+
+

‘जीवन पनि सगरमाथा उक्लिने बाटोजस्तै रहेछ !’

विकास रोकामगर विकास रोकामगर
२०७९ जेठ २१ गते १९:१५

म तिमी उभिएको ठाउँको घडी भनिदिन सक्छु
तिमी हिँडेको बाटोको लम्बाइ भनिदिन सक्छु
तिमीले तरेको नदीको चौडाइ भनिदिन सक्छु
तिमीले चढेको पहाडको उचाइ भनिदिन सक्छु ।

तिम्रो कित्तामा फित्ता लगाई
तिम्रो सम्पत्ति यत्ति छ पनि भनिदिन सक्छु ।
अनि यी सारा बेनामे पहाडहरु पूरै पढाइ दिन पनि सक्छु ।
देख्दै नदेखेर पनि नापेर नक्सा
तिम्रा सबै खेल थाहा पाइदिन सक्छु ।

अपसोच,
मेरो नियतीको खेल म थाहा पाउन सक्दिनँ ।

****

उल्लेखित कवितांश सर्भेयर खिमलाल गौतमको सिर्जना हो । जसमा उनका केवल शब्दमात्रै छैन, आफ्नै जीवनको छायाँ उतारेका छन् । पोखरास्थित एक होटलमा यो कविताका हरफ वाचन गर्दैगर्दा दर्शकदीर्घामा मौनता छाएको थियो भने उनी स्वयं भावुक देखिन्थे ।

गौतमको घरको धुरीदेखि माछापुच्छ्रेको धुरीसम्मको दूरी जम्मा २० किलोमिटर छ । यो उनले त्यहीं पुगेर मापन गरेका भने होइनन्, प्राप्त नक्सालाई मापन गर्दा निस्किएको दूरी हो । तर, उनले आफ्नो क्षेत्रभन्दा कोशौं दूरी पारिको सगरमाथाको उचाइ नापेर आएका छन् ।

८ हजार ८४८.८६ मिटर अब यो कुनै नम्बरमात्रै रहेन । विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो पटक पुष्टि भएको नयाँ उचाइ हो । र, यस सर्वेक्षण टोलीका अगुवा थिए, सर्भेयर गौतम । गौतम एक पटक आरोहीका रुपमा र अर्को पटक सगरमाथा उचाइ नाप्ने टोलीको संयोजकका रुपमा सर्वोच्च शिखरको धुरीमा सफल आरोहण गरेका छन् ।

आफू २ पटक सगरमाथाको उचाइ पुग्दाको स्वअनुभव र केही संस्मरण संगालेर गौतमले ‘पन्ध्रौं चुली’ नामक नियात्रा संग्रह प्रकाशन गरेका छन् । शनिबार सोही कृतिको पोखरामा गृह विमोचन भएको छ । कृति वरिष्ठ साहित्यका सरुभक्त र नापी विभागका पूर्वमहानिर्देशक मधुसूधन अधिकारीले विमोचन गरेका हुन् ।

सोही विमोचन कार्यक्रममा गौतमले आफूले सगरमाथा चढ्दा भोगेका, पाएका र गुमाएका प्रसंगहरु सुनाए । उनले सगरमाथा चढ्दा अक्सिजन अभावमा मृत्युलाई नजिकबाटै नियालेको अनुभवदेखि आरोहणकै दौरान सन्तान पनि गुमाएका छन् । ०७५ फागुन अन्तिममा जब उनको नेतृत्वमा सगरमाथाको उचाइ नाप्ने टोली उकालो उक्लँदै थियो । ठीक त्यही समय उनकी गर्भवती श्रीमती दिल्लीको एक अस्पतालमा थिइन् ।

एकातिर राज्यले गौतमलाई ऐतिहासिक जिम्मेवारी सुम्पिएको थियो भने अर्कातिर प्रश्रव पीडामा श्रीमती थिइन् । दूर्भाग्य ! न त उनले सन्तान बचाउन सके न त दुखको बेला जीवन साथीसँग हुन सके । उनले राज्यले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरे । मान, सम्मान, इज्जत, सम्पत्ति सबै पाए । तर, सबथोक पाएर पनि केही गुमाएको लागिरहने उनी सुनाउँछन् ।

‘सानो तहदेखि नेपाल सरकार उपसचिव तहमा आइसकेको छु । सबै चिज पाएको छु । सबै चिज छ । तर, पनि केही केही नभएकोजस्तो फिलिङ्स भइरहन्छ,’ गौतम भन्छन्, ‘मान्छेको जीवन पनि सगरमाथा उक्लिने बाटोजस्तै रहेछ ! सम्म, सजिलो बाटो हुँदैन । जीवनमा पनि खुम्बु आइसफलहरु छन् । कहिले अकस्मात टाउको बज्रन्छ, कहिले टेकेको जमिन भासिन्छ ।’

गौतमले सन् २०११ मा पहिलो पटक निजामती कर्मचारीको रुपमा सगरमाथाको आरोहण गरेका थिए । उनी सगरमाथा टेक्ने पहिलो निजामती कर्मचारी पनि हुन् । तर, दोस्रो पटकको आरोहणमा भने उनी आरोहीमात्रै नभएर सगरमाथा नाप्न त्यहाँ पुगेका हुन् । उनले दोस्रो पटक २०७६ जेठ २ गते सगरमाथा चुचुरोमा दोस्रो पटक पाइला टेकेका थिए ।

गौतमकै टोलीले सर्वेक्षण गरेर ल्याएको नापका आधारमा नेपाल र चिनियाँ सरकारले संयुक्त रुपमा २०७७ मंसिर ८ गते सगरमाथाको नयाँ उचाइ ८८४८.८६ लाई मान्यता दिएका थिए । जुन अघिल्लो पटकभन्दा ०.८६ मिटर अग्लिएको हो ।

‘हाम्रा हिमाललाई हाम्रै दृष्टिले हेर्न संग्रहित गरें’

गौतमले सगरमाथाबाट फर्किसकेपछि बजारमा नेपाली हिमालबारे पुस्तक खोज्दा नपाएपछि आफूले संग्रहित गर्ने योजना बनाएको सुनाए । उनले नेपालका हिमालबारे विदेशी आरोहीले थुप्रै पुस्तक लेखेको भए पनि नेपाली आरोहीको भने नगन्य पाएपछि खिन्न भएको बताए ।

‘हिमाल देखाएर नेपालले गर्व गर्छ । बजारमा नेपालका हिमालबारे कयौं मोटामोटा, ठेलीका ठेली किताब पाइन्छ । तर, सबै विदेशीले लेखेका,’ कार्यक्रममा गौतमले पुस्तक तयार पार्नुको भित्री पाटो खुलाए, ‘हाम्रै दृष्टिमा हाम्रो हिमाल के हो त नि ? भन्ने हामीलाई नै थाहा छैन । त्यसैले पनि लेख्नुपर्छ भन्ने लाग्यो ।’

शनिबार पोखरामा गृह लोकार्पण गरिएको किताबमा आफूले केही भावना र भूगोललाई समिश्रण गरेको सुनाए । ‘किताबको पहिलो भागमा यात्राका क्रममा मेरा भावना समेटेको छु भने दोस्रो खण्डमा भूगोल समेटेको छु’ उनले भने । उनको किताब फाइनफ्रिन्टले प्रकाशन गरेको हो ।

गौतमले आफूले किताब लेख्दा थुपै ठाउँमा ठोक्किएको, झुक्किएको, तड्पिएको सुनाए । ‘सगरमाथाको उचाइभन्दा बढी गहिराइ बढी भएको मैले महसुस गरेको थिएँ । त्यसबाहेक पनि मेरा थुप्रै निजी अनुभव थिए, जसलाई मर्न दिनुहुँदैन भन्ने लाग्यो र किताब निकाल्नुपर्छ भन्ने सोचें,’ उनले भने ।

२ पटक सगरमाथाको सफल आरोहण गरेको भए पनि आफू आरोही नभएको उनको प्रष्टोक्ति थियो । ‘म आरोही होइन । राष्ट्रसेवक कर्मचारी नै हुँ । म आरोहण गर्न होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्नमात्रै गएको हुँ,’ गौतम भन्छन्, ‘मलाई शेर्पा साथीहरुले आरोही बनाएका हुन् । खास म सर्भेयर नै हुँ ।’

हिमाली साहित्यमा गरिब छौं : सरुभक्त

०६० सालमा सगरमाथासम्बन्धी ‘चुली’ उपन्यास प्रकाशन गरेका साहित्यकार सरुभक्तले नेपालको हिमाली क्षेत्र संस्कृति र सम्पदामा धनी भए पनि साहित्यको मामिलामा गरिब भएको बताए । नेपाल २ हजारभन्दा बढी हिमाल भए पनि नेपालीले नै चिन्न नसकेको उनको गुनासो थियो ।

‘हिमाल छन् भन्नेमात्रै भयो । तर, त्यही हिमालकै कारण धनी छौं भन्ने नेपालीलाई नै थाहा छैन,’ सरुभक्तले भने, ‘नेपालका हिमालबारे लेखिएका विदेशी लेखकका दर्जनौं पुस्तक छन् । तर, ती पुस्तक नेपालीको सीमाभित्र पर्दैनन् ।’

उनले सगरमाथालाई नेपालको हुने गरी मान्यता दिलाउने तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ शासक माओ धन्यवादका पात्र रहेको सुनाए ।

नापी विभागका तत्कालीन महानिर्देशक तथा सीमाविद् मधुसुदन अधिकारीले सगरमाथा मापनको कारक ०७२ को भूकम्प रहेको खुलाए । उनले भूकम्पपछि सुरुमा काठमाडौं मापन गरिएको र त्यसपछिमात्रै सगरमाथा मापन गर्ने योजना बनेको सुनाए ।

प्रकाशक फाइनप्रिन्टका अजित बरालले हिमाली साहित्य कम रहेको र पन्ध्रौं चुलीले त्यसको पूर्ति गर्ने दाबी गरे । ‘पन्ध्रौं चुली केवल नियात्रामात्रै होइन । यो सगरमाथाको इतिहास पनि हो,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?