+

जापानमाथि ब्राजिलको संघर्षपूर्ण जित

२०७९ जेठ  २३ गते १८:५५ २०७९ जेठ २३ गते १८:५५
जापानमाथि ब्राजिलको संघर्षपूर्ण जित

२३ जेठ, काठमाडौं । जापानसँगको मैत्रीपूर्ण फुटबलमा ब्राजिलले १–० को संघर्षपूर्ण जित निकालेको छ ।

ब्राजिललाई जिताउन खेलको एक मात्र गोल नेइमारले ७७औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।

टोकियोको नयाँ राष्ट्रिय रंगशालामा भारी वर्षाकाबीच भएको खेलमा जापानी खेलाडीले नेइमारलाई अल्झाए पछि ब्राजिलले पेनाल्टी पाएको थियो ।

जसलाई सदुपयोग गर्दै नेइमारले ब्राजिलका लागि व्यक्तिगत ७४औं गोल गरे । नेइमार ब्राजिलका लागि गोल गर्नेमा पेलेभन्दा ३ गोलले पछि छन् । पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए ।

ब्राजिलसँगको कुनै पनि खेल जित्न नसकेको जापानको यो ११ औं हार हो । यी दुई बीच जम्मा १३ खेल भएकोमा २ खेल मात्र बराबरी भएको छ ।

एशिया भ्रमणमा रहेको ब्राजिलले गत बिहीबार भएको खेलमा दक्षिण कोरियामाथि ५–१ को फराकिलो जित हात पारेको थियो ।

तर जापानसँगको खेलमा नेइमारले पाएका केही मौका खेर फालेका थिए । यस्तै लुकास पक्वेटाको प्रहार पनि पोलमा लागेर फर्केको थियो । त्यसैले ब्राजिलले १–० को जितमै चित्त बुझाउनु पर्‍यो ।

जापानसँगको जितसँगै ब्राजिलले पछिल्ला १३ खेलमा पराजय भोग्नु परेको छैन ।

ब्राजिल मैत्रीपूर्ण फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय