+
+

मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते ८:१४

१८ जेठ, काठमाडौं । यस वर्षको मनसुन छिट्टै सुरु हुने मौसमविदले बताएका छन् । भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो छिट्टै नेपाल भित्रिने अनुमान मौसमविदको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले भने, ‘भारतको केरलामा मनसुन सुरु भइसकेको छ । अबको केही दिनभित्रै नेपाल भित्रिने सम्भावना छ ।’

नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जुन १३ तारिख हो । पूर्वी नेपालबाट मनसुन भित्रिएर पश्चिम नेपालबाट बाहिरिने गर्दछ ।

कहाँ कति पानी पर्छ ?

अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महिनाको अवधिमा नेपालका अधिकांश भागमा सरदरभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिएको छ ।

सामान्यतया १ हजार ५ सय मिलिलिटर पानी पर्ने मौसमविदहरु बताउँछन् । यद्यपि औसतभन्दा १० प्रतिशत बढी वा घटी भए पनि त्यसलाई सरदर नै मानिने वरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ । तर बाँकी भूभागहरुमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०७९ सालको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने भूभागहरु नीलो रंगमा । तस्वीर : जल तथा मौसम विज्ञान विभाग

आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले जानकारी दिइन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्यपश्चिमी भूभाग र प्रदेश नं १ को मध्य भूभागहरुमा पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना छ । यी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।

यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ । तर प्रदेश नं. १ का उत्तरी भूभाग, वागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरुमा सरदर वर्षा हुने आँकलन मौसमविदले गरेका छन् ।

३० वर्षको अवधिमा भएको सरदर वर्षाको आँकडा तुलना गरेर औसत निकालिन्छ । सन् १९९० देखि सन् २०२० सम्मको वर्षाको आँकडालाई हेरेर नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टुबर २ निर्धारण गरेर गत वर्ष अध्यावधिक गरिएको थियो । त्यसअघिसम्म नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने भन्ने गरिन्थ्यो । तर गत वर्ष जेठ २८ गते नै मनसुन नेपाल भित्रिएको थियो ।

दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे ‘साउथ एसियन आउटलुक फोरम (सास्कोफ)’ले निकालेको साझा निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालको मौसमी अवस्थाबारे आँकलन प्रतिवेदन तयार गर्दछ । सास्कोफमा नेपाल, भारत, म्यानमार लगायतका दक्षिण एसियाली ९ देशका मौसमविदहरु र विश्व मौसम संगठन, विश्व मौसम संगठनको क्षेत्रीय जलवायु केन्द्र भारत, युके मेट अफिस बेलायत, थाइल्याण्ड, अमेरिका र जापानका प्रतिनिधिहरु सहभागी हुन्छन् ।

यस वर्ष सास्कोफको २२ औं सत्रको बैठक भर्चुअल माध्यमबाट यही वैशाख १३ गतेदेखि १५ गतेसम्म बसेको थियो । यही मञ्चले २०७९ सालको मनसुन दक्षिण एसियाका अधिकांश भूभागहरुमा सरदर वा सरदरभन्दा बढी पानी पर्ने भनेर साझा निष्कर्ष निकालेको थियो । सोही निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालका अधिकांश स्थानमा यस वर्षको मनसुन अवधिमा सरदर भन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको हो ।

गत वर्ष (२०७८ साल)को मनसुन अविधिमा पनि विभागले धेरैजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको थियो । गत वर्ष सो प्रक्षेपण मिलेको थियो । २०७८ को जेठ मसान्तमा आएको ठूलो बाढी तथा पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा जनधनको व्यापक क्षति पुर्याएको थियो ।

गत वर्षको मनसुन अवधिमा बाढी, पहिरो र अविरल वर्षाको कारण १३६ जनाको मृत्यु तथा ४० जना बेपत्ता भएको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष पनि धेरै वर्षा हुने प्रक्षेपण गरिएकाले धनजनको क्षति रोक्न पूर्वसावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?