनको कार्यक्रम, अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरुको विमा, खेलकुद संघहरुलाई दिइआएको अनुदान बृद्धिलगायतका कार्यक्रमले निरन्तरता पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?