२७ वैशाख, काठमाडौं । राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्न बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश-२०७९’ राजपत्रमा प्रकाशित भएपछि रंगशाला निर्माणको कामले गति लिने भएको हो ।
सरकारले चालू आर्थिक वर्षको वजेटमै फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निर्माण प्रक्रियालाई प्राथमिकता दिने उल्लेख गरेको थियो । राजपत्रमा उल्लेखित सूचनाअनुसार क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गरिनेछ । खेलकुद व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिलाई सरकारले अध्यक्षमा नियुक्त गर्ने प्रावधान छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माण गर्न गत माघ १० गतेको मन्त्रिपरिषद वैठकले जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
९ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन रहनेछन् । सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष, खेलकुद क्षेत्रमा योगदान पुर्याएका महिलाहरु मध्येबाट नेपाल सरकारले मनोनयन गरेको एक जना सदस्य हुनेछन् ।
परियोजनाको प्रशासकीय जिम्मेवारी वहन गर्ने गरी खेलकुद मन्त्रालयले उपसचिव सरहका एकजना निजामती कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेबारी दिन सक्ने सूचनामा उल्लेख छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने, वार्षिक बजेट र योजना तथा कार्यक्रम तय गर्ने जिम्मेवारी पनि कार्यकारी निर्देशकको हुनेछ । कार्यकारी निर्देशक विकास समितिका सदस्य सचिव रहनेछन् ।

क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणिय परिक्षण वा वातावरणिय प्रभधाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तानतरण गर्ने लगायतका जिम्मेबारी विकास समितिलाई हुनेछ ।
गठन आदेश जारी भएपछि गठन भएको समितिको पहिलो वैठक बसेको मितिले तीन वर्षसम्मको कार्यकाल रहनेछ । यदि पूर्वाधार निर्माणको कार्य तोकिएको समयमा सम्पन्न नभएमा समितिको सिफारिसमा नेपाल सरकारले एक–एक वर्ष गरी दुई पटकसम्म पदावधि थप गर्न सक्ने आदेशमा उल्लेख छ ।
धनगढीका युवा सुवास शाहीको नेतृत्वमा सन् २०१५ देखि ड्रिम फाप्ला अभियान सुरुवात भएको हो । त्यसयताका हरेक सरकारमा सुदूरपश्चिमबाट फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि पहल गरिदिन आग्रह हुँदै आएको थियो । नेपालकै पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजना गर्ने शाहीले निर्णयको स्वागत गर्दै वर्तमान सरकारलाई धन्यबाद दिए ।
‘यो कैलालीमात्र नभएर समग्र सुदूरपश्चिमवासीको सपनाका रुपमा रहेको थियो । यसकारले राष्ट्रिय प्राथमिकताको पूर्वाधारका रुपमा छनोट गरेको थियो । विकास समिति गठन आदेश आएपछि अब यसको निर्माण प्रक्रियाले गति लिने आशा गरेको छु,’ शाहीले अनलाइनखबरसँग भने, ‘विकास समिति मोडल आफैंमा पृथक हो । लामो प्रतीक्षा र संघर्षपछि यो एउटा सफलता हासिल भएको छ ।’
शाहीले फाप्ला निर्माण अभियान तोकिएको समयमै सम्पन्न हुने आशा व्यक्त गरे ।
 
                    










 २०७९ वैशाख  २७ गते १७:१८
                        २०७९ वैशाख  २७ गते १७:१८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4