+
+

बन्द गरियो मेलम्ची सुरुङको ढोका, मेलम्चीको पानी अब कात्तिकमा मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १२:०४

१७ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।

‘पि्र-मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारी थियो । मंगलबार सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किएका छन् ।

गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वषर्ायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको आयोजनाका एक अधिकारीले बताए ।

उनका अनुसार जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिएर सुरुङ बन्द गरिएको हो ।

‘असोज मसान्तसम्मका लागि भनेर सुरुङ बन्द गरेका हौं, त्यो बेलासम्म मौसम र वर्षाको अवस्था कस्तो हुन्छ, त्यही हेरेर सुरुङको ढेका खोल्छौं,’ उनले भने । ‘नियमित वषर्ा रोकिएपछि फेरि मेलम्चीको पानी सुरुङमा हाल्ने र काठमाडौं ल्याएर वितरण थाल्ने योजना समितिको छ ।

मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन । त्यसैले मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएको बताउँछन् ।

१ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ । प्राविधिकहरुका बालुवा थिग्रयाउन बनाएको संरचना समेत बाढीले पुरेकाले बाढी आएको समयमा खुला राखेमा सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार नाकोटेमा बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिएको छ । सो संयन्त्रले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेको सूचना दिन्छ । तर, सो संयन्त्रमा नै भर पर्न सकिने अवस्था भने नरहेको अधिकारीहरु बताउँछन् ।

बाढी आउन थालेपछि बन्द हुने सुरुङ तिहारपछि खोल्न सकिने विश्वास गरिएको छ । वषर्ामा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा ८ महिना पानी खुवाउन सकिने आयोजनाको भनाइ छ ।

आयोजनाका अनुसार अहिले एशियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षेत्र र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु हुनेछ ।

१ असार २०७८मा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो ।

त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्र्यानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो । ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमामा ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्र्यान हटाउने काम गरेको थियो ।

बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । हेडवक्र्स क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ बनाउनुपर्ने हुनसक्छ ।

अहिले एसियाली विकास बैंकले आयोजनाको अवस्था र जोखिबारे अध्ययन गरिरहेको छ । सरकारले त्यकै आधारमा भरपर्दो रुपमा मेलम्चीको पानी पथान्तरण गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?