+
+

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्ण : नेपाल चेम्बर अफ कमर्स

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १२:५५

१७ जेठ, काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यान्वयनको पक्ष निकै चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले बताएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्व ९३ अर्व ८३ करोड रुपैयाँको बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ । चालु आर्थिक वर्षमा १६ खर्ब ३३ अर्ब रुपैयाँको बजेट ल्याएपनि खर्च गर्न नसकेर संशोधन मार्फत १४ खर्व ४७ अर्ब ५१ करोड रुपैयाँको बनाइएको भन्दै चेम्बरले बजेट यथार्तमा आधारित हुन नसकेको बताएको हो ।

ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधार हुन नसक्दा आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिनाइ हुने चेम्बरले जनाएको छ । बजारमा तरलता समस्या अझै सम्बोधन हुन नसकेको, पूँजीगत खर्च हुन नसकेको तथा मुल्यवृद्धिका कारण लक्ष्य भेट्न कठिनाइ हुने चेम्बरेको ठहर छ ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बाँझो जमिनको उपयोग, कृषि एम्बुलेन्सलाई प्राथमिकतामा राखेर बजेट आउनु सकारात्मक भएको चेम्बरको भनाइ छ । कृषिलाई प्रवर्द्धन गर्न ५ खर्बको कृषि लघुवित्त कोषको स्थापना गर्नुलाई चेम्बरले स्वागतयोग्य भनेको छ ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशमा औद्योगिक वातावरण बनाइ रोजगारी सृजना गर्न विदेशी लगानीको सीमा घटाउनेदेखि उद्योगलाई छुटसम्म दिने घोषणा बजेटमा उल्लेख छ । विदेशी लगानीको सीमा घटाइ २ करोडमात्र कायम गर्ने व्यवस्थाले स्वदेशी लगानी निरुत्साहित हुन जाने देखिन्छ ।’

खेतदेखि कारखाना, एकीकृत नमुना कार्यक्रम, औद्योगिक प्रयोजनका लागि ५० वर्षसम्म लिजमा जग्गा, उद्योगलाई विद्युत् महसुल २ देखि १५ प्रतिशत छुट एवं औद्योगिक प्रयोजनका लागि जग्गाको हदबन्दी हटाउने जस्ता आकर्षक कदमहरु औद्योगिक प्रवर्द्धनका लागि सकारात्मक रहेको चेम्बरले जनाएको छ ।

चेम्बरले १२ खर्ब ४० अर्ब रुपैयाँको राजस्वको लक्ष्य पनि निकै चुनौतीपूर्ण रहेको जनाएको छ । कोभिड-१९ महामारीको प्रभावबाट पूर्ण रुपमा तंग्रिन नपाएको निजी क्षेत्र र सरकारका संकुचनकारी आर्थिक नीतिहरुले निजी क्षेत्र निरुत्साहित भएकाले राजस्वको महत्वाकांक्षी लक्ष्य हासिल हुन कठिन हुने चेम्बरको भनाइ छ ।

तरलताको समस्या रहेको विद्यमान अर्थतन्त्रमा आन्तरिक ऋणको लक्ष्य २ खर्ब ५६ अर्ब रुपैयाँको राखिएकाले यसले तरलताको समस्या झन विकराल हुन जाने चेम्बरले जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत वार्षिक ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत र दम्पतीको हकमा वार्षिक ६ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत कर लगाउने बजेटमा उल्लेखित व्यवस्थालाई पनि चेम्बरले स्वागत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?