+
+

स्थानीय चुनाव : पहिले हारे, अहिले हराए

महेश न्यौपाने महेश न्यौपाने
२०७९ जेठ २० गते १९:२१

२० जेठ, रोल्पा । गंगादेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन निर्वाचित भए । नेपाली पुन दुई हजार ५५७ मतका साथ निर्वाचित हुँदा नेकपा एमालेका रोशनकुमार वलीले दुई हजार ४९९ मत प्राप्त गरी दोस्रो स्थानमा रहे ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर खत्रीले दुई हजार ४१४ मतका साथ विजयी हुँदा तेस्रो स्थानमा रहेका पुनले दुई हजार २६१ मत प्राप्त गरेका थिए । अहिले ठीक उल्टो भएको छ । यस पटक नेपाली काँग्रेसका पुनले चुनाव जित्दा माओवादी केन्द्रका खत्री तेस्रो स्थानमा रहे ।

सोही गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृता केसी निर्वाचित भइन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मलाकुमारी वलीले दुई हजार ४४२ मत प्राप्त गर्दा केसीको पक्षमा दुई हजार ९०९ मत आएको थियो । २०७४ सालको निर्वाचनमा केसीले दुई हजार ११५ मतका साथ पराजित हुँदा माओवादी केन्द्रकी रीताकुमारी घर्तीमगरले दुई हजार ३९९ मतका साथ निर्वाचित भएकी थिइन् ।

रुन्टीगढी गाउँपालिका अध्यक्षमा निर्वाचित जनक पुन निर्वाचित भए । नेपाली कांग्रेसका उम्मेदवार पुन चार हजार ३९१ मतका साथ निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका गोविन्द पुनले तीन हजार ७०८ मत प्राप्त गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुन्टीगढी गाउँपालिका वडा नं ७ को वडाध्यक्षको उम्मेदवार बनेका पुन नेकपा माओवादी केन्द्रका उम्मेदवार जंगबहादुर घर्तीमगर संग पराजित भएका थिए । घर्तीमगर ३८६ मतका साथ वडाध्यक्षमा निर्वाचित हुँदा पुनले ३७४ मत प्राप्त गरेका थिए ।

सोही गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित सरिता केसीले २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार छमाया पुनसंग पराजित भएकी थिइन् । पुनले तीन हजार ४५२ मतका साथ उपाध्यक्ष निर्वाचित हुँदा केसीले तीन हजार ३७९ मत प्राप्त गरेकी थिइन् ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेकी केसी चार हजार ४३७ मतका साथ विजयी हुदा नेकपा एमालेका उम्मेदवार हस्तमाली बाँठा तीन हजार ६३६ मतका साथ पराजित भएकी थिइन् ।

रुन्टीगढी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भिउलाल पुन निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार वेदवहादुर विष्टलाई हराउदै उनी निर्वाचित भएका हुन् । पुनले ४६९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार विष्टले ४२२ मत ल्याएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवार वनेका भिउलालले ३११ मत प्राप्त गरी पराजित हुदा नेपाली काँग्रेसका पुनाराम पुनमगर ३१६ मत ल्याई विजयी भएका थिए ।

रोल्पा नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसका राजकुमार पुरी निर्वाचित भएका छन् । पुरीले ६७९ मतका साथ विजय हासिल गर्दा नेकपा माओवादी केन्द्रका भरत विष्टले ५२४ मत प्राप्त गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट उम्मेदवार बनेका पुरीले ४५२ मत प्राप्त गरी पराजित हुँदा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थापा ५०५ मतका साथ निर्वाचित भएका छन् ।

रोल्पा नगरपालिका वडा नं १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मतिलाल डाँगी निर्वाचित भए । डाँगी १२५६ मतका साथ निर्वाचित हुँदा नेपाली काँग्रेसका उम्मेदवार मानबहादुर खत्रीले ६३२ मत प्राप्त गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा खत्रीले ७०८ मत प्राप्त गरी निर्वाचित हुँदा डाँगीको पक्षमा ६२३ मत आएको थियो ।

थवाङ गाउँपालिका वडा नं ४ मा नेकपा एमालेका हिक्मत घर्तीमगर वडाध्यक्षमा निर्वाचित भए । एमालेका घर्तीमगरले ३३७ मत ल्याई निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका ३१२ मतका साथ पराजित भएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका हिक्मतले १९२ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उदीम घर्तीमगर २८० मतका साथ विजयी भएका थिए ।

त्रिवेणी गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तीला वली ४७० मत प्राप्त गरी निर्वाचित छन् । उनलाई नेपाली कांग्रेसका बालाराम डाँगीले २६८ मतका साथ पछ्याएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादीको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार बनेकी वली २५१ मतका साथ पराजित हुँदा नेकपा एमालेका उम्मेदवार टीकाराम वली क्षेत्रीले ३७३ मत प्राप्त गरेका थिए ।

सुनछहरी गाउँपालिका वडा नं २ मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर बुढामगर ४०० मतका साथ वडाध्यक्षमा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तेमन घर्तीमगर लाई २६६ मतका साथ हराएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तेमन घर्तीमगरले २७५ मतका साथ चुनाव जित्दा वुढामगरको पक्षमा २२६ मत आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?