+
+

पोखराका मेयर आचार्य सुरुमै आलोचित !

विकास रोकामगर विकास रोकामगर
२०७९ जेठ २३ गते १९:२४

२३ जेठ, पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले कार्यभार सम्हालेको केही समयपछि सामाजिक सञ्जालमा लेखे, ‘अत्यावश्यक कामबाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई काम गर्ने वातावरण बनाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’

राम्रो कामको सुरुआत गरेको भन्दै मेयर आचार्यले सकारात्मक प्रतिक्रिया पनि पाए । तर, उनी आफ्नै सार्वजनिक घोषणामा अडिग रहन सकेनन् । गएको शुक्रबार उनी एक सहकारी संस्थाको उद्घाटन गर्न पुगे ।

त्यसअघि मेयर आचार्य महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायण शर्माको जन्मदिनमा मनाउन एक होटलमा पुगेका थिए । त्यहाँ काटिएको केकमा महानगरपालिका र दुई गैर सरकारी संस्थाको लोगो देखिएपछि मेयरको समेत आलोचना भएको थियो ।

वरिष्ठ कानुन अधिकृत शर्मा महानगरका विवादित कर्मचारी हुन् । गत वर्ष शर्माले महानगरका लेखा प्रमुख जयराम पौडेललाई कार्यालयमै ज्यान मार्ने धम्की दिएको घटना सार्वजनिक भएको थियो ।

नेतृत्व विकास तालिम पनि विवादमा

पोखरा महानगरपालिकाले हालै नवनिर्वाचित जनप्रतिनिधि र विभिन्न महाशाखाका प्रमुख कर्मचारीका लागि नेतृत्व विकास तालिम सञ्चालन ग¥यो । कास्कीको अन्नपूर्ण गाउँपालिका, नौंडाँडास्थित देउराली रिसोर्टमा सञ्चालित ३ दिने तालिममा मेयर आचार्यले लायन्स क्लबलाई पनि सहभागी गराएका थिए ।

महानगरको स्रोत खर्चेर महानगरसँग असम्बन्धित व्यक्तिलाई आयोजकको दर्जा दिएपछि जनप्रतिनिधि र कर्मचारी नै असन्तुष्ट बनेका छन् । ‘महानगर लायन्स क्लब होइन । राज्यको स्रोत दुरुपयोग गरेर महानगरसँग असम्बन्धित व्यक्तिलाई किन आयोजकको दर्जा दिइयो ?’ महानगरका एक जनप्रतिनिधिले भने, ‘महानगरको मेयर आफैं भइसकेपछि पाइलट, को–पाइलटको फुर्को जोड्न जरुरी थिएन ।’

उनका अनुसार तालिममा मेयर आचार्यले आफूलाई पाइलट र लायन्स क्लबका चण्डीराज अर्याललाई को–पाइलट भनी चिनाएका थिए ।

प्रमाणपत्र वितरण गर्दासमेत उपमेयरसहित महानगरका कर्मचारीलाई बेवास्ता गरिएको उनीहरुले गुनासो गरेका छन् । ‘सबै मिलेर लागौं भन्ने । तर, समन्वय भएन,’ महानगर स्रोत भन्छ, ‘तालिममा सहभागीलाई स्वागतका लागि पनि मेयर साबका श्रीमती, छोरीहरुको हालीमुहाली थियो ।’

मेयर, उपमेयरसहित ८१ जनालाई दिइएको उक्त तालिममा मुख्य प्रशिक्षक रञ्जित आचार्य थिए । कर्मचारी तथा जनप्रतिनिधिलाई फेवा, दीपाङ, बेगनास, रुपा, मैदीलगायत विभिन्न समूहमा बाँडेर तालिम दिइएको थियो ।

महानगरका सूचना अधिकारी भरत पौडेलले महानगरकै स्रोतबाट उक्त तालिम सञ्चालन गरिएको र १० लाख बढी खर्च भएको जानकारी दिए । ‘खर्च स्टिमेट १० लाखको थियो । अहिले सबै खर्चको विवरण आइसकेको छैन । कलेक्सन गर्र्दैछौं,’ उनले भने ।

‘कर्मचारी र जनप्रतिनिधिलाई ऊर्जा मिलेको छ’

तालिमबारे आलोचना सुरु भएपछि यसबारे प्रतिक्रिया लिन टेलिफोन गर्दा मेयर आचार्यका सहयोगी (भतिजा) खेम आचार्यले फोन उठाए । उनले यसबारे मेयर आचार्य व्यस्त भएको र सबै जानकारी प्रेस संयोजक गोविन्द सुवेदीसँग लिन भन्दै पन्छिए ।

मेयर आचार्यका प्रेस संयोजक सुवेदीले भने तालिमले कर्मचारी र नयाँ जनप्रतिनिधिलाई नयाँ ऊर्जा पैदा भएको दाबी गरे । ‘खासगरी कर्मचारी र जनप्रतिनिधिबीचमा भावनात्मक घुलमिल गर्न र कार्यालयभित्र सधैं काम गरिरहँदा मोनोटोनस हुन्छ,’ उनले भने, ‘त्यसलाई शान्त रुपले चिन्तन, मनन गर्न गतिलो प्लेटफर्म पैदा भो ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?