+
+

बञ्चरेडाँडामा बालेनलाई प्रश्न : हामी कतिन्जेल दुर्गन्धमा बस्ने ?

२० वर्ष कुर्नुभयो अब ३-४ महिना कुरिदिनुस् : बालेन

‘सात दिन काठमाडौंमा फोहोर थुनिंदा संसार पल्टिएको सास नै फेर्न नपाएको जस्तो गर्छन् । हामी ३६५ दिन लिचडमा डुबेर दुर्गन्ध सुँघेर बाँच्न बाध्य छौं,’ बञ्चरेडाँडा क्षेत्रका वासिन्दा भजु कान्छुले भने ।

अंगद सिंह अंगद सिंह
२०७९ जेठ २० गते १९:१४

२० जेठ, काठमाडौं । काठमाडौंबाट मेयर बालेन आउने मेसो पाएपछि नुवाकोटको सिसडोलमा स्थानीयको भीड जम्मा हुँदै गयो । काठमाडौंको फोहोरले भरिइसकेको सिसडोलको अवलोकन गर्न मेयर बालेन सिसडोल जाँदैथे ।

सिसडोलको पूरै डाँडा भरिएपछि अहिले त्यहाँ फोहोर फाल्ने ठाउँ नै छैन । सिसडोल भरिएपछि अहिले काठमाडौंको फोहोर नुवाकोट र धादिङको सीमानामा रहेको बञ्चरे डाँडामा बिर्सजन गरिंदैछ  । जसका लागि निर्माणको काम हुँदैछ ।

डुङडुङती गन्हाउने फोहोरको दुर्गन्धबाट बच्न हरेकले मास्क लगाएका थिए । सिसडोलमा मास्कले मात्रै गन्ध थेग्न सक्दैन । गन्धबाट बच्नका लागि मास्कलाई समेत हातले छोप्नुपर्ने अवस्था छ ।

फोहोरले भरिएको सिसडोलमा झिंगा भुन्भुनाइरहेका छन् । फोहोरमुन्तिरबाट बगेका कालो लिचडको गन्धले पूरै वातावरण नै दुर्गन्धित बनाएको छ । फोहोरका डंगुरबाट बगेको कालो बाक्लो लिचड तल बग्दै गरेको खोलामा मिसिएको छ । लिचडले खोलाको पानीको रंग नै परिवर्तन गरिदिएको छ ।

काठमाडौंको फोहोर विसर्जन गरिने नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका स्थानीयले लामो समयदेखि फोहोरको दुर्गन्ध त भोगेका छन् नै, खोलाको पानी समेत उपभोग गर्न पाएका छैनन् ।

स्थानीयले न स्वच्छ हावा खान पाएका छन्, न त ढुक्कले सास फेर्न । ‘यहाँको अवस्थाका बारेमा सबैलाई थाहा छ । हाम्रो जीवन र स्वास्थ्यको कसले जिम्मेवारी लिने ?’ सिसडोलका कान्छुले प्रश्न गरे ।

सिसडोल पुगेका मेयर बालेनले केही समय त्यस क्षेत्रको अवलोकन गरे । अवलोकन गर्दै गर्दा स्थानीयले आफ्ना माग सम्बोधन नभएसम्म फोहोर फाल्न नदिने बताए । नुवाकोटबासीले फोहोर फाल्न नदिएपछि काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बाटोमा लाइनबद्ध राखिएका छन् । ती गाडीबाट पनि कालो लिचड बगिरहेकै छ ।

सिसडोलमा बाटो पार गर्न पनि उफ्रिनु पर्ने अवस्था छ । फोहोरका डंगुर छिचोल्दै बालेन दोस्रो पटक पुगेका हुन् सिसडोल र बञ्चरेडाँडा ।

सिसडोलमा स्थानीयसँग केही समय  बिताएपछि मेयर बालेन र उपमेयर सुनिता डंगोल बञ्चरेडाँडातिर लागे । सिसडोलमा फोहोर नफालिने र त्यसको व्यवस्थापनका लागि केमिकलको प्रयोगबाट दुर्गन्ध हटाउने, डोपिङ गर्ने र त्यसलाई सम्याएर माथि बगैंचा बनाउने भन्दै बालेनले स्थानीयलाई आश्वासन दिए ।

बञ्चरेडाँडा पुगेपछि उनले स्थानीयबासीका कुरा सुन्न थाले । स्थानीयले आफ्ना कुरा राख्न थाले ।

धुनीबेंसी नगरपालिका-१ का भजु कान्छुले बञ्चरेडाँडाका स्थानीयले पनि सिसडोलबासीको जस्तै नियति भोग्नुपरेको भन्दै आफ्ना माग पूरा नभएसम्म कुनै हालतमा फोहोर फाल्न नदिने बताए ।

‘सात दिन काठमाडौंमा फोहोर थुनिंदा संसार पल्टिएको सास नै फेर्न नपाएको जस्तो गर्छन् । हामी ३६५ दिन लिचडमा डुबेर दुर्गन्ध सुँघेर बाँच्न बाध्य छौं,’ उनले भने ।

वर्षौंदेखि थुपारिएको फोहोरले ल्याण्डफिल्ड साइट वरपर बस्न नसकिने अवस्था रहेको भन्दै उनले काठमाडौं महानगरपालिका तथा सरकारले आफूहरुलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हकबाट बञ्चित गरेको गुनासो गरे ।

स्थानीयले न स्वच्छ हावा खान पाएका छन्, न त ढुक्कले सास फेर्न । ‘यहाँको अवस्थाका बारेमा सबैलाई थाहा छ । हाम्रो जीवन र स्वास्थ्यको कसले जिम्मेवारी लिने ?’ कान्छुले प्रश्न गरे ।

आफ्ना माग भोगिरहेको पीडाभन्दा निकै कम भएको भन्दै उनले स्थानीयलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता दिनुपर्ने सुझाए । उनले यसो भनिरहँदा त्यहाँ जम्मा भएको भीडले ताली पड्कायो ।

सरकार तथा विगतका मेयरले आफ्नो विश्वास तोडेको भन्दै उनीहरुले विगतका सरकार तथा महानगरले गरेको प्रतिवद्धता उधिन्न थाले ।

‘अति प्रभावित क्षेत्रका लागि भन्दै आठ शय्याको अस्पताल बनाउने एक किलोमिटर वरपरका वृक्षारोपण गर्ने र लिचड प्रशोधन गरेर खोलामा छाड्ने लगायतका प्रतिवद्धता खोइ ?’ उनले भने, ‘हामीले मात्रै मर्नुपर्ने भन्ने के छ र ?’

विज्ञको टोली ल्याएर नजिकको प्रभावित बस्ती स्थानान्तरण गरेर हुन्छ कि अन्य व्यवस्था गरेर हुन्छ समस्या समाधान नभएसम्म फोहोर फाल्न नदिने उनको अडान थियो ।

अर्की स्थानीय विमला न्यौपानेले फोहोरको दुर्गन्धका कारण बस्न नसकिने अवस्था सिर्जना भएको भन्दै त्यसको व्यवस्थापन नभएसम्म कुनै हालतमा पनि फोहोर ल्याउन नदिने बताइन् ।

‘यहाँको फोहोरको गन्धले खाना खान मन लाग्दैन । खोलाको पानी छुनुहुँदैन । हाम्रो पनि त जीवन हो । हामी कसरी बाँच्ने ?’ उनले सुनाइन् ।

ककनी गाउँपालिकाका अध्यक्ष श्रीसुमन तामाङले सिसडोल र बञ्चरेडाँडाका विषयमा मेयर उपमेयर दुवैलाई थाहा भएको भन्दै समाधानका उपाय लगाउन आग्रह गरे ।

‘हामी वर्षौंदेखि गन्ध खाइरहेका छौं, हावासँग रोग निम्त्याइरहेका छौं, अब यसको समाधान खोज्नुपर्छ,’ उनले भने ।

केही स्थानीयले आफ्ना कुरा राख्दै गर्दा कोहीले बीचबाट नाराबाजी समेत गरिरहे । ‘फोहोर माफिया होसियार’ भन्दै उनीहरुले आफ्ना माग पूरा नभए कुनै पनि हालतमा फोहोर ल्याउन नदिने जिकिर गरिरहे ।

उपमेयर सुनिता डंगोलले काठमाडौंको मात्रै नभई सिसडोल र बञ्चरेडाँडाको व्यवस्थापन समेत आफूहरुले प्राथमिकतामा राखेको र त्यसैका लागि स्थानीयसँग छलफलका लागि आएको बताइन् ।

‘फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर सबै निकायसँग निरन्तर छलफल सहकार्य गरिरहेका छौं । फोहोरको दीर्घकालीन समाधानका लागि प्रयास गरिरहेका छौं, यसमा सबैको साथ सहयोग आवश्यक छ,’ उनले भनिन् ।

स्थानीयका कुरा सुनेपछि मेयर बालेन बोल्न थाले । उनले काठमाडौंले घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याउँदा समस्या भएको र यसको सजाय सिसडोल र बञ्चरेडाँडाका स्थानीयले भोगिरहेको बताए ।

सिसडोलमा आइरहेको गन्ध हटाउन आफूहरु केमिकलको परीक्षणमा रहेको भन्दै केही दिनपछि केमिकल राखेर सिसडोलको गन्ध हटाउने जानकारी दिए । ‘तत्कालका लागि केमिकलको प्रयोग गरेर सिसडोलको गन्ध हटाउँछौं । केमिकल राखेको दुई दिनमा दुर्गन्ध हटिसक्छ । यो नै पहिलो समाधान हो,’ मेयर बालेनले भने ।

सिसडोललाई क्यापिङ गरेर राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने पनि उनले बताए । त्यहाँ भएको फोहोर सम्याएर त्यसमाथि बगैंचा निर्माण गरिने समेत उनले बताए । ग्यास निकाल्दा फाइदा हुने र डम्पिङसाइट पड्किनबाट समेत जोगिने उनले बताए ।

त्यसपछि मेयरले आफ्नो धारणा मात्रै राखेको भन्दै केहीबेर स्थानीयले विरोध गरे । केहीले उनीहरुलाई शान्त पार्ने प्रयास गरे । बालेनले पनि ‘तपाईंहरुकै कुरा सुन्नलाई आएका हौं,  भन्नुहोस्’ भनेपछि माहोल शान्त भयो ।

तीन महिनाभित्र तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म १२ दशमलव ५ किलोमिटर सडक पक्की हुने बताएपछि स्थानीयले काठमाडौं महानगरपालिकाले फोहोर फाल्नलाई सडक मात्रै बनाउन खोजेको र आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएको विरोध जनाए ।

धेरैले फोहोरमा सेटिङ भइरहेको र त्यसमा मेयर बालेनको पनि संलग्नता रहेको आशंका भएको समेत कुरा गरे ।

स्थानीयले ‘फोहोरका दलाल’ होसियार भनेर नाराबाजी गरेपछि बालेनले आफूलाई अरुसँग नदाँज्न आग्रह गर्दै आफूले पैसाका लागि कुनै साँठगाँठ गर्नुनपर्ने बताए ।

‘म स्वतन्त्र व्यक्ति हो, मलाई काम गर्न दिनुस् म काम गर्छु । तपाईंहरुले ७०-८० बिघाबारे सुन्नुभएको होला । म इन्जिनियर हुँ । माासिक साढे तीन लाख कमाउँछु । साँठगाँठ गर्न मेयर हुनुपर्ने अवस्था थिएन,’ बालेनले आश्वस्त पार्दै भने ।

उनले यति भनेपछि केहीले ताली बजाए भने केहीले मेयरलाई रचनात्मक सहयोग गर्न आफू तयार नै रहेको भन्दै आफ्ना पनि माग सुनिदिनुपर्ने बताए ।

ककनी गाउँपालिका-३ का श्रीहरि ढकालले सरकार र काठमाडौं महानगर जसले गरे पनि स्थानीयका माग सम्बोधन गरे फोहोर फाल्न कुनै अवरोध नहुने बताए । कक्षा ५ मा पढ्दा आफूलाई लड्डु खाएर सिसडोलमा काठमाडौंले फोहोर फालेको सम्झँदै ढकालले त्यही लड्डु अहिले आफ्ना लागि विष भएको गुनासो गरे ।

‘हामी पनि मान्छे हौं, हाम्रो पनि जीवन छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था र सकेसम्म बस्ती स्थानान्तरण बाहेक के नै मागेका छौं र ?’

ककनी गाउँपालिका र धुनीबेंसी नगरपालिकाका अति प्रभावित १, २ र ३ नम्बर वडाका बासिन्दालाई स्थानान्तरण गरेर फोहोर विसर्जन गर्नुपर्ने उनले सुझाए । ढकालले सिसडोल र बञ्चरेडाँडा फोहोरी भएकाले जग्गा जमिन बेच्न खोज्दा पनि कसैले नकिन्ने र बैंकले समेत ऋण दिन नमान्ने बताए ।

‘विगतका सरकारले र मेयरले काम गरेनन्  भनेर काम नरोकौं । म काम गर्छु भनेर आएको हुँ । मलाई विश्वास गर्नुस् । विश्वास गर्नुबाहेक कुनै विकल्प पनि त छैन,’ मेयर बालेनले भने, ‘यत्रो २० वर्ष कुर्नु भयो फेरि तीन-चार महिना कुरिदिनुस् ।’

उनले ढाँट्न र छल्न केही महिना समय लाग्छ भनेको नभई कुनै काम एक साता, कुनै महिना र कुनै दुई-तीन महिना नै लाग्ने भएकाले समय मागेको बताए ।

यति भनेपछि बालेन र सुनिता बञ्चरेडाँडाबाट बाहिरिए ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?