+
+

प्रदेश १ को नाममाथि छलफल गर्न एमालेले बनायो समिति

हरि अधिकारी हरि अधिकारी
२०७९ जेठ २६ गते १६:२३
एमाले नेता हिक्मतकुमार कार्की ।

२६ जेठ, विराटनगर । प्रदेश १ को नामको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच सदस्यीय समिति बनाएको छ ।

बिहीबार बसेको एमालेको प्रदेश १ संसदीय दलको बैठकले पूर्व मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो ।

गत फागुनमा मुख्यमन्त्री राजेन्द्र राईले नामकरणका लागि छलफल र समन्वय गर्न तत्कालिन सामाजिक विकास मन्त्री (हाल स्वास्थ्य मन्त्री) जयराम यादवको नेतृत्वमा समिति गठन गरेका थिए । समितिले फागुन १० गते सर्वदलीय छलफल गरेयता थप छलफल गरेको छैन ।

एमालेले गठन गरेको समितिले नामका विषयमा दलभित्र र अन्य दलसँग छलफल गर्नेछ । पाँच सदयीय समितिको सदस्यमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र प्रदेश सांसद अर्जुन राई छन् ।

समितिले शुक्रबारबाट नै छलफल थाल्ने समिति सदस्य जीवन घिमिरेले बताए । ‘नामका विषयमा दल भित्र पनि एकमत छैन’, उनले भने, ‘दलमा छलफल गरेपछि अन्य दलसँग छलफल गर्छाैं ।’
प्रदेश १ स्वास्थ्य मन्त्री जयराम यादवले एमालेले समिति बनाएपछि छलफल गर्न सहज हुने बताए ।

‘एमालेले पनि आज समिति बनाएको छ, हामी अब छलफल गर्छाैं’, उनले भने, ‘बजेटपछि नामको विषयमा सदनमा छलफल गर्ने तयारी छ ।’

केही दिनअघि मुख्यमन्त्री राजेन्द्र राईले सार्वजनिक कार्यक्रममा ठूलो दल भएका कारण एमालेलाई नामका लागि छलफलको नेतृत्व लिन आग्रह गरेका थिए ।

९० जना सांसद रहेको प्रदेश १ मा एमाले ठूलो दल हो । एमालेले निष्क्रिय रहे प्रदेशको नाम राख्न बहुमत पुग्दैन । प्रदेश सभामा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् । एमाले र राप्रपाबाहेक अरु दल सरकारमा छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?