१३ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
चेम्बर सचिवालय जमलमा मंगलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एमआईएईडी) का मास्टर्स इन इन्टरनेसनल अफेयर्स, इकोनोमी एन्ड डिप्लोमेसीका विद्यार्थीसँगको अन्तर्क्रियामा उनीहरूका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष अग्रवालले नेपालको आर्थिक हित प्रवर्द्धनका लागि कूटनीतिक संयन्त्र थप सशक्त बनाउनुपर्ने बताएका हुन् ।
नेपालको आर्थिक कूटनीतिको प्राथमिकता निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण, उद्योग विस्तार र नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी हुनुपर्ने उनको भनाइ थियो ।
विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई आर्थिक गतिविधिको सक्रिय केन्द्रका रूपमा विकास गरी सम्बन्धित मुलुकका लगानीकर्ता, व्यवसायी तथा व्यापारिक समुदायसँग प्रत्यक्ष सम्पर्क बढाउनुपर्ने उनले बताए ।
अग्रवालले प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसंघ महासभा सम्बोधन तथा अन्तर्राष्ट्रिय भ्रमणलाई पनि आर्थिक कूटनीतिको एउटा महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरे ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आर्थिक सम्भावना, आवश्यकता र राष्ट्रिय हितका विषय उठाउनु तथा विभिन्न मुलुकसँग आर्थिक सम्बन्ध विस्तार गर्नु आर्थिक कूटनीतिकै हिस्सा भएको भन्दै उनले प्रधानमन्त्रीको सम्बोधनको प्रशंसा गरे ।
उनले नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुनु आवश्यक रहेको उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने सम्भावित चुनौतीलाई लिएर अनावश्यक चिन्ता गर्नुभन्दा अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता र अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तारमा ध्यान दिनुपर्ने बताए ।
अग्रवालले नेपालको कुल व्यापारमा भारतको हिस्सा करिब ६५ प्रतिशत र चीनको हिस्सा करिब १५ प्रतिशत रहेको उल्लेख गर्दै एलडीसी स्तरोन्नतिपछि व्यापारमा पर्ने सम्भावित प्रभावलाई व्यवस्थापन गर्न सकिने बताए ।
उनले भारत र चीनसँगको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्दै अन्य मुलुकसँग पनि व्यापारिक सम्बन्ध र निर्यातको दायरा बढाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4