+
+

सुरु भयो यदुनाथ खनाल प्रवचन श्रृंखला

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १३:३६

२५ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्व परराष्ट्र सचिव समेत रहेका प्राध्यापक यदुनाथ खनालको सम्मानमा सुरू गरेको प्रवचनको पहिलो श्रृंखला सम्पन्न गरेको छ ।

परराष्ट्र मन्त्रालयमा दुई कार्यकाल सचिव र चीन, भारत तथा संयुक्त राज्य अमेरिकाका राजदूत समेत भएका नेपालका ख्यातिप्राप्त कूटनीतिज्ञ प्राध्यापक खनालको नाम र सम्मानमा यो प्रवचन श्रृंखला सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पहिलो प्रवचन श्रृंखलामा ‘नेपालको परराष्ट्र नीतिः विगत वर्तमान र भविष्य’ विषयमाथि अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्रााध्यापक सूर्यप्रसाद सुवेदीले प्रस्तुति दिएका छन् ।

प्रवचन श्रृंखलालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय स्वार्थमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता रहने बताए । खड्काले नेपालले छिमेकी र अन्य मुलुकसँग यही नीति अनुसार मैत्रीपूर्ण र असल सम्बन्ध विकास गर्दै आएको पनि धारणा राखे ।

उनले विश्वमा शक्ति राष्ट्रहरुको स्थिति र सम्बन्धमा उतारचढाव आउने क्रम जारी रहेको र हालैको रुस–युक्रेनको युद्धका कारण भएको मानवीय र आर्थिक क्षतिबाट बाँकी विश्व प्रभावित भइरहेको स्थितिमा सहकार्यमूलक रूपमा चुनौती सामना गर्नुपर्ने बताए ।

मन्त्री डा. खड्काले जलवायु परिवर्तन, आर्थिक उतारचढाव, जनसंख्या वृद्धि, साइबर सुरक्षाजस्ता क्षेत्रले अबको वैदेशिक नीति र सम्बन्धहरुमा असर पार्ने भएकाले ती पक्षहरुलाई ध्यानमा राखेर वर्तमान सरकारले विकास र समृद्धिको यात्रालाई अघि बढाइरहेको बताए ।

हालै नेपालमा शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन भई समावेशिताका आधारमा नयाँ जनप्रतिनिधिहरु चुनिनुले विश्वसामु मुलुकको लोकतान्त्रिक छवि कायम भएको उनले बताए ।

कार्यक्रममा मुख्य प्रस्तोता अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्रा. सूर्यप्रसाद सुवेदीले नेपालले आफूलाई स्थायी तटस्थ मुलुकको विशिष्ट पहिचानका रूपमा विश्वसामु चिनाएर वैदेशिक लगानी र पर्यटन प्रवर्द्धन गर्न सक्नुपर्ने बताए ।

उनले नेपाल चीन र भारतको एक भरपर्दाे पारवहन केन्द्र हुनसक्ने जनाउँदै नेपालले भूपरिवेष्टित मुलुकका लागि व्यापार र पारवहन अधिकारका क्षेत्रमा अग्रणीका रूपमा स्थापित गर्नुपर्ने सुझाव दिए ।

अक्सफोर्ड विश्वविद्यालयका भिजिटिङ प्राध्यापक डा. सुवेदीले नेपालको परराष्ट्र नीति निरन्तरता, स्थिरता र विश्वसनीयताका आधारमा बनेको भन्दै शान्ति स्थापनाका क्षेत्रमा नेपालले हासिल गरेको सफलताबाट लाभ लिन सक्नुपर्ने बताए । सुवेदीले अघिल्लो सरकारले घोषणा गरेको सगरमाथा संवादजस्ता कार्यक्रम सञ्चालन गर्न सरकारलाई सुझाव दिए ।

पूर्व परराष्ट्रमन्त्रीहरु डा भेषबहादुर थापा, डा प्रकाशचन्द्र लोहनी, सुजाता कोइराला, प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, कूटनीतिज्ञ, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रममा डा. सुवेदीसँग सहभागीले विषयगत प्रश्नोत्तर गरेका थिए ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले क्षेत्रगत ज्ञान अभिवृद्धि, विद्यमान नीति र अभ्यासका बारे बहसका लागि यस प्रकारको प्रवचन वर्षमा एक पटक नियमित गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?