+
+

अमेरिकी प्यासिफिक कमान्डका जर्नेल बिहीबार नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १०:५१

२५ जेठ, काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आउने तय भएको छ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमण गर्ने तय भएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइसकेको छैन ।

उनी अमेरिकी सेनाको विशेष विमानबाट जेठ २६ गते बिहीबार नेपाल आउने छन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

मन्त्रिपरिषदले प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा १३ देखि १७ असारसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ ।

त्यसअघि शर्माको ४ देखि १० असारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।

भ्रमणको समयमा प्रधानसेनापति शर्मालगायतको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने सेनाको भनाइ छ । ‘निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनुका साथै उच्च पदस्थ अधिकारीहरूसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास छ,’ नेपाली सेनाले भनेको छ ।

नेपाली सेनाले उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?