+
+
Shares

संघीय निजामती सेवा विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मन्त्रिपरिषद्‌मा लगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १८:५९

१३ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

२५ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गरेको थियो । त्यसअनुसार सोही दिन विधेयक आयोग पुगेको थियो ।

लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मन्त्रिपरिषद्‌मा लगेको थियो ।

त्यसपछि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिएको हो ।

यसअघि नै यो विधेयकलाई अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अगाडि बढाउन स्वीकृति प्रदान गरिसकेका छन् । मन्त्रिपरिषद्ले संघीय संसद्मा दर्ता गर्न भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुमति दिएसँगै अब यो संसद्मा दर्ता हुनेछ ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा सरकार गठन भएको ४५ दिनभित्र यो विधेयक तर्जुमा गर्ने उल्लेख थियो । तर ढिलो गरी विधेयक अगाडि बढेको छ ।
विगतका प्रतिनिधिसभामा पनि यो विधेयक आएका थिए । तर ऐनमा रुपान्तरण हुन सकेनन् ।

यो विधेयक संघीयता कार्यान्वयनसँग सम्बन्धित छ । मुलुक संघीयतामा गएसँगै कर्मचारी समायोजनको मुख्य काम भयो ।  तर, संघ, प्रदेश र स्थानीय तहको कर्मचारी भर्ना, अधिकार क्षेत्र र कुन तह मातहत रहने जस्ता विषयमा परिणाम आएको छैन । संविधानतः प्रादेशिक लोकसेवा आयोगहरू बनेका छन् । तर अहिले पनि स्थानीय तह र प्रदेशमा संघ मातहतकै कर्मचारी छन् ।

प्रदेशको प्रमुख सचिव, प्रदेशका मन्त्रालयका सचिव र स्थानीय तहको प्रमुुख प्रशासकीय अधिकृत र लेखा अधिकृत संघ मातहत हुनुपर्ने अडानका बीच प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा विधेयक आएको थियो । तर प्रदेश र स्थानीय तहमा संघका कर्मचारी रहने विषय संघीयताको मर्मविपरीत हुने तर्कका कारण अपेक्षित गतिमा अगाडि बढेन ।

यी विषयमा फेरि संसद्‌मा छलफल हुनेछ । साथै, यस पटक कर्मचारीको अवकाश उमेरलाई लिएर पनि बहस भइराखेको छ । सरकारले ५५ वर्ष उमेर पुगेको वा ३० वर्ष सेवा गरिसकेकालाई अनिवार्य अवकाश दिने गरी विधेयकको मयौदा तयार गरेर अगाडि बढाएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५५ वर्षमा अवकाश पाउने कर्मचारीलाई अवकाश दिँदा ५८ वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था प्रस्तावित छ । यसले अवकाशमा जाने कर्मचारीको सुविधा कम हुँदैन ।

सरकारले संघीय संसद्को चालु अधिवेशन यही असोज १६ वा १७ गतेबाट अन्त्य गर्दैछ । यही तयारीअन्तर्गत असोज १६ गतेसम्मको प्रतिनिधिसभाको संसदीय क्यालेन्डर बनाइएको छ ।
अब प्रतिनिधिसभामा दर्ता भए पनि यो विधेयक ऐनमा रुपान्तरित हुन संघीय संसद्को अर्को अधिवेशन कुर्नुपर्ने हुन्छ ।

अधिवेशन सुरु भएपछि विधेयकमा सभामा सैद्धान्तिक छलफल हुन्छ । सैद्धान्तिक छलफलपछि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिइन्छ । प्राप्त संशोधन र विधेयक एकै ठाउँमा राखेर दफावार छलफल हुन्छ । यो प्रक्रिया दुवै हाउसमा हुन्छ र दुवै हाउसले पारित गरेपछि उत्पति भएको सभाको नेतृत्व हुँदै विधेयक राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?