+
+

बालेनलाई साथ दिँदै सार्वजनिक प्रयोगका लागि खुल्न थाले होटल-रेस्टुरेन्टका शौचालय

अंगद सिंह अंगद सिंह
२०७९ जेठ २३ गते १९:५४
तस्वीर : आरडीएक्सको फेसबुक पेजबाट

२३ जेठ, काठमाडौं । राजधानी सहरको दुःख, दिसा-पिसाब गर्नका लागि शौचालयको अभाव छ । एकाध ठाउँमा शौचालय त छ, तर भद्रगोल अवस्थामा । न सरसफाइ छ, न सुरक्षा नै, सफा पानी छैन । ढोकाको चुकुल छैन । सर्वत्र दिसा-पिसाबको दुर्गन्ध फैलिएको छ ।

त्यसैले किनमेल वा काम विशेषले सहर परिक्रमा गर्नेहरुलाई दिसा-पिसाबको तनाव हुन्छ ।

सर्वसाधारणको यही आधारभूत समस्यालाई बुझेर महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले होटल-रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतमा भएको शौचालय सार्वजनिक प्रयोगका लागि खुला राख्न आह्वान गरे । सुरुवातमा यसका सकारात्मक प्रभाव देखिन थालिएको छ । कतिपय होटल-रेस्टुरेन्टले आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको सूचना जारी गरेको छ, त्यो पनि हार्दिकतापूर्वक ।

रमाइलो त के भने, सूचना बोर्डमा ‘बालेनको समर्थन’मा भनी लेखिएको छ । यसको सकारात्मक तरंग काठमाडौंबाहिर पनि फैलिएको छ । इलामको पर्यटकीय गन्तव्य कन्यामदेखि तनहुँको बन्दीपुरसम्मका रेस्टुरेन्टले बालेनको समर्थनमा आ-आफ्नो शौचालय सर्वसाधारणका लागि खुला गरिदिएको छ ।

सार्वजनिक शौचालयको समस्या व्याप्त रहेको महानगरमा यसले सर्वसाधारणलाई केही राहत दिएको छ । घरबाहिर निस्किंदा जहिल्यै शौचको चिन्ता गरेर निस्किनुपर्ने महानगरका सर्वसाधारणले केही होटल तथा रेस्टुरेन्टका शौचालय निःशुल्क प्रयोग गर्न पाउने भएका छन् ।

बालेनको निर्णयको प्रभाव काठमाडौंमा मात्रै नभई काठमाडौं बाहिर पनि परेको छ । बुटवलमा रहेको रोयल फुड कोर्टले शुक्रबारदेखि होटलमा रहेको तीन शौचालय सार्वजनिक प्रयोजनका लागि खुला राखेका छन् ।

यसअघि भने शौचालय प्रयोग गर्न सर्वसाधारणलाई चिया, खाजाको बहाना बनाएर होटल तथा रेस्टुरेन्ट छिर्नुपर्ने बाध्यताको अन्त्य हुँदैछ ।

ठमेलमा रहेको आरडी एक्स ट्याटु एण्ड बारले बुधबारदेखि शौचालय सर्वसाधारणका लागि खुला गरेको छ ।

बालेनको निर्णय राम्रो लागेर आफ्नो तर्फबाट पनि केही गर्न सक्छौं भनेर सार्वजनिक शौचालय सर्वसाधारणका लागि खुला गरेको ट्याटु एण्ड बारका सञ्चालक राजेश बज्राचार्यले बताए ।

‘बालेनको भिजन राम्रो लागेर केही सहयोग गर्न सक्छौं भनेर शौचालय सर्वसाधारणको प्रयोगमा ल्याएका हौं,’ बज्राचार्यले भने, ‘केही गरौं भन्ने युवालाई सबै मिलेर साथ दिनुपर्छ ।’

उनले बार अगाडि ‘बालेन हाम्रा लागि, हामी बालेनका लागि’ लेखिएको बोर्ड नै राखेका छन् । बोर्डमा लेखिएको नारा देखेर सर्वसाधारणलाई शौचालयसम्म पुग्न सहज भएको छ ।

काठमाडौंको वसन्तपुरमा रहेको डक गल्बी कोरियन हाउसले पनि बालेनलाई सहयोग भन्दै सार्वजनिक प्रयोजनका लागि शौचालय खुला राखेको छ ।

बिहीबारदेखि निःशुल्क रुपमा शौचालयको प्रयोग गर्न दिएको डक गल्बीले काठमाडौंमा सार्वजनिक शौचालयको समस्याबाट मुक्ति पाउन बालेनको अभियानलाई साथ दिन आग्रह गरेको छ ।

‘काठमाडौंमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले निकै सास्ती पाइरहेका छन्, यो सास्तीलाई कम गर्न सकिन्छ कि भनेर शौचालय प्रयोग गर्न दिने निर्णय गरेका हौं,’ हाउसका सञ्चालक प्रविन जोशीले भने ।

काठमाडौंमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले दिसा-पिसाब च्यापेर बस्नु परेको तीतो यथार्थ सम्झँदै उनले भने, ‘कसैले राम्रो गरौं भन्दा सबैले आफ्नो तर्फबाट सक्ने सहयोग गरे पो विकास हुन्छ ।’

बालेनको निर्णयको प्रभाव काठमाडौंमा मात्रै नभई काठमाडौं बाहिर पनि परेको छ । बुटवलमा रहेको रोयल फुड कोर्टले शुक्रबारदेखि होटलमा रहेको तीन शौचालय सार्वजनिक प्रयोजनका लागि खुला राखेका छन् ।

बुटवलको व्यस्त स्थान हो पुष्पलाल पार्क । जहाँ दैनिक ग्राहकका साथै लुम्बिनी नर्सिङ होमका बिरामीका कुरुवाको समेत भीड लाग्ने गर्छ ।

‘मैले वर्षौंदेखि तिनै नेता देखेको भोगेको छु, जसले कहिल्यै राम्रो र जनताको पक्षका काम गरेनन्,’ रोयल फुड कोर्टका सञ्चालक केशव भुसाल भन्छन्, ‘युवाले केही गर्र्छ भनेर उसको समर्थनमा यो निर्णय गरेको हुँ ।’

अबको समय युवाको भएकाले राम्रो र विकासवादी सोचको सबैले सम्मान र कार्यान्वयनका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘बालेनले काठमाडौंका लागि भने होलान्, तर राम्रो काम जहाँ बसेर पनि गर्न सकिन्छ,’ उनले भने । उनले पानीसहितका तीनवटा शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न पाउने गरी सञ्चालनमा ल्याएको बताए ।

त्यस्तै इलामको कन्याम इन होटलले पनि सर्वसाधारणको सहजताका लागि भन्दै शौचालय खुला गरेको छ । होटलका सञ्चालक टिका ओडारीले कन्याम पर्यटकीय स्थल भए पनि सार्वजनिक शौचालयको अवस्था भने नाजुक रहेको बताए ।

‘भन्नलाई इलाम सुन्दर र पर्यटकीय स्थल हो भन्छन् । तर व्यवहारमा कन्याममा फ्रेस हुन बगानमा छिर्नुपर्छ,’ उनी भन्छन्, ‘कन्याममा रहेको शौचालयको समस्याबाट पार पाउन यस्तो निर्णय गरेको हुँ ।’

कन्याम नजिक सार्वजनिक शौचालय नभएको र टाढाका पनि दुर्गन्धित तथा पानीको समस्या भएको उनले बताए । ‘काठमाडौंका मेयर बालेनको कुरा सुनेपछि राम्रो काम जहाँ बसेर पनि गर्न सकिन्छ भनेर गरेको हुँ । यसले सर्वसाधारणलाई निकै फाइदा पु¥याएको छ,’ उनले अनलाइनखबरसँग भने ।

तस्वीर : सामाजिक सञ्जालबाट

काठमाडौंको ठमेलमा रहेको केटीएम ह्यानकुक सराङले पनि सर्वसाधारणका लागि भन्दै निःशुल्क शौचालय प्रयोग गर्न दिएको छ । रेस्टुरेन्टमा भएका चार शौचालयलाई उनले सर्वसाधारणका लागि भन्दै खुला राखेका छन् । बालेनको निर्णयलाई सफल बनाउन यस्तो गरेको ह्यानकुकले बताएको छ ।

ठमेलमा रहेको उक्त रेस्टुरेन्टका रिसेप्सनिष्ट निमा लामाले सर्वसाधारणलाई सहजता प्रदान गर्न र बालेनलाई सहयोग गर्न यस्तो निर्णय गरेको बताए ।

यस्तै बानेश्वर थापागाउँमा रहेको अक्टोबर क्याफेले पनि आफ्नो शौचालय सार्वजनिक प्रयोजनका लागि प्रयोगमा राखेको छ । क्याफेका सदस्य कविता जिरेलले करिब एक सातादेखि शौचालयलाई सार्वजनिक प्रयोजनका लागि खुला गरेको बताइन् ।

‘शौचालय नपाउँदा समस्या भोगिरहेका सर्वसाधारणका लागि यस्तो निर्णय गरेका हौं,’ उनले अनलाइनखबरलाई सुनाइन् ।

त्यस्तै होण्डा शोरुमले पनि आफ्ना हरेक शाखामा सर्वसाधारणका लागि भन्दै निःशुल्क शौचालयको व्यवस्था गरेको छ । अहिले बजारमा सार्वजनिक प्रयोजनका लागि भन्दै सार्वजनिक शौचालय प्रयोग गर्न दिनेको संख्या बढ्दै गइरहेको छ ।

राजधानीका केही होटल तथा रेस्टुरेन्टले सर्वसाधारणलाई निःशुल्क शौचालय प्रयोग गर्न दिने भनेपछि सार्वजनिक शौचालय सफाइ गरिदिने समूह समेत सहयोग गर्न आइरहेका छन् ।

काठमाडौंको बसुन्धारामा रहेको आरेन्ज बल संस्थाले काठमाडौंभित्रका सर्वसाधारणका लागि खुला गरिएका शौचालयको निःशुल्क सरसफाइ गर्ने निर्णय गरेको छ ।

ओरेन्ज बलका कार्यकारी निर्देशक विधानन्द झा स्वस्थ शौचालय बनाउने उद्देश्यले निःशुल्क रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल तथा रेस्टुरेन्टका शौचालय सफा गर्ने बताए ।

हामीले मेयर बालेनको सपना र कामलाई सहयोग गर्ने गरी काम गर्न खोजेका हौं,’ झाले भने, ‘हामीले वर्षको ३६५ दिनमा ३६६ सार्वजनिक शौचालय सफा गर्ने निर्णय गरेका छौं ।’

उनले काठमाडौंको परिवर्तनका लागि उक्त कदम चालेको भन्दै परिवर्तन आफैंबाट सुरु गर्नुपर्ने बताए । एक साताभित्र विधिवत् रुपमा काम सुरु गर्ने भए पनि अहिले नै कुनै होटल-रेस्टुरेन्टले फोन गरे आफूहरु तयार रहेको बताए ।

‘हामी होटल तथा रेस्टुरेन्टको फोन कुरिरहेका छौं, फोन आए तुरुन्त हाजिर हुन्छौं,’ कार्यकारी प्रमुख झाले भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता वसन्त आचार्यले निःशुल्क रुपमा सार्वजनिक प्रयोजनका लागि शौचालय प्रयोग गर्न दिनेहरुसँग सम्झौता गरेर अघि बढ्ने बताए ।

शौचालयको प्रयोगका लागि महानगर सम्झौता पत्र तयार गर्दैछ,’ आचार्यले भने, ‘व्यवसायी सम्पर्कमा आइसकेपछि महानगरको नगर कार्यपालिकाको बैठकले निर्णय गर्नेछ । अहिले नै सम्झौता यस्तो हुन्छ भन्न सकिंदैन ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?