+
+

चितवनमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया

सुवास पण्डित सुवास पण्डित
२०७९ जेठ १९ गते १०:१४
बिरामी बालक र शल्यक्रिया गर्ने चिकित्सक ।

१९ जेठ, चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ ।

चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि उनलाई भरतपुर अस्पतालको एनआईसीयूमा राखेर उपचार थालियो ।

मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुको कुराले बालिकाकी आमा कोपिला पुरीको परिवारलाई झस्कायो । चितवनको इच्छाकामना गाउँपालिका घर भएको पुरी परिवारको आर्थिक विपन्नताको चिन्ता त छँदै थियो ।

भरतपुर अस्पतालका चिकित्सकहरुले मुटुको अप्रेशन गर्न सक्ने जनशक्ति र पूर्वाधार नभएको भन्दै चितवन मेडिकल कलेजमा लैजान सुझाए । कलेजका मुटु शल्य चिकित्सक डा. अनिल आचार्य नेतृत्वको टिमले ८ घण्टा लगाएर गत जेठ ६ गते एक किलोको बच्चाको अप्रेशन गरे । अप्रेसन सफल भएपछि एक दिन अस्पतालमा राखेर जेठ ८ गते बच्चालाई पुनः भरतपुर अस्पतालमा पठाइएको आचार्यले बताए ।

चिकित्सकका अनुसार बालिकाको मुटु र फोक्सोको बीचमा भएको नली बच्चा जन्मिएपछि बन्द हुनुपर्नेमा नभएर मुटु ठूलो हुने, फोक्सोमा पानी र संक्रमण पनि बढी हुन्छ । फोक्सोमा चाप पर्दै जान्छ । ‘पि्र म्याच्योर’ बच्चाहरुलाई त एनआईसीयूबाट निकाल्दै सकिंदैन, यो त जीवनसँग सम्वन्धित विषय हो,’ डा. आचार्यले भने, ‘एक किलोको बच्चालाई ल्याएर अप्रेशन गरेर बचाउन सफल भयौं ।’

भरतपुर अस्पतालको एनआईसीयूमा राखिएको बच्चाको अवस्था अहिले राम्रो हुँदै गएको अस्पतालका एनआईसीयू इन्चार्ज डा. ओम पाठकले जानकारी दिए । ‘अहिले तौल पनि बढेको छ, विना अक्सिजन बस्न सक्छ, दूध खाइरहेको छ,’ डा. पाठकले भने, ‘अझै केही समय राखेर आमाको दूध खान सक्ने बनाएर मात्रै डिस्चार्ज गर्छौं ।’ अहिलेसम्म बच्चामा संक्रमण नदेखिएको र बच्चाको तौल पनि बढेर १२ सय ग्राम पुगेको डा. पाठकले बताए ।

डा. आचार्यले बच्चाको शल्यक्रिया जटिल नभए पनि हातमा अटाउने अति सानो बच्चाको अप्रेशन गर्न सक्ने जनशक्ति र व्यवस्थापकीय काम ठूलो भएको बताए । डा. आचार्य र डा. अल्का सिंहको टिमले मुटुको वाइपास सर्जरी, मुटुको प्वाल टाल्ने, भल्ब फेर्ने तथा मर्मत गर्ने, जन्मजात भएका मुटुरोग, मुटु रोगका शल्यक्रिया, छाती, फोक्सोको अप्रेशनसमेत गर्दै आएको छ ।

आचार्यले कलेजमा ७० वर्ष उमेरका बिरामीको मुटुको ओपनहर्ट सर्जरीदेखि डेढ महिनाका बच्चाको अप्रेशनसम्म गर्न सक्ने जनशक्ति तयार गरिएको बताए । आचार्यकै टोलीले यही जेठ १४ गते नवलपरासी हुप्सेकोटका दुई वर्षको बालकको पनि कार्डियो थोरासिस् भास्कुलर सर्जरी गरेर जीवन बचाएको छ । काठमाडौंमा अप्रेशन गर्न जान तयार भएका ती बालकको चितवनमै सफलतापूर्वक अप्रेशन गरेर वुधवार डिस्चार्ज गरिएको डा. आचार्यले बताए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले दुवै जना बच्चाहरुको अस्पतालले निःशुल्क शल्यक्रिया तथा उपचार गरेर पठाएको बताए । सरकारले दिने विपन्न वर्गको सुविधा अन्तर्गत अस्पतालले शुल्क नलिएको देवकोटाको भनाइ छ । मुटुको उपचारका लागि सरकारले एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने गरेको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?