+
+
अन्तर्वार्ता :

सहकारीका ग्राहकमाझ लोकप्रिय बन्दै सनराइज बैंकको को–ब्राण्ड डेबिट कार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १२:४५

काठमाडौं । बैंकहरुले भुक्तानी प्रक्रिया सजिलो बनाउने अभिप्रायले आफ्ना ग्राहकका लागि विभिन्न किसिमका कार्डहरु जस्तै भिसा, मास्टर कार्ड, एससीटी आदि जारी गर्नु सामान्य प्रक्रिया नै हो । सहज बैकिङ कारोबारका लागि दिइने यस्तो सेवा हालसम्म बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुका माझ मात्र प्रयोगमा थिए । तर, नेपालमा पहिलो पटक सनराइज बैंकले पछिल्लो ७ महिनादेखि सहकारी संस्थाका सदस्यहरुका लागि पनि भिसाको—ब्राण्ड डेबिट कार्ड जारी गरिरहेको छ ।

तीन वर्षको लामो तयारी पछि यसै आर्थिक वर्षको मध्यदेखि थालिएको यो नयाँ प्रयोग अहिले निकै लोकप्रिय बन्दै गएको बैंकले जनाएको छ । सहकारी संस्थाहरुसँगको सहकार्यमा बैंकले प्रचलनमा ल्याएको यो सेवामा जोडिने सहकारी र तिनका ग्राहकले सुरक्षित ‘चिप प्रविधि’ मा आधारित ‘को—ब्राण्ड भिसा डेबिट कार्ड’ प्राप्त गर्ने छन् । जसले उनीहरुको आर्थिक कारोबारलाई निकै सहज र सरल तुल्याउन मद्धत गदर्छ । सहकारी संस्थामा राखिएको पैसा निकाल्नलाई त्यही संस्थामा पुग्नु पर्ने सदस्यहरुको बाध्यतालाई यो सेवाले अन्त्य गराइदिएको छ ।

वित्तीय संस्थाहरुको पहिलो खुड्किलो मानिने सहकारी संस्थाहरु देशभर करिब २५ हजार भन्दा बढी रहेको अनुमान छ । सहकारीहरुका लाखौं ग्राहकका भुक्तानीसम्बन्धी कारोबारलाई सहज बनाउने सनराइज बैंकको लक्ष्यले अहिले गति लिन थालिसकेको छ । यही पृष्ठभूमीमा हामीले सहकारीलाई लक्षित सनराइज बैंकको कार्ड योजना के हो ? यसको महत्व के छ ? यसमा हुने फाइदा, सेवामा जोडिन सक्ने आधार लगायतबारे बैंकका नायव महाप्रबन्धक रवीनकुमार नेपालसँग कुराकानी गरेका छौं ।

सनराइज बैंकले नेपालमा पहिलो पटक सहकारी संस्थाका ग्राहकका लागि भिसा कार्ड वितरण गरिरहेको छ । यो कस्तो कार्ड हो ?

सनराइज बैंकले तीन वर्षको आन्तरिक तयारी पछि सहकारी संस्थाका ग्राहकहरुलाई लक्षित गरेर भिसा ‘ब्राण्ड’ अन्तर्गत रही ‘को—ब्राण्ड डेबिट कार्ड’ जारी गरिरहेको छ । यो कार्ड बैंकहरुले हाल जारी गर्दै आइरहेको डेबिट कार्ड नै हो तर यो कार्डमा सहकारी संस्थामा रहेको ग्राहकको खाता सोझै आबद्घ गरिन्छ । सम्बद्ध सहकारीको ब्राण्डिङलाई समेत सामेल गरिएको भएर यसलाई ‘को—ब्राण्ड डेबिट कार्ड’ भनिएको हो ।

भिसाकाअनुसार नेपालमा सनराइज बैंकबाट जारी भइरहेको यस्तो खाले ‘को—ब्राण्ड डेबिट कार्ड’ दक्षिण एसियामा नै पहिलो हो । यस भन्दा अगाडि गैरवित्तीय क्षेत्रसँग सहकार्य गरी को–ब्राण्ड गरिने चलन भए पनि वित्तीय संस्थासँग को–ब्राण्ड गर्ने कार्यक्रम यो नै पहिलो हो ।

बैंकहरुले जारी गरे जस्तै कार्ड अब बैंक र सम्बन्धित सहकारीको सहकार्यमा ती सहकारी संस्थाका सदस्यका लागि पनि उपलब्ध गराइने हाम्रो कार्यक्रम हो ।

सहकारीहरुले हालसम्म डिजिटल आर्थिक कारोबार गर्ने गरी आफ्नो ग्राहकमा त्यस्तो कुनै योजना ल्याए जस्तो लाग्दैन् र धेरैले चाहेर पनि यो महँगो प्रणाली भित्र्याउन गाह्रो हुन्छ । तर, बैंकले चाहेको खण्डमा सहकारीको कारोबार पनि कार्ड प्रणालीमार्फत लैजान सकिने रहेछ भन्ने देखिए पछि हामीले यो कार्ड प्रचलनमा ल्याएका हौं । अहिले कार्यान्वयन भइरहेको हाम्रो कार्यक्रम सहकारी माझ लोकिप्रिय पनि देखिएको छ ।

यस्तो कार्ड बैंकले हाल जारी गरिरहेको डेबिट कार्ड जस्तै हो वा सोभन्दा केही फरक छ ? 

प्रविधि, सुरक्षा र उपयोगिताको हिसाबले यो कार्ड बैंकले आफ्ना ग्राहकहरुलाई अहिले जारी गरिरहेको डेबिट कार्ड भन्दा केही पनि फरक छैन । बैंकको कार्ड सम्बन्धित बैंकको प्रणालीमा जोडिएको हुन्छ भने सहकारीको कार्ड सहकारी संस्थाको कोर बैंकिङ सिस्टममा रहेको खातामा नै जोडिएको हुन्छ ।

यो कार्डको प्रयोग गरेर कार्डबाहकले आफ्नो खातामा रहेको रकम जुनसुकै एटीएम मेशिनबाट निकाल्न सकिन्छ साथै सरसामान किन्दा समेत यही कार्डमार्फत भुक्तानी गरी नगदरहित कारोबार पनि गर्न सकिन्छ । सहकारीहरुमा रहेको परम्परागत रकम झिक्ने प्रणालीलाई यो प्रयोगले नयाँ ढंगले विकास गर्दछ ।

यो कार्ड सनराइज बैंक र सहकारीको संयुक्त स्वमित्वको हुन्छ होला । समग्रमा कार्ड कस्तो बन्छ ?

यो को—ब्राण्ड कार्ड भएकाले यसमा हाम्रो बैंक र सहकारीको लोगो हुन्छ । कार्डको अग्र भागमा सहकारी संस्थाको लोगो र भिसाको लोगो रहन्छ भने पृष्ठभागमा सनराइज बैंकको लोगो रहन्छ ।
यसरी जारी गरिने कार्डको सुरक्षा के कसरी गरिएको छ ।

यो कस्तो किसिमको कार्ड हो ? कार्डको सुरक्षाका लागि के कस्तो व्यवस्था गरिएको छ ?

यस्तो कार्ड र हाल बैंकहरुले प्रयोग गरिरहेका कार्ड बीचको सुरक्षामा कुनै फरक छैन । कार्ड पूर्णरुपले सुरक्षित छ । यो कार्ड विश्वव्यापी प्रचलनमा रहेको र सुरक्षाको दृष्टिकोणले प्रमाणित ईएमभी (EMV Chip) चिप प्रविधिमा आधारित छ ।

कार्डबाहकको सुरक्षालाई मध्यनजर गर्दै यस कार्डमा बैंकले ग्रिनपिन सेवा सुचारु गरेको छ । त्यो भनेको कार्डबाहकले कार्ड एक्टिभेट गर्दा उसको मोबाइल नम्बरमा नै ‘वान टाइम पासवर्ड’ (ओटीपी) कोड एसएमएस मार्फत जानेछ । जसको प्रयोग गरी कार्डबाहकले आफ्नो कार्डको पिन आफैं परिवर्तन गर्न सक्छन् ।

अनलाइन कारोबारमा सुरक्षाको लागि यी कार्डहरुलाई भिसा थ्री डी सेक्योरमा आबद्ध गरिएको हुन्छ । जसको कारणले कारोबार समयमा कार्ड बाहकलाई रजिष्टर्ड मोबाइल नम्बरमा एसएमएसमार्फत ओटीपि कोड प्रदान गरिने छ । अनि मात्रै कारोबार गर्न सकिन्छ ।

हालसम्म यो कार्ड सेवाबारे जानकारी पाएर सेवा लिने सहकारी कति छन् ? ‘को–ब्राण्ड कार्ड’ प्रयोगको अवस्था कस्तो छ ?

हालसम्म हाम्रो बैंकसँग सहकार्य गरेर १२ वटा सहकारी संस्थाहरु यस परियोजनामा सामेल भई करिब एक हजार कार्डहरु जारी गरिसकेका छौं ।

थप ५ वटा सहकारी संस्थाहरु परियोजनामा सामेल हुने अन्तिम चरणमा छन् । हाम्रो यो सेवालाई लिएर सहकारी र तिनका ग्राहकहरु उत्साहित पाएका छौं । यस आर्थिक वर्षको अन्त्यसम्म यो सेवा २५ वटा सहकारीमा पुर्‍याउने लक्ष्य छ ।

बैंकको ‘को–ब्राण्ड कार्ड’ कहाँ-कहाँ प्रयोग गर्न सकिन्छ ? साथै सहकारीका सदस्यले यस्तो कार्ड कसरी प्रयोग गर्न सक्छन् ?

यो कार्ड अन्य डेबिट कार्ड जस्तै हुन्छ जसमा सनराइज बैंक र सम्बन्धित सहकारीको संयुक्त नाम छापिएको हुन्छ । यो कार्डको प्रयोग गरेर सहकारी संस्थाका सदस्यहरुले नेपाल भित्रका कुनै पनि एटीएममार्फत रकम निकाल्न सक्छन् । जसमा सनराइज बैंकको एटीएमबाट गरिने कारोबारहरु निःशुल्क गरिएको छ ।

भिसा डेबिट कार्ड

भिसा कार्ड स्वीकार गर्ने पोइन्ट अफ सेल मेसिनबाट भुक्तानी कारोबार गर्न तथा इकमर्स प्लेटफर्मबाट अनलाइन सपिङ गर्न पनि यस्तो कार्डबाट सकिन्छ । कार्ड कारोबारको सहजताका लागि अचेल विश्वव्यापी रुपमा ‘ट्याप एण्ड पे’ को प्रयोग बढिरहेको छ । स–साना रकमका कारोबारहरु सजिलै र छिट्टै सम्पन्नहोस् भनेर यो प्रविधि भित्रिएको हो । यससँगै कार्डको लागत समेत बढेको छ ।

तर, हामीले कार्ड बाहकलाई थप व्ययभार नपर्ने गरी अतिरिक्त शुल्कविना नै कन्ट्याक्टलेस प्रविधिमा आधारित कार्ड जारी गरेका छौं । यसको प्रयोग गरी कार्ड बाहकले ५ हजारसम्मको वस्तु तथा सेवा खरिद गर्दा कार्डलाई मेसिनमा छुवाएर मात्र पनि भुक्तानी गर्न सक्नेछन् ।

यस्तो सेवा कसरी सुरु गरियो ? यस्तो सेवा लिन अन्य सहकारी संस्थाहरुले के कस्तो प्रक्रिया पूरा गर्नुपर्दछ ?

हामीले यो परियोजना सुरु गर्दा ‘कोशिस’ नामको सफ्टवेयरमार्फत सञ्चालित सहकारीसँग सहकार्य गरेका थियौं । जसका कारण सुरुवाती चरणमा कोसिस सफ्टवेयर प्रयोग गर्ने सहकारीहरु मात्र यो सेवामा जोडिए । तर, परियोजना सफलतातर्फ लागेपछि सेवा माग गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । तसर्थ अहिले हामीले सो कुरालाई मध्यनजर गर्दै ‘कोसिस सफ्टवेयर’ भन्दा बाहेक अन्य सफ्टवेयरसँग पनि प्राविधिक रुपमा एकीकृत गरेर काम गरिरहेका छौं ।

इच्छुक सहकारी हामीसँग सम्पर्कमा आएर यो सेवामा जोडिन सक्नु हुन्छ । सहकारी तयार भए तिनका ग्राहकले यो सेवा पाउने छन् । यसमा सहकारीहरुले अतिरिक्त पूँजीगत खर्च गर्नु पर्दैन । तर हाम्रा एएमएल, केवाईसीका केही शर्त र बैंकबाट गरिने डीडीए पूरा गर्नु भने पर्छ ।

यो कार्डको प्रयोगले बैंकिङ क्षेत्रको कार्ड र नगद कारोबारमा कस्तो परिवर्तन ल्याउला त ?

अहिलेसम्म सहकारीको कारोबार नगद मात्रै थियो । नगद कारोबारको जोखिम र समस्याहरु आ–आफ्नै ठाउँमा छन् । अब सनराइज बैंकको कार्डले नगद कारोबारलाई डिजिटल भुक्तानीमा पु¥याउने छ । आज सहकारीमार्फत कार्ड प्रयोग गर्न सिकेको समुदाय भोलिका दिनमा भुक्तानीका अन्य उपकरणहरुतर्फ आकर्षित हुन सहज हुनेछ । अर्कोतर्फ, सहकारीहरुमा पनि डिजिटल प्रणालीमा अभ्यस्त हुँदै जाने बाटो बन्छ ।

सनराइज बैंकको डिजिटल बैकिङको यथार्थ चित्र चाहिं के हो ?

डिजिटल बैंकिङलाई सनराइज बैंकले सधैं प्राथमिकता दिंदै आएको छ । यसै क्रममा हामीले बैंकको छुट्टै डिजिटल बैंकिङ युनिट नै राखेर काम गरिरहेका छौं । जसबाट हामीले नयाँ र सृजनात्मक सेवाहरु हाम्रा ग्राहकलाई दिइरहेका छौं । जस्तै, मिस्डकल गरेर बैकिङ सूचना तथा साना भुक्तानी सुविधा हामीले चार वर्ष पहिल्यै प्रयोगमा ल्याएका थियौं । त्यस्तै मिस्डकल बैकिङबाटै विद्युत् प्राधिकरणको बिल भुक्तानी सुविधा पनि सञ्चालनमा ल्यायौं । अहिले क्यूआर सेवा पनि सञ्चालनमा छ ।

क्यूआर सेवा विस्तारका लागि २/४ वटा ठाउँमा फ्रि–वाइफाइ राखेर पनि क्यूआर सेवा दिइरहेका छौं । बैंकका ग्राहकले कार्डबाटै इकमर्स सेवामा पनि पेमेन्ट गर्न सक्छन् । यो सेवा भारत र त्यो भन्दा बाहिर पनि लिन सकिन्छ । बैंकको कुल ग्राहकमध्ये झण्डै ५० प्रतिशत ग्राहक डिजिटल सेवामा जोडिनु भएको छ ।

सरकारको डिजिटल नेपालको अवधारणामा सनराइज बैंकको यो सेवाले योगदान गर्छ ?

सनराइज बैंक नेपालमा डिजिटल बैंकिङलाई थप मजबुत बनाउन तल्लिन छ । यसमध्ये भुक्तानी प्रणालीको सुधार पनि एउटा हो ।

समयसँगै फेरिने नयाँ नयाँ प्राविधिक सुविधासहित कारोबार प्रणाली सुधार गर्न हामी लागि परेका छौं । यसबाट सम्पूर्ण अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने हाम्रो विश्वास छ । जसले सरकारको परिकल्पनामा रहेको डिजिटल नेपालको अवधारणालाई समेत सघाउने छ ।

तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?