+
+

उद्योग वाणिज्य संघ र व्यापार संघद्वारा बजेटको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १८:११

१७ जेठ, बुटवल । संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटको रुपन्देहीका निजी क्षेत्रले स्वागत गरेका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले समग्रमा बजेट राम्रो र स्वागतयोग्य रहेको भन्दै कार्यान्वयनमा जोड दिएको छ । बजेटको कार्यान्वयनले व्यवसायिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विज्ञप्ति जारी गर्दै बजेटको प्राथमिकतामा कृषि क्षेत्रको रुपान्तरण, नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास, पूर्वाधार विकास र पुँजी निर्माण, औद्योगिक विकास, लगानी प्रवद्र्धन र पर्यटन क्षेत्रको पुनरुत्थान आदि रहेकाले वजेट स्वागत योग्य रहेको बताएको छ ।

कृषि क्षेत्रको रुपान्तरणमार्फत आत्मनिर्भर, स्थानीय आर्थिक विकासमा नव प्रवर्तन तथा युवा उद्यमीलाई अवसर, सातै प्रदेशमा विजनेश इन्कुवेसन कार्यक्रमको सञ्चालन, नेपाली उत्पादन एवं उपभोग वृद्धि कार्यक्रम सञ्चालन, एक स्थानीय तहमा एक विशिष्ट उत्पादन, पर्यटन पुर्वाधार सुधार लगायतका कार्यक्रमले बजेटको प्राथमिकतालाई सहयोग गर्ने प्रष्ट देखिने धारणा पत्रमा उल्लेख गरिएको छ ।

संघले माग गरे अनुसारको आयात प्रतिस्थापन कार्यक्रम, कृषि उत्पादनमा जोड, मोतीपुर औद्योगिक क्षेत्रको विकास, बेलहिया बुटवल र बुटवल नारायणगढ सडक यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने, कर्साघाट कृषि उपज केन्द्रको निर्माण, बेलहियामा एकीकृत जाँच चौकीको स्थापना, तयारी वस्तुको तुलनामा औद्योगिक कच्चा वस्तुको शुल्क कमी गर्ने, पर्यटन तथा होटल व्यवसायीलाई सहुलियत, साना तथा मझौला व्यवसायीलाई कर छुट, आयकर सीमा लगायतका कुराहरु समेटिनु सकारात्मक रहेको उल्लेख छ ।

बुटवल भैरहवामा ट्राम रेल सञ्चालनको लागि अध्ययन, कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजना, तिनाउ–दानव कोरिडोरको बस्ती व्यवस्थापन, बुटवलमा मेडिकल कलेज स्थापना, सिद्धबाबा झुम्सा सुरुङमार्ग निर्माणले यस क्षेत्रको व्यवसायिक एवम् आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उद्योग स्थापनाको लागि सरकारी जमिन ५० वर्षसम्म लिजमा दिने व्यवस्था, कोभिड प्रभावित व्यवसायीलाई राहतको लागि आ.व. २०७८/०७९ को आयमा लाग्ने आयकर छुट, आयकरको सिमा, धान, मकै, गहुँ तथा तरकारीको आयातमा ३० प्रतिशत घटाउने गरी स्थानीय उत्पादन अभिवृद्धि कार्यक्रम, औद्योगिक उत्पादन निर्यातमा ८ प्रतिशत अनुदान लगायतका कार्यक्रमले उद्योग तथा व्यवसायिक प्रवर्द्धन हुने संघले विश्वास व्यक्त गरेको छ ।

यस्तै रुपन्देही व्यापार संघले पनि वजेटको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे र महासचिव दयानिधि भण्डारीले विज्ञप्ति जारी गर्दै व्यवसायीहरुको पक्षमा वजेटमा उल्लेख गरिएका कुरालाई कार्यान्वयनमा विशेष ध्यान दिएमा अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने जनाइएको छ ।

सरकारले ल्याएको वजेटमार्फत संघले उठाउंदै आएका निजी क्षेत्रलाई उत्साहित बनाउने नीतिहरु उल्लेख गरेकोमा स्वागत गरेको छ । विज्ञप्तिमा वर्तमान अवस्थामा देशको अर्थतन्त्र खस्कँदै गएको उल्लेख गर्दै विगतमा नीति र कार्यक्रमहरु कागजमा राम्रो बन्ने तर कार्यान्वयनको चरणमा पुग्दा निराशाजनक हात लाग्ने गरेको भन्दै कार्यान्वयनमा गम्भीर बन्न संघले आग्रह गरेको छ ।

चालू खाता घाटा र शोधानान्तर स्थिति नराम्रो भएको अवस्थामा स्वदेशी उत्पादन प्रोत्साहन गर्ने, आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने, निर्यातलाई बढावा दिने र आयातलाई निरुत्साहन गर्ने किसिमको बजेट आउनु सकारात्मक भएको संघले जनाएको छ ।

संघले राजस्वको मुख्य आधार भन्सार रहेको अवस्थामा आयात नियन्त्रण गर्ने कुरा त्यति सहज नहुने बताउदै स्वदेशी उत्पादन पर्याप्त नभएको अवस्थामा आयात नियन्त्रणको विषयले खुल्ला वजार अर्थतन्त्रको नीतिप्रति न्याय नहुने हो कि भन्दै विज्ञप्तिमार्फत राज्यको ध्यानाकर्षण गराएको छ ।

संघले वजेटमार्फत यस क्षेत्रमा यसअघि अगाडि सारिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल निर्माण, बुटवल–गोरखपुर र बुटवल–कोहलपुर प्रसारण लाइन, तिनाउ नदिमा बहुउद्देश्यीय सिग्नेचर पुल निर्माण, बुटवल धागो कारखाना सञ्चालन लगायत घोषणा स्वागत योग्य रहेका संघको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?