+
+

बल प्रयोग गरेर फोहोर फालियो, भोलि के हुन्छ थाहा छैन !

अमृत चिमरिया अमृत चिमरिया
२०७९ जेठ २४ गते २१:२२

२३ जेठ, काठमाडौं । स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन गरेर काठमाडौंबाट फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसालिएको छ । यसअघि नै संकलन गरेर १५७ वटा गाडीमा लोड भइराखेको फोहोर मंगलबार दिउँसो ल्याण्डफिल साइटमा खसालिएको हो ।

सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति गरेका थिए । सो सहमतिपछि मंगलबार १५७ वटा गाडी फोहोर फाल्न वञ्चरेडाँडातर्फ जाँदा स्थानीय वासिन्दाले वञ्चरेडाँडा आसपासको क्षेत्रमा अवरोध गरेका थिए ।

उनीहरुले जनप्रतिनिधिले गरेको सहमतिप्रति आपत्ति जनाउँदै फोहोर फाल्न नदिने अडान लिएका थिए । केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।

तर प्रहरी परिचालन गरेर प्रदर्शनमा उत्रिएकालाई लाठीचार्ज र नियन्त्रणमा लिएर ट्रकहरु ल्याण्डफिल साइटमा पुर्‍याइएको थियो ।

बञ्चरेडाँडा संघर्ष समितिका सदस्य श्रीहरि ढकालका अनुसार प्रहरीले १९ जना स्थानीय वासिन्दालाई नियन्त्रणमा लिएको छ । ‘बञ्चरेडाँडामा सयौं प्रहरी छन् । आन्दोलनरत हाम्रा साथीहरुलाई प्रहरीले कुटपिट गरेका छन् । धेरै साथीहरु घाइतेसमेत भएका छन्’ मंगलबार दिउँसो उनले अनलाइनखबरसँग टेलिफोनमा भने ।

स्थानीय संघर्ष समितिलाई अवहेलना गरेको भन्दै उनले चुप नबस्ने बताए । ‘हाम्रो संघर्ष समिति पनि छ । यहाँका स्वतन्त्र मान्छेहरु पनि छन्, हामीलाई पार्टी र पैसाको लागि आएको भनेर आरोपित गरिएको छ, हामी हाम्रो स्वस्थ जीवन र भविष्यको लागि आएका हौं’ ढकालले भने ।

बञ्चरेडाँडाको डम्पिङ साइट नजिकैका वासिन्दा समीर ढुंगानाका अनुसार अघिपछि प्रहरी राखेर फोहोरका गाडी वञ्चरेडाँडा लगिएको थियो । ‘फोहोर बोकेका गाडीको अगाडि, पछाडि प्रहरीहरु छन् । वरिपरि जानेवित्तिकै प्रहरीले लाठीचार्ज गरिरहेका छन् । हामी सडकका छेउछाउमा बसेर आन्दोलन गरिरहेका छौं’ उनले भने ।

मंगलबार बल प्रयोग गरेर फोहोर लगे पनि अवरोध निरन्तर रहने ढुंगानाले बताए ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार बुधबारदेखि फोहोर कसरी फाल्ने भन्ने निर्णय भएको छैन । ‘फोहोर फालेर फर्किएका गाडीले फोहोर उठाउँछन्, अब फोहोर कसरी फाल्ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ’ उनले भनिन्, ‘हामी जसरी पनि नियमित रूपमा फोहोर उठाउनुपर्छ भन्ने पक्षमा छौं ।’

गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?