+
+

यू-१९ महिला विश्वकप छनोट : नेपालले मलेसियालाई २५ रनले हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १०:४६

२६ जेठ, काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ ।

यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो ।

पाँच खेलमा तीन खेल जित्दै ६ अंक जोडेर नेपाल तेस्रो भयो ।

यसअघि नै युएई र थाइल्याण्डसँग पराजित भएको नेपालले कतार भुटानलाई भने पराजित गरेको थियो ।

एसिया छनोटमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा विजेता मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा छनोट हुनेछन् ।

नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै २० ओभर खेल्दा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक २८ रन बनाइन् ।

बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले ४ ओभरमा १ मेडन राख्दै ६ रन मात्र खर्चेर २ विकेट लिइन् ।

त्यसअघि  मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर अन्जली विश्वकर्माले सर्वाधिक ३३ र आस्मा पुलामी मगरले २८ रन बनाए ।

ओपनर किरण कुमारी कुँवर पहिलो ओभरमा खाता नखोली आउट भएपछि अन्जली र आस्माले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।

१३ ओभरमा ५८-१ को अवस्थामा रहेको नेपालले त्यसपछिको ७ ओभरमा जम्मा २६ रन जोड्दा थप ६ विकेट गुमायो । सृष्टी जैशी, सानु राजवंशी र अनु कठायत समान ३ तथा कप्तान कृतिका मरासिनी १ रनमा आउट भइन् ।

नेपालका चार खेलाडी रनआउट भएका थिए । मलेसियका लागि नुर अबेदुल सामेदले २ तथा एल्सा हन्टरले १ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?