+
+

चर्चित भारतीय गायक केकेको निधन, प्रधानमन्त्री मोदीबाट दु:ख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते ९:२०

काठमाडौं । भारतका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो ।

अस्पतालमा पुगेका पश्चिम बंगालका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकले हृदयघातबाट उनको निधन भएको हुनसक्ने प्रारम्भिक जानकारी दिएका छन् । कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन उनी त्यहाँ पुगेका थिए । बलिउडसहित तमिल, तेलुगू, कन्नड, मराठी, बंगाली र गुजराती फिल्ममा समेत उनले गीत गाएका थिए ।

निधनभन्दा केही समयअघि उनले कोलकातामा भएको कन्सर्टका तस्वीर र भिडियो सेयर गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक व्यक्त गरेका छन्।

हिन्दी, तमिलसहित आठ भाषामा गीत गाएका केकेले फिल्म ‘माचिस’मा संलग्न ‘छोड आए हम’मार्फत बलिउडमा डेब्यु गरेका थिए । हम दिल दे चुके सनम, तडप तडपबाट उनले पछि फर्केर हेर्नुपरेन ।

एल्बम पलबाट उनले सांगीतिक करियर थालेका थिए । ‘बजरंगी भाइजान’को गीत तु जो मिला, ‘ओम शान्ति ओम’को अजब सी, ‘वो लम्हे’को क्या मुझे प्यार है, ‘रेडी’को हमको प्यार हुवा, पल एल्बमको पल, ‘काइट्स’को दिल क्यों ए मेरा, ‘भूल भुलैया’को लबों को, ‘द ट्रेन’को बिते लम्हे, ‘हम दिल दे चुके सनम’को तडप तडप, ‘दश’को दश बहाने लगायत उनका चर्चित गीत हुन् ।

तस्वीरहरु : केकेको फेसबुकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?