२४ जेठ, काठमाडौं । सन् २०१० देखि सन् २०१५ सम्म धनगढीमा भएको एसपीए कप क्रिकेट र त्यसपछिको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटका परिकल्पनाकार हुन् सुवास शाही । उनले फाप्ला क्रिकेट मैदान निर्माणका लागि नै यी प्रतियोगिता सुरु गरेका थिए ।
धनगढी क्रिकेट एकेडेमीका अध्यक्षसमेत रहेका शाहीले धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउने र एउटा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने सपना देखेका थिए । त्यो सपना पूरा गर्न भन्दै उनले २०७० सालमा ड्रिम फाप्ला अभियान सुरु गरे ।
ड्रिम फाप्ला अभियानका सुरुवातकर्ता र धनगढीमा मात्र होइन, नेपालमा नै फेञ्चाइजी क्रिकेट प्रतियोगिता सफल हुन्छ भन्ने प्रमाणित गरिसकेका शाहीले अब एउटा नयाँ जिम्मेवारी पाएका छन् । त्यो जिम्मेवारी हो आफैंले सुरु गरेको अभियानलाई सफल पार्ने, सुदूरपश्चिम प्रदेशको धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने ।
त्यसका लागि सरकारले उनलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षको जिम्मेवारी दिएको छ । सरकारले यसअघि नै फाप्ला मैदानलाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा समावेश गरिसकेको छ ।
क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित सरकारलाई हस्तानतरण गर्ने लगायतका जिम्मेवारी शाही नेतृत्वको विकास समितिलाई छ ।

फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९ अनुसार शाही नेतृत्वको समितिको कार्यकाल ३ वर्षको हुने छ । अर्थात उनले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा मोहना नदी किनाराको फाप्लामा अबको ३ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनु पर्ने छ । उनी त्यसमा प्रतिवद्ध पनि छन् । ‘८ वर्ष यही फाप्लाका लागि भनेर हिँडेको हो । अबको तीन वर्षभित्र रंगशाला निर्माण गर्ने लक्ष्यसहित पूरा समय दिनेछु,’ विकास समितिको अध्यक्ष नियुक्त भएपछि शाहीले भने ।
फाप्ला क्रिकेट मैदानलाई संघीय र प्रदेश सरकारले प्राथमिकतामा राखेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले पछिल्लो ४ वर्षदेखि बजेट छुट्याएको थियो । तर प्रदेश र संघीय सरकारले विनियोजन गरेका बजेट फ्रिज हुँदै आएको थियो । आयोजना पूरा गर्न बजेट अभाव हुँदैन भन्ने विश्वास शाहीलाई छ । ‘सुरुवाती बजेट थोरै भए पनि बहुवर्षीय परियोजना भएको हुनाले बजेटमा समस्या हुँदैन भन्ने लागेको छ,’ अनलाइनखबरसँग शाहीले भने, ‘यसको निर्माण मोडल अन्यभन्दा फरक छ । यहाँ सरकारी लगानीका साथसाथै निजी र खेलकुदसँग सम्बन्धित वैदेशिक निकायले पनि लगानी गर्न पाउँछन् ।’
जग्गा उपलब्ध भइसकेकाले आधा समस्या समाधान
ड्रिम फाप्ला अभियान सुरु भएको ८ वर्ष भए पनि जग्गाप्रप्ति नभएकाले पनि यसको काम सुरु हुन सकेको थिएन ।
क्रिकेट मैदान बनाउने भनिएको जग्गा सामुदायिक वनको जग्गा भएको भन्दै सुरुमा अवरोध भयो । तर त्यो जग्गा वनको नभएको पुष्टि भएपछि मैदानलाई सामान्य सुधार गरेर पछिल्लो संस्करणको डीपीएल त्यही आयोजना गरिएको थियो ।

तर अब मैदानका लागि जग्गाको समस्या छैन । फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माण गर्न गत माघ १० गतेको मन्त्रिपरिषद वैठकले जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
शाहीले ३ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन दबाब दिन नै डीपीएल फाप्ला मैदानमा आयोजना गरेको बताएका थिए । डीपीएल क्रिकेटको टिकटबाट उठेको रकमको केही अंश मैदानलाई दिने घोषणा गरेका थिए ।
गौचरणको रुपमा रहेको मैदानलाई सामान्य सुधार गरेर देशकै प्रतिष्ठित क्रिकेट मैदान फाप्लामा सफलतापूर्वक सम्पन्न गरिएको थियो ।
कस्तो बन्ने छ फाप्ला मैदान ?
धनगढीको चौरहाबाट ५ किलोमिटर दूरीमा रहेको साढे ३८ विघा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने छ । ७० हजार दर्शक अटाउने क्षमताको क्रिकेट रंगशालामा बनाउने लक्ष्य छ । तर सुरुमा नै ७० हजार दर्शकका लागि सिट बनाइने छैन । आवश्यकता अनुसार दर्शकदीर्घा थप्ने गरेर डीपीआर बनाउने शाहीले बताए ।

शाहीकै अगुवाईमा यसअघि मैदानको मास्टर प्लान सार्वजनिक भएको थियो । तर सरकारले फाप्लालाई खेलग्रामकै रुपमा विकास गर्ने निर्णय गरेकाले यहाँ क्रिकेट बाहेकका अरु खेलका लागि पनि पूर्वाधार बन्ने छ ।
फूटबल मैदान, बहुउद्देशीय इन्डोर हल, संग्रहालय पनि यहाँ थप्नु पर्ने छ । सरोकारवाला निकायसँग थप छलफल गरेर फाप्लामा बन्ने पूर्वाधार एकीन गर्ने र डीपीआर बनाउने शाही बताउँछन् ।
 
                    










 २०७९ जेठ  २४ गते २०:०७
                        २०७९ जेठ  २४ गते २०:०७                     
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4